अर्ली इलेक्सनकाे सम्भावना छैन : प्रचण्ड



धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् ।एमालेको अवरोधका कारण ६ महिनादेखि संसद् सहजरूपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए।

सोमबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने-एमालेले दुई पटक संसद् विघटन गर्‍यो। अहिले संसद् चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ । त्याे सत्य होइन ।’ ३० वैशाखमा स्थानीय तहकाे चुनाव घोषणा भइसकेको र अब सोही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए।

अध्यक्ष प्रचण्डले  कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारेमा छलफल भइरहेको समेत बताए। ‘चुनाव आएकाे छ, कांग्रेसले पनि सरकारमा जान चाहेकाे छ,’  प्रचण्डले भने, ‘एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बोलाएर कांग्रेस भित्र्याउने सहमति भएकाे छ ।’ यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्