उम्मेदवार छान्न मापदण्ड बनाउँदै दलहरु



काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा नेताहरूको घरमा आकाङ्क्षीहरूको भीड लाग्न थालेको छ । उनीहरू नेताकहाँ धाउनुको एउटै चाहना हो-टिकट पाउने। प्रभावमा पारेर टिकट पाउन आकाङ्क्षीहरूको लाग्ने यस्तो भीड भने नेताहरूका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ । यतिसम्म कि टिकट नपाए पार्टी छाड्नेसम्मको चेतावनी यहीबेला दिन्छन् आकाङ्क्षीहरू।

त्यही भएर दलहरूले निर्वाचनअघि उम्मेदवारको मापदण्ड तोक्ने गरेका छन् । उम्मेदवार छनोटमा मापदण्डले नेताहरूलाई सहयोग पुग्ने ठानिन्छ। संघीय र स्थानीय तहको पनि ठूलो दल, हाल प्रमुख प्रतिपक्ष नेकपा एमाले उम्मेदवारको मापदण्ड तोक्ने तयारीमा छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ उम्मेदवारको छनोट सहज बनाउन मापदण्ड तोकिने बताउँछन् । ‘छलफल त गरेको छैन उम्मेदवार चयनको प्रक्रिया र विधि कस्तो बनाउने भन्नेबारे तर छलफल छिट्टै गर्छौं’, गुरुङले भने, ‘सामान्यतः पार्टीमा अनुशासित, इमान्दार, सक्षम, योग्य, स्वच्छ छवि भएका, जनताको बीचमा लोकप्रिय र विकासको अवधारणा बोक्न सक्ने नेतालाई उम्मेदवार बनाउँछौँ ।’

राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनमा उम्मेदवारको जीतका ३ वटा आधार हुन्छन् । पहिलो– पार्टीको साङ्गठनिक शक्ति, दोस्रो– उम्मेदवारको लोकप्रियता र तेस्रो निर्वाचन आचारसंहिताविपरीत रातारात बाँडिने पैसा । अर्कोचाहिँ गाउँ÷नगरको विकासको अवधारणा। उपमहासचिव गुरुङको भनाइलाई आधार मान्दा एमालेले जीतको आधारमध्येमा पर्ने भनिएका विकासको अवधारणादेखि जनताबीच लोकप्रियसम्मका आधारमा उम्मेदवार छनोट गर्ने देखिन्छ । सत्ता नेतृत्व दल नेपाली कांग्रेससँग त उम्मेदवारको मापदण्ड छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भनेका छन्, ‘जनतामा प्रभाव छाडेका नेता र पार्टीको सङ्गठक उम्मेदवार हुने हो ।’ जनप्रतिनिधिलाई उम्मेदवार बनाउँदा भने कांग्रेसले स्थानीय सरकारमा रहँदाको ५ वर्षे अवधिको समीक्षा गर्ने भएको छ । समीक्षाको क्रममा राम्रो काम गरेको ठहरिए उम्मेदवार बनाउन सकिने प्रवक्ता महत बताउँछन् । उनका अनुसार उम्मेदवार बनाउँदा छनोटको पहिलो विकल्प सर्वसम्मति हुनेछ। फेरि, कांग्रेसमा टिकट नपाएको अवस्थामा नेताहरूले अन्तर्घात गर्ने परम्परा पनि पुरानै हो ।

सोही कारण उम्मेदवार छनोट मापदण्डको आधारमा चयन गर्न कांग्रेसले चाहेको छ । सत्तामै रहेको अर्को दल नेकपा (माओवादी केन्द्र)ले पनि मापदण्ड बनाउने बताएको छ । तर, कहिलेसम्ममा बनाउने भन्ने टुंगो छैन।माओवादी केन्द्रका नेता शक्ति बस्नेतले मापदण्ड बनाउँदा उम्मेदवार छनोटमा सहज हुने बताए । यद्यपि, छनोट गर्ने अधिकार भने वडा तहमा वडा कमिटीलाई र गाउँ/नगर तहमा पार्टीको सोही तहको कमिटीलाई दिने पक्षमा माओवादी केन्द्र छ । यी २ तहमा सर्वसम्मति कामय गर्ने र नभए मापदण्डको आधारमा उम्मेदवार छनोट गर्ने नेता बस्नेतको भनाइ छ ।

उनका अनुसार वडा, गाउँ/नगरको समृद्धिको स्पष्ट भिजन भएको, जनताबीच लोकप्रिय र पार्टीको कुशल सङ्गठक माओवादीको उम्मेदवार हुनेछ । माओवादी केन्द्र २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तेस्रो भएको पार्टी हो । निर्वाचन भने सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको गरेको थियो । त्यसबेला एमाले पहिलो र कांग्रेस दोस्रो दल भएका थिए।

प्रतिक्रिया दिनुहोस्