सीप चल्छ, तर चल्दैन गिलास र प्लेट



  • राकेश यादव

राैतहट । वृन्दावन नगरपालिका– ६ बिर्ताटोल बजार छेउमै डोम समुदायको एउटा बस्ती छ। बस्तीमा डोम जातिका १५ घरधुरी छन् । डोम बस्तीको छेउमै सानो बजार छ। बजारमा आधा दर्जन जति खाजा चिया पाइने स–साना होटल छन् । उज्यालो भएदेखि रातिसम्म बस्तीका सबैजसो होटल छिर्छन् ।

पसलेसँग रवाफका साथ खाजा चिया माग्छन् । खान्छन् र घरतर्फ लाग्छन् । ती होटलमा चिया नास्ता खान बिर्ताटोलका डोमहरू पनि पुग्छन् । डोम र सोभन्दा बाँकी समुदायकाले खाजा चियावापत तिर्ने रकम एउटै छ । तर सुन्दा, देख्दा र पढ्दा दिक्क लाग्ने एउटा विभेदले भने धेरैको मन रुवाउँछ। डोम समुदायका हरेक व्यक्ति यी पसलमा चिया खाने गिलास र खाजा खाने प्लेट लिएर पुग्नुपर्छ । कारण पसलेले दलित समुदायको बिल्ला भिराएर आफ्ना भाँडाकुँडा छुनै दिँदैनन्। कसैले घरबाट गिलास र प्लेट लैजान बिर्सियो भने अर्को विभेद देखिन्छ यहाँ । पसलेले प्लास्टिकको गिलासमा चिया दिन्छन् । अन्य जातका मानिस बसेको भन्दा बेग्लै टेबलमा बस्न अह्राउँछन्।

खाजा माग्यो भने कागजमा पोको पारेर दिन्छन् । डोमबस्तीमा भेटिएका गान्धि मल्लिव भन्छन्, ‘छठलगायत हिन्दूहरूका महान् पर्वमा हामीले बनाएकै बाँसका डाला र टोकरीमा पूजा सामग्री राखेर सबैले पूजापाठ र विवाह गर्छन्, तर होटलमा भने हामीले छोएका भाँडाकुँडा चल्दैन।’ यतिमा मात्र विभेद सीमित छैन । पसलमा छिर्दा छोइन्छ भनेर डोमभन्दा माथिल्लो भनिएका जातका मानिसहरू अगल्लै बस्छन् या बसेको ठाउँबाट उठेर अन्तै जान अह्राउँछन् ।

‘खानेभन्दा अन्य समय हामीसँगै हुन्छन् तर खानेबेलामा हाम्रा जिउ र सामान अपवित्र हुन्छन्’, मल्लिव भन्छन्, ‘जिउ छोइन्छ भनेर परपर बस्छन्, खाजा पनि प्लेटमा नभई कागजमा पोको पारेर दिन्छन् ।’ डोम बस्तीका २८ वर्षीय राजेश मल्ली डोम छुवाछुतको यो पीडा सहन नसकेर लामो समयदेखि विदेशमै मजदुरी गरेर बस्छन् । ‘यही भएर १० वर्षदेखि आफ्नो देश छोडेर भारतमा काम गर्दै आएको छु, बिहेबारी र चाडबाडका बेला मात्र २/४ दिनका लागि घर आउने गरेको छु’, भर्खरै गाउँ आएका राजेश भन्छन् । डोम बस्तीका जितेन्द्र मल्ली डोम अछुत जातका भन्दै समाजमा आफूहरूलाई तिरस्कार गरेको भन्दै दुःखित छन् । भन्छन्, ‘होटलवालाले तिमीहरू अछुत जातका हौ, त्यसैले होटल बाहिरै बसेर खाऊ भन्दा दिक्क लाग्छ ।’ डोम बस्तीकी कविता डोम त निच जातिको भनेर घृणा सहनु पर्दा डोम जातमा जन्मिएको पछुतो मान्छिन् । तर उनलाई यसविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने चेतसमेत छैन ।

उनी सानो जातमा जन्मिएकामा दुःखित मात्र छिन् । छुवाछुत गम्भीर सामाजिक अपराध हो भनेर न उनलाई उनको समुदायले सिकायो न समाजले छेउवासँगै राखेर खुवाउन सक्यो । वर्षौंदेखि यो बस्तीका डोम जाति छुवाछुतको नाममा समाजबाट तिरस्कृत हुँदै आएका छन् । विभेदले हद नाघेपछि स्थानीय तहका जनप्रतिनिधिलाई भेटेरै पटकपटक गुनासो पनि गरे डोम समुदायका केही युवाले । तर अहिलेसम्म कसैबाट सुनवाइ नभएको उनीहरूको गुनासो छ । ‘चुनावताका भोट माग्ने बेला सबै पार्टीका नेताहरू हाम्रो दैलोमा हात जोड्दै भोट माग्न आए, अब छुवाछुत हुन दिन्नौँ भनेर कसम खाँदै नेताहरूले अङ्गालो पनि मारे’, विजय डोम भन्छन्, ‘तर चुनाव जितेर गएपछि नेताहरूलाई पटकपटक भन्दा पनि तर्केर हिँड्छन्।’

जिल्लामा छुवाछुत हटाउनका लागि विभिन्न एनजीओ र आईएनजीओले अभियान चलाएका छन् । लाखौं रुपैयाँ छुवाछुत अन्त्यका नाममा खर्च गरेका छन् । तर यो अभियान आफ्नो टोलमा कहिल्यै आइनपुगेको विजयको दुखेसो छ।

प्रतिक्रिया दिनुहोस्