गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि रु ५ करोड



खेलकुदका लागि अत्यावश्यक मानिएको बहुप्रयोजन समेत गर्नसकिने क्रिकेट रंगशालाको निर्माणमा जुटेका दम्पती धुर्मुस र सुन्तली यतिखेर काठमाडौंमा छन्। उनीहरुलाई कामको जिम्मा लगाएर एक किसिमले आफू ढुक्क देखिएको छ नेपाल सरकार। तर यसै सन्दर्भमा रंगशाला निर्माणको लागि प्रदेश तीन सरकारले रु ५ करोड बिनियोजन गरेको छ।

भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले  पाँच करोड रकम विनियोजन गरिसकेको छ।

काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिइन्। भोलि परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि पाँच करोड विनियोजन गर्ने तयारी गरेको छ।

महानगरभित्र रहेका २९ वटा वडाले  पाँच लाखका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन्। बहुवर्षीय योजना भएकाले महानगरले शुरुआती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ।

महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै सङ्घ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम शुरु भएको जानकारी दिइन्।

जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताए।

कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पूँजीबाट सहयोग गर्ने उनले बताए। गत जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रङ्गशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ।

रङ्गशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारी काठमाडौँमा रहेका छन्। डल्लाकोटीका अनुसार एक दुई दिनमा उहाँहरुको उपस्थितिमा बैठक बसी काम अघि बढाइने छ।

फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ। जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन्। रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो।

भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महीनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न रु तीन अर्ब खर्च हुने अनुमान गरिएको छ। रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट रु छ करोडभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्