निर्मला पन्त हत्या प्रकरण : अनुसन्धानको नाममा बित्यो ४ वर्ष, उपलब्धि शून्य



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लगभग ४ वर्ष पुग्न लागेको छ। तर, अझै दोषी कानुनी दायरामा आउन सकेको छैन । जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी पन्तको ११ साउन, २०७५ मा बलात्कारपछि हत्या भएको प्रहरीको भनाइ छ।

यो घटनापछि प्रहरी सङ्गठनले ३ वटा आईजीपी पाइसकेको छ भने चौथौ आईजीपी पनि एक महिनापछि फेरिँदै छन् । तर घटना अझै सुल्झिएको छैन । अनुसन्धान जारी रहेको भन्नेबाहेक प्रहरीसँग कुनै ठोस जवाफ नै छैन । घटना भएको लगभग ४ वर्ष पुग्न लागेको छ। तत्कालीन आईजीपी सर्वेन्द्र खनालको पालामा घटना भएको हो । घटनाका दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन नसकेकोमा उनको चर्को आलोचना भएको थियो। उनीपछि प्रहरी नेतृत्वमा आएका ठाकुरप्रसाद ज्ञवालीले पनि आफ्नो कार्यकालमा निर्मला पन्त हत्याको अनुसन्धान टुंगोमा पुर्‍याउने प्रतिबद्धता गरे, तर असफल बने।

आईजीपी ज्ञवाली सीआईबीमै एसएसपी हुँदा कञ्चनपुर पुगेर घटनाको अनुसन्धान पनि गरेका थिए । तर, उनले प्रहरीको नेतृत्व सम्हालेका बेला अनुसन्धानमा उल्लेख्य प्रगति नै भएन । यो घटनाको अनुसधान नटुंगिँदै तेस्रो आईजीपी बने शैलेश थापा क्षेत्री । लगभग २ वर्षका लागि उनी आईजीपीमा नियुक्त भए। आईजीपीको पद सम्हालिसकेपछि थापाले भनेका थिए, ‘प्रहरीकै साख धुमिल पारेको यो घटनाका दोषीलाई कुनै पनि हालतमा कानुनी कारबाहीको दायरामा ल्याउँछु ।’ उनको कार्यकाल सकिन अब १ महिना बाँकी छ । तर घटना अनुसन्धानको भरपर्दो कुनै आधार उनी नेतृत्वको प्रहरी अनुसन्धान टोलीले फेला पार्न सकेको छैन ।
कहाँ पुग्यो अनुसन्धान ?
निर्मला पन्त हत्याको अनुसन्धान किन लम्बिँदै छ ? भन्ने प्रश्नमा प्रहरी मुख्यालयसँग ठोस जवाफ छैन । प्रहरी प्रवक्ता विष्णुकुमार केसी यो घटनाको अनुसन्धान भइरहेको मात्र बताउँछन् । ‘किन लम्बियो भन्ने विषयको जवाफ दिइरहनुपर्दैन, यो अनुसन्धानको विषय हो ।

अनुसन्धान जारी नै छ । नतिजा पनि चाँडै आउँछ’, उनले द नेपालटपसँग भने, ‘कहिलेसम्म भन्ने त भएन तर अनुसन्धान जारी छ।’ यता कञ्चनपुर प्रहरीले भने अनुसन्धानमा मिहिन ढंगले लागेको जनाएको छ । कञ्चनपुर प्रहरी प्रमुख श्यामसिंह चौधरीले अहिले अनुसन्धान अर्को ढंगबाट सुरु गरेको बताए । उनले भने, ‘पहिलाको अनुसन्धानमा टेक्दै अहिले हामी सूचना संकलन गर्ने काम गरिरहेका छौं, ३ जनामाथि अनुसन्धानमा शंका लागेको छ । ती शंका लागेका व्यक्ति भारतमा भएकाले पक्राउ गर्न सकिएको छैन ।’ उनका अनुसार उनीहरुलाई पक्राउ गर्न १२ जना प्रहरीलाई ३ वटा टोली बनाएर खटाइएको छ।

भारतमा रहेकाहरु पक्राउ नपरेसम्म अनुसन्धान थप अगाडि बढ्न नसक्ने भएकाले खोजी तीव्र छ । अनुसन्धानमा शंका लागेका तीनै जना प्रहरी पँहुचभन्दा टाढा भएकाले अनुसन्धान लम्बिँदै गएको एसपी चौधरीको दाबी छ । घटना अनुसन्धानमा प्रहरीबाट भएका कमजोरीका कारण घटना लम्बिँदै गएको प्रहरीमाथि आरोप लाग्दै आएको छ।
कहाँ भयो त्रुटि ?
डीएनए परीक्षणका लागि नमुना संकलनमै प्रहरीबाट त्रुटि भएको छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ। डीएनए परीक्षणको विषयमा गठित २ वटा छानबिन समितिले गरेको अनुसन्धानमा यो त्रुटि औंल्याइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग र डीएनए विशेषज्ञ जीवन रिजालको नेतृत्वको संयुक्त टोलीले यसबारे बेग्लाबेग्लै छानबिन गरेको थियो । दुवै टोलीले डीएनए परीक्षण प्रक्रियामै कमजोरी भएको तथ्य औंल्यायो । जसअनुसार अब डीएनए प्रविधिबाट अभियुक्त पत्ता लाग्न सक्दैन भन्ने दुवै प्रतिवेदनको निष्कर्ष छ । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा भनिएको छ, ‘डीएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट गरिएको यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन ।

यसरी संकलन गरी टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डीएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्नेजस्ता समस्या रहेको पाइयो । मूलतः नमुना संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’ मृतकको शरीरबाट संकलन गरिएको नमुनामै मिसावट भइसकेकाले अब डीएनए प्रविधिबाट अभियुक्त पत्ता लगाउन धेरै गाह्रो हुने गठित छानबिन समितिको निष्कर्ष छ। निर्मलाको भजाइनल स्वाबबाट निकालिएको नमुनाबाट डीएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरूको पनि धारणा छ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल दोषी पत्ता नलाग्नुमा मुख्य कारण भजाइनल स्वाबबाट निकालिएको नमुना नै रहेको बताउँछन् । बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्