मधेसमा चुनावी सरगर्मी बढ्याे, कमजोर आत्मविश्वास, बग्रेल्ती आकाङ्क्षी



  • जयन्त ठाकुर

जनकपुरधाम। ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनलाई लिएर मधेसका १ महानगर र ३ उपमहानगरपालिकामा निर्वाचनको सरगर्मी बढेको छ । पार्टीहरूबीचको टुटफुट र नगरप्रमुखको दल बदलका कारण यस पटक १ महानगर र ३ वटै उपमहानगरमा कसको पल्ला भारी छ भनेर स्पष्ट आकार देखिन मुस्किल छ।

अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीले प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेलाई कडा टक्कर दिए। तर, अब हुने स्थानीय तहको निर्वाचन मधेस केन्द्रित दलका लागि सहज नहुने देखिएको छ। तत्कालीन राजपा र तत्कालीन संघीय समाजवादी पार्टी एकीकरणपछि उदय भएको जनता समाजवादी पार्टी (जसपा)लाई मधेसको सशक्त दलको रूपमा हेरिँदैै आएको थियो। मधेस प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिकासहित १३६ पालिका छन् । वीरगंज महानगरपालिकामा तत्कालीन संघीय समाजवादी पार्टीले जीत निकालेको थियो। तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १/१ उपमहानगरमा नेतृत्व गरेका थिए । तर, पछिल्लो १ वर्षमा राजनीतिक समीकरण मात्र नभई राजनीतिक दलहरूको अवस्थामा समेत परिवर्तन आइसकेको छ।

एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर राम्रो जीत निकालेपछि एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उदय भयो। तर, आन्तरिक कलह र सर्वोच्च अदालतको आदेशका कारण एमाले र माओवादी पुनः अलगअलग पार्टी भए । पार्टी अलग भएपछि एमाले एक्लिएको छ भने नेकपा (माओवादी केन्द्र) कांग्रेस नेतृत्वको सत्ता गठबन्धसँग छ। त्यस्तै, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा पार्टीभित्र मतान्तर देखिएपछि जसपा विभाजित भयो। जसपाको नेतृत्व अहिले उपेन्द्र यादवले गरिरहेका छन् भने जसपाबाट अलग्गिएका महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । यसरी नै लोकतान्त्रिक समाजवादी पार्टीबाट समेत अलग्गिएर वृषेशचन्द्र लालको नेतृत्व तराई मधेस लोकतान्त्रिक पार्टी सक्रिय भइसकेको छ।

यस हिसाबले मधेस केन्द्रित दलहरू अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा कमजोर स्थितिमा देखिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा त्यो परिणामबाट आउने स्थानीय तहको निर्वाचनमा कुन दलले बढीभन्दा बढी पालिकामा बाजी मार्लान् अहिले अनुमान कठिन छ । तर, मधेस केन्द्रित दलहरूको विभाजनले गर्दा त्यसको फाइदा भने अन्य दलहरूलाई हुने लगभग निश्चित छ ।
वीरगंज महानगरपालिकामा सरावगी तरङ्ग
वीरगंज महानगरपालिकाको कुल जनसंख्या २ लाख ६८ हजार २७३ छ । यस हिसाबले आउने स्थानीय निर्वाचनमा महानगरको नेतृत्व हासिल गर्नका लागि उम्मेदवारलाई बढी नै परिश्रम गर्नुपर्ने देखिन्छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा महानगरको प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले विजय प्राप्त गरेका थिए ।

वीरगंज महानगरपालिकाको प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमका विजयकुमार सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७ र तत्कालीन राजपाका राजेशमान सिंहले १२ हजार १६५, नेपाल लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले ८ हजार ७०१, नेकपा एमालेका महम्मद बसरुद्दीन अन्सारीले ८ हजार ६९९ र नेकपा (माओवादी केन्द्र)का रहवर अन्सारीले ८ हजार ३०५ मत हासिल गरेका थिए। यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत ल्याएर विजयी भएकी थिइन् भने उनको निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमकी पिङ्कीदेवी यादवले १८ हजार ५३०, राजपा नेपालकी रम्भा मिश्रले १० हजार ६६३, नेकपा एमालेकी सोफिया आचार्यले १० हजार ३४१, नेपाल लोकतान्त्रिक फोरमकी रिङ्कु यादवले ७ हजार ५८६, नेकपा (माओवादी केन्द्र)की दुर्गा क्षेत्रीले ५ हजार २८ मत हासिल गरेकी थिइन्।

वीरगंज महानगरपालिकाको प्रमुखमा सरावगी छन्, उनी भर्खरै एमालेमा प्रवेश गरेका छन् । पर्सा जिल्लामा नेकपा एमालेको स्थिति मजबुत बनिरहेको समयमा ‘सेफ ल्याण्डिङ’का लागि सरावगी एमालेमा प्रवेश गरेका राजनीतिक विश्लेषकहरू बताउँछन्। सरावगी एमालेमा प्रवेश गर्दा उनीसँगै वीरगंज महानगरपालिकाका ११ वटा वडाका वडा अध्यक्षसमेत उनीसँगै एमालेमा प्रवेश गरे। यस हिसाबले आउने स्थानीय तहको निर्वाचनमा अब नेकपा एमाले वीरगंज महानगरपालिकामा मजबुत स्थितिमा रहने निश्चित छ। लोकतान्त्रिक समाजावदी पार्टीको सङ्गठन पर्सा जिल्लामै कमजोर स्थितिमा पुगेको छ भने जसपा नयाँ अनुहारहरूको खोजीमा छ।
जनकपुरधामका अधिकांश पुराना
मधेस प्रदेशको राजधानी हो जनकपुरधाम । मधेस आन्दोलनको जगको रूपमा जनकपुरधाम उपमहानगरपालिकालाई लिइन्छ। २०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदा जनकपुरधामसहित पूरै मधेस प्रदेशमा मधेस आन्दोलनको रापताप थियो। त्यसैले होला, जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वमा तत्कालीन राजपाबाट लालकिशोर साह ठूलो मतान्तरले विजय भएका थिए।

तत्कालीन राजपा नेपालबाट जनकपुरधामको नगरप्रमुखका रूपमा लालकिशोर साह निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर विजयी भएका थिए । उनले २१ हजार ९०३ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै, उपप्रमुखमा समेत तत्कालीन राजपाबाटै रीता झा विजयी भएकी थिइन्। उनले १७ हजार १४७ मत प्राप्त गरेकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार नीलम कर्णले १० हजार ६०५ मत मात्र ल्याएकी थिइन्। जनकपुरधाम उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा जम्मा ५१ हजार ५९९ सदर मत खसेको थियो । राजपा समूहका अधिकांश नेताहरू महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा रहेको समयमा जनकपुरधाम उपमहानगरका प्रमुख साहले भने जसपालाई रोजेका थिए। यस हिसाबले जनकपुरधाम उपमहागरपालिकामा २०७४ सालको स्थानीय निर्वाचन जस्तो शक्ति न जसपासँग छ, न त लोसपासँग नै। यी दुवै दल उम्मेदवारको खोजीमा लागेका छन् ।

यता, नेपाली कांग्रेसबाट पुरानै उम्मेदवारलाई फेरि अवसर दिने सम्भावना प्रबल छ । यद्यपि, कांग्रेसभित्र अन्य धेरै अकाङ्क्षीहरू समेत छन् । मधेस केन्द्रित दुवै दलको शक्ति क्षीण भएको अवस्थामा जनकपुरधाममा कांग्रेसको शक्ति बढ्ने सम्भावना छ। अहिले लोसपा नेपालबाट जनकपुरधाम उपमहानगरका नगरप्रमुख पदका लागि परमेश्वर साह, मनोजकुमार चौधरी र जानकीराम साहको नाम चर्चामा छ । उपप्रमुखमा भने रीता झा नै दोहोरिने सम्भावना प्रबल छ। त्यस्तै, जसपाबाट लालकिशोर साहलाई नै नगरप्रमुखमा दोहोर्‍याउने चर्चाका बीच उमेश साह र विष्णुदेव साहको नाममा समेत आन्तरिक रूपमा छलफल चलिरहेको जसपा स्रोतको दाबी छ। एता, कांग्रेसबाट २०७४ सालमा पराजित मनोजकुमार साह पुनः नगरप्रमुखमा भिड्ने तयारीमा छन्, जबकि पूर्वनगरप्रमुख बजरंगप्रसाद साह, राकेशविक्रम साहलगायतका नेताहरू समेत अकाङ्क्षी देखिएका छन् ।

एमालेबाट शिवशंकर साह, उमेश चौधरी र नेकपा (एकीकृत समाजवादी)बाट डा. अजय झाको नाम चर्चामा छ । नेकपा (माओवादी केन्द्र)बाट भने जगदीश राउत, चन्द्रशेखर साह, दीपक पटेल र रामवृक्ष यादवको समेत नाम जनकपुरधाम उपमहानगरको नगरप्रमुखका लागि चर्चामा छ।
जीतपुर सिमरामा अझै आएन आकार
बाराको जीतपुर सिमरा उपमहागरपालिकामा प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भिडन्त हुने निश्चित छ। जीतपुर सिमरा उपमहानगरपालिकाको नयाँ जनसंख्या १ लाख १९ हजार १४८ छ।

जनघनत्व बढी रहेको यस पालिकामा उम्मेदवारलाई घरघर पुग्न गाह्रो हुने निश्चित छ । यद्यपि, २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस उपमहागरपालिकाको निर्वाचनमा कांग्रेस र एमालेबीच नै कडा टक्कर भएको थियो। जीतपुर सिमरा उपमहानगरपालिकाको पछिल्लो निर्वाचनमा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेलले कडा टक्करका बीच कांग्रेसका प्रतिस्पर्धीलाई पराजित गरेका थिए । उनले १४ हजार ८६५ मत ल्याएका थिए भने नेपाली कांग्रेसका कृष्णवत सिंहले १२ हजार ४३ मत ल्याएका थिए।

त्यस्तै, उपप्रमुखमा एमाले उम्मेदवार सरस्वती चौधरीले १४ हजार ४५९ मत प्राप्त गरेका थिइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नारायणी रायमाझीले १२ हजार ४६५ मत प्राप्त गरेकी थिइन् । जीतपुर सिमरामा नेतृत्वका निम्ति आकाङ्क्षीहरू प्रस्ट खुलिनसकेका बताइएको छ । स्थानीय विश्लेषकहरू भने यहाँ एमाले र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुन सक्ने आँकलन गरिरहेका छन्।
कलैयामा कांग्रेस–एमालेकै टक्कर
२०७४ सालको स्थानीय तहको निर्वाचन परिणामअनुसार अब हुने निर्वाचनमा कांग्रेस वा एमालेमध्ये कुनै एक दलले पालिकाको नेतृत्व पाउन सक्ने सम्भावना छ। २ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मतको झिनो अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका थिए।

यादवले १० हजार ९०३ र उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विनोद साहले १० हजार ७१६ मत प्राप्त गरेका थिए। त्यसैगरी उपप्रमुखमा कांग्रेसकै रहिना खातुनले १० हजार ५३८ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गरेकी छन् । कलैयाका स्थानीय राजनीतिक विश्लेषकहरूको पनि एमाले–कांग्रेसबीच नै आगामी स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा हुन सक्ने अनुमान छ । तथापि, यहाँ पनि आकाङ्क्षीहरू प्रस्टसँग खुलिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्