कसले दिन्छ उम्मेदवारलाई टिकट ?



काठमाडौं । अधिकांश राजनीतिक दलले स्थानीय तहको नेतृत्वदेखि सदस्य पदसम्मका उम्मेदवारलाई कसले टिकट दिने भन्ने टुंगो लगाएका छन् । आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाहेकका दलले उम्मेदवारलाई टिकट बाँड्ने कमिटीको टुंगो लगाएका हुन् ।

प्रमुख विपक्षी दल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले टुंगो लगाइसकेका छन् । राष्ट्रिय दलबाहेकका दलहरूले पनि टुंगो लगाउने क्रम जारी छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टिकट पार्टी केन्द्रीय कमिटीले दिने बताए। उम्मेदवारको टिकटमा हस्ताक्षर पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। नगरपालिकाको प्रमुख/उपप्रमुख र गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष पदको टिकट प्रदेश कमिटीले दिने र हस्ताक्षर भने प्रदेश कमिटी अध्यक्षले गर्नेछन्। वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारको टिकट जिल्ला कमिटीले दिने र हस्ताक्षर जिल्ला अध्यक्षले गर्ने निर्णय भएको रिजालले बताए। संघीय संसद्सँगै स्थानीय तहमा पनि ठूलो रहेको दल एमालेले चाँडै उम्मेदवारको टुंगो लगाउने तयारी पनि गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता विशाल भट्टराईले एमाले स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारको टुंगो लगाउन र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न मात्र बाँकी रहेको बताए । सर्वसम्मतिमै उम्मेदवार टुंगो लगाउने अधिकतम प्रयास हुने उनको भनाइ छ।

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको उम्मेदवार टुंगो लगाउने र टिकटमा हस्ताक्षर गर्ने अधिकारी भने एमालेका भन्दा केही भिन्न छन्। सहमहामन्त्री भीष्मराज आङ्देम्बेले वडा अध्यक्ष र सदस्य पदको उम्मेदवारको टुंगो पार्टीको प्रदेश क्षेत्रीय समितिले लगाउने जानकारी दिए। गाउँपालिका अध्यक्ष/उपाध्यक्षको जिल्ला कार्यसमिति, नगरपालिकाको प्रमुख र उपप्रमुखको प्रदेश समिति र महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको टिकट पार्टी केन्द्रीय समितिले टुंगो लगाउने पनि आङ्देम्बेले बताए। उम्मेदवारको टिकटमा हस्ताक्षर सम्बन्धित समितिका सभापतिले गर्ने भएका छन्। सत्तामै रहेको दल जसपाबाट बन्ने सबै तहका उम्मेदवारको टिकटमा हस्ताक्षर ‘हेडक्वार्टर’मा रहेका नेता अशोक राईले गर्नेछन् । तर, उम्मेदवारको टुंगो भने भिन्नभिन्न तहका समितिले गर्नेछन्। उपाध्यक्ष रकम चेम्जोङले वडा समितिको सम्बन्धित स्थानीय तहको समितिले टुंगो लगाउने बताए। गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुखको जिल्ला समिति, महानगरपालिकाका प्रमुख/उपप्रमुखको राष्ट्रिय कार्यकारिणी समिति र उपमहानगरपालिकाका प्रमुख/उपप्रमुखको उम्मेदवारको टुंगो प्रदेश समितिले टुंगो लगाउने भएको छ।

लोसपाको भने गाउँपालिका, नगरपालिका, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको टिकटमा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गर्नेछन् । टिकटको टुंगो राष्ट्रिय कार्यकारिणी समितिले लगाउने नेता केशव झाले बताए । उनले वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारको टुंगो स्थानीय तहले र हस्ताक्षर स्थानीय तहका अध्यक्षले गर्नेछन्। संसद्कै अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार उम्मेदवारको टुंगो लगाउने पार्टी संयन्त्र र हस्ताक्षर गर्ने अधिकारीबारे निर्णय गरेको छ । महामन्त्री भुवन पाठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख/उपप्रमुखको पार्टी केन्द्रीय समितिले र हस्ताक्षर अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने बताए। तर, पार्टीको सम्बन्धित महानगरपालिका र उपमहानगरपालिका समितिले सिफारिस गर्नुपर्ने बुधबार बसेको बैठकले निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुखको जिल्ला समिति र वडा अध्यक्ष तथा सदस्यको उम्मेदवार छनोट सम्बन्धित स्थानीय तहको समिति र टिकटमा हस्ताक्षर समितिका अध्यक्षले गर्ने महामन्त्री पाठकले बताए । यस्तै, राष्ट्रिय जनमोर्चाले सबै उम्मेदवारको टिकटमा हस्ताक्षर अध्यक्ष चित्रबहादुर केसीले गर्ने भएका छन् । सचिव हिमलाल पुरीले गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख पदका लागि पार्टीको स्थानीय तहको सिफारिसअनुसार जिल्ला कमिटीले ३ जनाको नाम सिफारिस गर्ने र सोहीमध्येबाट उम्मेदवारको टुंगो पार्टी केन्द्रीय कमिटीले गर्ने बताए । उनले वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको टुंगो भने जिल्ला कमिटीले गर्ने बताए।
माओवादी र नेकपा एसको बाँकी
सत्तारुढ दलहरू माओवादी केन्द्र र नेकपा एसको भने स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष पदका उम्मेदवारको टुंगो कुन कमिटीले गर्छ भन्ने निर्णय भएको छैन। टिकटमा हस्ताक्षर गर्ने अधिकारीबारे पनि निर्णय हुन बाँकी छ। एसका उपमहासचिव डा. गंगालाल तुलाधारले बिहीबार बस्ने सचिवालय बैठकले यसको टुंगो लगाउने जानकारी दिए। माओवादी केन्द्रले कहिले टुंगो लगाउँछ भन्ने निक्र्योल भएको छैन ।

नेता गणेश शाहले भने महानगरपालिका र उपमहानगरपालिका प्रमुख/उपप्रमुखको उम्मेदवारको टुंगो केन्द्रीय कमिटीले गर्ने र हस्ताक्षर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने मोटामोटी कुरा भएको बताए । गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाको प्रमुख/उपप्रमुखको टुंगो प्रदेश कमिटीले र टिकटमा हस्ताक्षर इन्चार्जले गर्ने भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्