गठबन्धन राजनीतिमा ‘प्रचण्ड दोधार’



काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै सत्तामा रहेको दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोधारमा छन् । ठूला दलहरू नेकपा एमाले कि नेपाली कांग्रेससँग गठबन्धन गर्ने भन्ने टुंगो नहुँदा उनी दोधारमा परेका हुन् ।

उनले गठबन्धन गर्न चाहेको दल भने कांग्रेस हो । तर, गठबन्धन गर्नेबारे कांग्रेस स्पष्ट छैन । गठबन्धनको विषयमा पक्ष र विपक्षमा उक्त दलको धारणा आइरहेका छन् । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् । उनका पछिल्ला अभिव्यक्तिहरूलाई आधार मान्दा कांग्रेसले निर्वाचनसम्मै गठबन्धनलाई कायम राख्न चाहन्छ । तर, नेता डा. शेखर कोइराला पक्षीय नेताहरू भने एक्लै निर्वाचनमा जानुपर्नेमा छन् । गठबन्धनबारे सकारात्मक छैनन् । यस्तो अवस्थामा प्रचण्डको दोधारे अभिव्यक्ति आइरहेका छन् । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा बिहीबार पुगेर कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनलाई निरन्तरता दिन चाहेको बताए ।

तर, एमालेसँग पनि गठबन्धन गर्न सकिने घुमाउरो शैलीमा सङ्केत गरे । यसको अर्थ कांग्रेसलाई गठबन्धनबारे थप दबाब दिनु हो । फेरि, प्रचण्ड ती नेता हुन्, जसले अप्रत्याशित रूपमा एमालेसँग १६ असोज २०७४ मा गठबन्धन गर्ने निर्णय गरे । अन्ततः वाम गठबन्धन बनाएर निर्वाचनमा गए पनि । कांग्रेस धेरै सिट अन्तरले दोस्रो भयो । राजनीतिक विश्लेषक भीम भुर्तेल प्रचण्डले एमालेसँग गठबन्धन गर्दैनन् भन्न नसकिने बताउँछन् । उनका अनुसार कांग्रेस तयार नभए प्रचण्डले एमालेसँग गठबन्धन गर्न सक्छन् । ‘गठबन्धन स्वार्थमा आधारित हुन्छ । कांग्रेससँग गठबन्धन नभए एमालेसँग नहोला भन्न सकिँदैन । गठबन्धनबिना निर्वाचनमा जान प्रचण्डमा डर छ र कांग्रेस गठबन्धनमा तयार नभए म एमालेसँगको गठबन्धन हुने देख्छु ।’ प्रचण्ड निकट नेता वर्षमान पुन ‘अनन्त’ले पनि कांग्रेसमाथि दबाब दिइरहेका छन् । गठबन्धन एमालेसँग हुनै नसक्ने अवस्था नरहेको बताउँदै आएका छन् ।

उनी २०७४ सालमा भएको निर्वाचनमा ‘माओवादी–कांग्रेस’ गठबन्धन बनाउन खटिएका थिए । अर्का नेता जनार्दन शर्मा ‘माओवादी–एमाले’ गठबन्धनमा बनाउने जुटेका थिए । तर, पछि शर्मा सफल भए । यसरी अघिल्लो पटक पनि गठबन्धनको सूत्रधारको रूपमा परिचालित पुन र शर्मा कांग्रेसमाथि दबाब बढाइरहेका छन् । दबाबबीच कांग्रेसले स्पष्ट निर्णय लिन सकेको छैन, जबकि स्थानीय निर्वाचन हुन ५५ दिन बाँकी छ । उम्मेदवारी दर्ता गर्न भने अबको ३५ दिनमा गर्नुपर्नेछ । प्रचण्ड भने गठबन्धनमै अधिक जोड दिइरहेका छन्। अर्कोतिर, भन्नचाहिँ पहिलो प्राथमिकता आफ्नै एजेण्डमा निर्वाचनमा जाने भन्दै छन् उनी । २०६४ सालमा संविधानसभा निर्वाचनमा पहिलो दल बनेको प्रचण्ड नेतृत्वको माओवादी २०७० सालको संविधानसभा निर्वाचनमा तेस्रो भयो । २०७४ सालमा भएको निर्वाचनमा पनि तेस्रो हैसियतमा माओवादी खुम्चियो । यस आधारमा क्रमशः माओवादी रक्षात्मक बन्दै गएको देखिएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीको आकार यस पटक अझ खस्किने अवस्था छ । कारण– २०६४ सालपछि पटकपटक निर्वाचन जित्नेमध्येका नेताहरू पार्टीबाट अलग भए । अलग भएका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीलगायत हुन् । स्थानीय तहका जनप्रतिनिधिहरू पनि माओवादीबाट अलग भए । अलग भएकामध्ये अधिकांश एमालेमा पुगे । निकै कम संख्यामा मात्रै माओवादीमा अन्य पार्टीबाट आएका छन् । यस्तो अवस्थामा प्रचण्ड एक्लै निर्वाचनमा जान हिच्किचाएका हुन् । केही दिनअघि उनले भने, ‘नेपालमा २ राजनीतिक शक्ति बनाउने चालबाजी हुँदै छ ।’ फेरि, एमसीसीको सवालमा दोधारे बनेका मात्र होइन, सुरुमा चर्को विरोध गर्दै विपक्षमा उभिएका प्रचण्ड १५ माघमा भने ‘ब्याख्यात्मक घोषणा’मार्फत एमसीसी पारित गराउन लागे ।

त्यसपछि उनी पार्टीमै आलोचित भए । नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले फागुनको तेस्रो साता भएको केन्द्रीय कमिटी बैठकमा फरक मतसहितको राजनीतिक प्रस्ताव नै दर्ज गरे । त्यसबेला कतिपयले पार्टी विभाजन हुने अड्कल गरे । तर, विभाजन हुनबाट तत्कालका लागि रोकिएको छ । श्रेष्ठसहितका नेताहरूलाई साथमा लिएर प्रदेशस्तरीय प्रशिक्षणमा छन् । यद्यपि, केन्द्रीय कमिटीलाई पूर्णता दिन प्रचण्डले सकेका छैनन् । प्रचण्ड र उनी नेतृत्वको माओवादी कमजोर मनोबलका साथ निर्वाचनमा भने जाने देखिएको राजनीतिक विश्लेषक भीम भुर्तेल बताउँछन् । ‘एमसीसीबारे अन्तिम घडिसम्मै विपक्षमा उभिएका भए प्रचण्डलाई निर्वाचनमा जान अलिक सहज हुन्थ्यो तर उनी अडिग हुन सकेनन् । यसले निर्वाचनमा उनलाई असहज पारेको देखियो’, उनले भने । उनका अनुसार प्रचण्डको जोड गठबन्धनमा रहनुको कारण पनि यही हो । हुनत नेता शक्ति बस्नेत माओवादी केन्द्र आफ्नै क्षमतामा निर्वाचनमा होमिएको बताउँछन् । एक्लै निर्वाचनमा जान माओवादी नडराउने उनले बताए ।

‘गणतन्त्र हाँक्ने सक्षम नेता देखिएन, जसका कारण देश जहाँको त्यहीँ छ’, उनले भने, ‘माओवादीले संस्थागत भएको राजनीतिक व्यवस्था जोगाउनेसँगै संविधानसभाबाट संविधान बनाउनेलगायत काममा अरुलाई नेतृत्व दियो र अब हामी एक्लै निर्वाचनमा जान्छौँ, हाम्रै नेतृत्वमा गणतन्त्रको कार्यान्वयन गर्छौं ।’ स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ ।

निर्वाचन कमाण्डर तोकिए
माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित निर्वाचन कमाण्डर तोकेको छ । सातै प्रदेशका निश्चित जिल्लालाई समेटेर कमाण्डर तोकेको हो ।
उनीहरूले निर्वाचनमा पार्टीलाई जिताउन आक्रामक अभियान सञ्चालन गर्नुपर्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रदेश १
– इन्द्र आङ्बोः ताप्लेजुङ, पाँचथर र इलाम
– सावित्रीकुमार काफ्लेः झापा, मोरङ र सुनसरी
– हेमराज भण्डारीः धनकुटा, तेह्रथुम, सङ्खुवासभा– हेमराज भण्डारी
– अजम्बर काङमाङः भोजपुर र खोटाङ
– सुरेशकुमार राईः सोलुखुम्बू, ओखलढुङ्गा र उदयपुर
बाग्मती प्रदेश
– ईश्वरी भट्टराईः काठमाडौं, ललितपुर र भक्तपुर
– नारायण दाहालः चितवन र मकवानपुर
– हितबहादुर तामाङः धादिङ, नुवाकोट र रसुवा
– कृष्ण सापकोटाः सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोक
– सूर्य सुवेदीः सिन्धुली र रामेछाप
लुम्बिनी प्रदेश
– ओनसरी घर्ती मगरः बाँके, बर्दिया र दाङ
– जोखबहादुर महराः रोल्पा, रुकुम–पूर्व र प्युठान
– जगप्रसाद शर्माः गुल्मी, अर्घाखाँची र पाल्पा
– हकिकुल्लाह खाँः नवलपरासी, रूपन्देही र कपिलवस्तु
कर्णाली प्रदेश
– रामदीप आचार्यः जाजरकोट र दैलेख
– राजकुमार शर्माः डोल्पा र रुकुम–पश्चिम
– महेन्द्रबहादुर शाहीः कालीकोट, जुम्ला, मुगु, हुम्ला
– टेकबहादुर बस्नेतः सल्यान र सुर्खेत
सुदूरपश्चिम प्रदेश
– शरद सिंहः अछाम, डोटी र बाजुरा
– लक्ष्मणदत्त जोशीः बैतडी, बझाङ र दार्चुला

प्रतिक्रिया दिनुहोस्