देउवाको पहिलो, ओलीको ७० प्रतिशत र प्रचण्डको दोस्रो स्थान !



काठमाडौं । स्थानीय निर्वाचनको माहोल बन्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवाले उनको दल नेपाली कांग्रेस पहिलो हुने दाबी गर्दै आएका छन् । निर्वाचनको मिति घोषणापछिका हरेक कार्यक्रममा देउवा यसो भन्न छुटाउँदैनन् ।
उनको दाबी पुष्टि हुन भने निर्वाचन भएर अन्तिम नतिजा आउनुपर्छ । तर, देउवा दाबीका २ अर्थ भने छन्– कार्यकर्तालाई उत्साहित बनाउने र प्रतिस्पर्धी दलहरूलाई हतोत्साहित पार्ने ।
२०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेस पहिलो दल बनेको थियो । २०५४ सालमा करिब ४० प्रतिशत र २०७४ सालमा ४५ प्रतिशत मत पायो कांग्रेसले । र, कांग्रेस दोस्रोमा खुम्चियो ।
यस आधारमा विगत हेर्दा कांग्रेसले प्राप्त गरेको मत उतारचढावपूर्ण देखिन्छ । तर, अबको ५९औँ दिनमा हुने स्थानीय निर्वाचनमा सभापतिसमेत रहेका देउवा ‘कांग्रेस पहिलो हुन्छ’ भनिरहेका छन् । तर, पहिलो हुन सक्ने आधार भने पेस गरेका छैनन् ।
जबकि, जनजीविकाको सवालसँगै, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका गतिविधिमा उनी नेतृत्वको गठबन्धन सरकारको भूमिका खासै चर्चायोग्य छैन । यसअघि उनी चौथो पटकसम्म प्रधानमन्त्री हुँदा पनि देशवासीले सम्झिरहने खालका काम भएनन् । तैपनि, नेतृत्व गरेको पार्टी कांग्रेसको स्थान पहिलो हुने भन्न छुटाउँदैनन् ।
देउवा निकट कार्यसम्पादन समिति सदस्य गोपालमान श्रेष्ठ कांग्रेस पहिलो दल हुने आधारबारे भन्छन्, ‘ओली नेतृत्वको दुई तिहाइ नजिकको बहुमत सरकारले बबण्डर मच्चायो, जनतालाई झुक्यायो, ओलीले उखानटुक्का मात्र सुनाए ।’ यही आधारमा ५५ देखि ६० प्रतिशत मतसहित कांग्रेस पहिलो दल हुने उनको भनाइ छ ।
कांग्रेस मात्र होइन, प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पनि सम्भावित दलीय स्थिति सार्वजनिक गर्दै आएका छन् ।
मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ६० देखि ७० प्रतिशत जित्ने दाबी गरे ।
उत्साहित हुँदै उनले भनेका छन्, ‘यसको बैसाखी टेक्नुपर्छ भन्ने छैन । ढोडको लौरी टेक्ने होइन । हामी एक्लै चुनाव लड्न र जित्न सक्छौँ । ६० देखि ७० प्रतिशत स्थानीय तह एमाले एक्लैले जित्न सक्छ ।’
ओलीले चाहिँ जीतको आधार आफू नेतृत्वको तत्कालीन सरकारले विकास निर्माणको क्षेत्रमा कायापलट गरेको बताउने गरेका छन् । उनका अनुसार देशलाई एमालेले सुरुङ युगमा प्रवेश गराएको हो ।
विकासप्रेमी दल भएकै आधारमा जनताको रोजाइमा एमाले पर्ने उनको दाबी छ । देश संघीयतामा गएपछि २०७४ सालमा पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा एमाले पहिलो दल बनेको थियो ।
यस पटक पहिलो दलको रूपमा एमाले दोहोरिने ओलीको दृढ विश्वास छ । उनको पनि दाबी पुष्टि हुन पनि निर्वाचनको परिणाम कुर्नै पर्ने हुन्छ ।
स्थानीय तहमा एमाले र कांग्रेपछिको दल हो– नेकपा (माओवादी केन्द्र) । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २० फागुनमा माओवादी दोस्रो हुने रिपोर्ट आएको बताए । पार्टी केन्द्रीय कमिटी बैठकमा उनले यसो भनेका हुन् ।
‘मैले पाएको सूचनाअनुसार आगामी निर्वाचनमा पहिलो ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल माओवादी केन्द्र हुने भन्ने रहेछ तर हामी पहिलो दल बन्नुपर्छ । पहिलो दल बन्ने सम्भावना अहिले पनि छ’, दाहालको भनाइ थियो ।
जीतको आधारको रूपमा प्रतिगमनलाई परास्त गरिएको, संविधानवादको रक्षा गरेको र संसद्लाई माओवादीकै नेतृत्वमा जोगाएको प्रचण्डले दाबी गर्दै आएका छन् ।
तर, उनी नेतृत्वको माओवादी केन्द्र विभाजनको पीडामा छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे पनि माओवादीको दोधारे चरित्र देखिएको राजनीतिक विश्लेषकसँगै माओवादीकै नेता, कार्यकर्ताले बताइरहेका छन् । यस आधारमा प्रचण्डको माओवादी दोस्रो हुन्छ भन्ने दाबी कति सत्य नजिक छ ? यसै भन्न सकिँदैन ।
संसद्का अन्य दलहरू नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि अघिल्लो निर्वाचनमा भन्दा सिट संख्या बढाउने पनि दाबी छ ।
राजनीतिक विश्लेषक भीम भुर्तेल निर्वाचनअघि गरिने दलहरूका यस्ता दाबीलाई ‘जनमत प्रभावित’ गर्ने प्रयास भन्छन्, जसलाई उनी अस्वाभाविक पनि मान्दैनन् ।
‘राजनीतिज्ञहरूले मेरो दलले यति सिट जित्छ भन्छन् नै । उनीहरूले आधारभूत कुरा गरेका हुन् । यस्तो कुरा नगर्ने त दल हुँदैन’, उनले भने, ‘किन यस्तो दाबी गर्छन् त भन्दा जनमतलाई प्रभावित पार्न ।’ स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ । निर्वाचनमा ८० दलले सहभागी हुन पाउनेछन् ।

यस्तो थियो २०७४ सालमा दलीय हैसियत
कुल– ७५३ स्थानीय तह
नेकपा एमाले– २९४
नेपाली कांग्रेस– २६६
नेकपा (माओवादी केन्द्र)– १०६
तत्कालीन संघीय समाजवादी फोरम– ३४
तत्कालीन राष्ट्रिय जनता पार्टी– २५
तत्कालीन नेपाल लोकतान्त्रिक फोरम– ९
स्वतन्त्र– ६
राष्ट्रिय प्रजातन्त्र पार्टी– ५
राष्ट्रिय जनमोर्चा– ३
तत्कालीन नयाँ शक्ति पार्टी– २
नेपाली जनता दल– २
नेपाल मजदुर किसान पार्टी– १

प्रतिक्रिया दिनुहोस्