कांग्रेसलाई प्रचण्डको चेतावनी, ‘अपमान सहन सकिन्न’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका नेताहरुले गरेको अपमान सहन नसकिने बताएका छन् । बुधबार गोदावरीमा वाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसका नेताहरु आफूहरुलाई सम्बोधन गर्दै गरेको अपमान सह्य नहुने बताएका हुन् ।

चुनावी गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेसका नेताहरुको टिप्पणी प्रति आपत्ति जनाउँदै प्रचण्डले यस्तो अपमान सह्य नहुने बताएका हुन् । केही दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए ।

प्रत्यक्ष निर्वाचनमा माओवादीभन्दा सानो दल भएपनि आफू उचालेर संहासनमा राखेको भन्दै प्रचण्डले माओवादीलाई गरेको अपमान सह्य नहुने बताएका हुन् । ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा कांग्रेस १० सिट तल हो । त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ’, प्रचण्डले भने, ‘अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न।’

अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्ने अवस्थामा पुगेपछि आफूले ‘व्याख्यात्मक घोषणा’को उपाय निकालेको पनि बताएका छन्। ‘मलाई प्रधानमन्त्रीले अब म केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्छु भनेपछि मैले व्याख्यात्मक घोषणाको उपाय निकालेको हुँ’, अध्यक्ष प्रचण्डले भने, ‘अब एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा गयो।’

उनले एमसीसी बहसमा विगत जस्तो विवाद र बहस चलिरहेको भए माओवादी फुटिसकेको हुने भन्दै त्यसबाट आफूले बचाएको ब्रिफिङ गरेका छन्। ‘विगतमा जस्तो हुन्थ्यो भने हाम्रो पार्टी फुटिसकेको हुन्थ्यो। अहिले नारायणकाजीजी र म अलगअलग ठाउँमा बसेर एक अर्कालाई गाली गरिरहेका हुन्थ्यौँ। तर जिम्मेवार लिडरसिपको नेतृत्व हुँदा सजिलै छलफलको वातावरण बन्यो। देश पनि दुर्घटनाबाट बच्यो’, प्रचण्डको भनाइ छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला एमसीसीको प्रक्रिया अघि बढेको भए पनि त्यसबेला आफूलाई समेत त्यसबेला जानकारी नगराएको बताए । ‘मेरो क्याबिनेटले केही निर्णय गरेको थिएन, तर सबै प्रक्रियामा कहीँ न कहीँ माओवादी पार्टी पनि संलग्न रहेको यथार्थ हो,’ प्रचण्डले नेकपा कालमा पनि कतिपय कुरा पार्टीमा जानकारी नगराइएको बताए । उनले भने, ‘कतिपय कुरा पार्टीलाई जानकारी नगरी नेकपा हुँदा ओलीले संसद्‍मा छिराए । नेकपाको स्थायी कमिटी चल्दै गर्दा प्रदीप ज्ञवालीले इन्डोप्यासेफिक अंगको सदस्यमा सम्झौता गरे भन्ने सूचना आयो बैठक चल्दाचल्दै हामीले सोध्दा उनले ‘होइन’ भने।’ उनले त्यसबेला केपी ओली, प्रदीप ज्ञवाली र युवराज खतिवडाले जालझेल गरेको समेत आरोप लगाए ।

‘यो सही छैन, यसको विरोध गर्नुपर्छ भनेको मैले नै हो परिमार्जन नगरी पास गर्न सकिँदैन भनेर निर्णय गरेकै हो, हामीले जस्तोतस्तै पारित गर्न त सकिन्न भनेको नै हो’, प्रचण्डले भने, ‘तर प्रधानमन्त्रीले मतदानमा जाऔँ, जसले जिते पनि मानौँ भन्नूभो । हामी हराउने उपाय खोज्न थाल्यौ र त्यसक्रममा एमसीसी असफल बनाउने पक्षमा बहुमत जुट्ने जस्तो पनि देखियो ।’ तर त्यस्तो अवस्थामा एमाले र काँग्रेस मिलेर जस्ताकोजस्तै पारित गर्ने षड्यन्त्र सुरु भएपछि व्याख्यात्मक घोषणाको सहमति गरेर गठबन्धन बचाउने उपाय निकालेको प्रचण्डले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्