विराटनगरका महिला फुटबल खेलाडी बन्द प्रशिक्षणमा



विराटनगर । दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा भाग लिन विराटनगरका महिला फुटबल खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन् ।

चितवनमा आयोजना हुने प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसाथ प्रशिक्षण सुरु भएको बताइएको छ । महिला खेलाडी डेढ महिनादेखि बन्द प्रशिक्षणमा रहेको प्रशिक्षक पारस चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार टोलीमा मध्यपंक्ति र अग्रपंक्तिमा समान सातजना, रक्षात्मकतर्फ आठ र गोलरक्षकको भूमिकामा तीनजनासहित टोली सन्तुलित बनाउने प्रयास गरिएको छ ।
टोलीकी कप्तान कल्पना कार्कीले पहिलो संस्करणमा विराटनगर पाँचौँ स्थानमा रहेकामा योपटक सुधार गर्ने र उपाधि जित्ने लक्ष्य रहेको बताइन् ।
टोलीमा उनी पहिलो रोजाइकी गोलरक्षकको भूमिकामा छिन् । हाल बन्द प्रशिक्षणमा १८ खेलाडी सहभागी रहेको उनले सुनाइन् ।
टोलीमा भारतको पश्चिम बंगाल र झारखन्डबाट समेत चार खेलाडीलाई मैदानमा उतार्ने तयारी रहेको बताइएको छ ।
टोलीमा कविता खड्का र अपेक्षा गिरीसहित मोरङबाट आठ, धनगढीबाट चार, सर्लाहीबाट तीन, धनकुटा, सुनसरी, उदयपुरबाट समान एक र भारतबाट चार खेलाडी सहभागी हुनेछन् ।

विराटनगरले प्रतियोगितामा पहिलो खेल विभागीय टोली नेपाल पुलिस क्लबसँग आउँदो चैत ११ गते खेल्नेछ । यसअघि पुलिसको टोलीलाई पराजित गरेकाले पनि मैदानमा दबाब बनाउन सफल हुने प्रशिक्षक चौधरीको भनाइ छ ।
प्रतियोगितामा महानगरसहित तीन विभागीय टोली, स्याङ्जाको वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका सहभागी हुनेछन् । विजेता टोलीले २० लाख रुपैयाँ र ट्रफी, दोस्रो हुनेले १० लाख र तेस्रो हुने टिमले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्