१५ महिनापछि प्रारम्भिक सुनुवाइ



काठमाडाैं । सर्वोच्च अदालतमा दर्ता भएको १५ महिनापछि संवैधानिक निकायमा नियुक्त पदाधिकारीविरुद्धको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

आगामी सुनुवाइ चैत ९ गते बुधबारका लागि तोकिएको छ। प्रधानन्यायाधीशको उपस्थितिबिना संवैधानिक इजलास गठन गर्न मिल्ने नमिल्ने विषयको विवाद यथावतै रहेका बेला कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा संवैधानिक इजलास गठन भइरहेको छ । सोही इजलासले शुक्रबारदेखि दुई चरणमा भएका ५२ जना पदाधिकारीसमेत विपक्षी रहेको मुद्दाको सुनुवाइ प्रारम्भ गरेको हो।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले मुद्दामा प्रारम्भिक सुनुवाइ भई चैत ९ गतेका लागि हेर्दाहेर्दैमा राखिएको जानकारी दिनुभयो । सर्वोच्चमा बुधबार र शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ गर्ने प्रचलन छ । शुक्रबार कामु प्रधानन्यायाधीश कार्की सहित वरिष्ठताका आधारमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलास गठन भएको थियो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्