बैंकमा निक्षेप संकलनभन्दा कर्जा प्रवाह ३ गुणा बढी



काठमाडाैं । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ। सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ। ८ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो।

८ महिनामा निक्षेप संकलनभन्दा ३ खर्ब २० अर्ब बढी कर्जा गएको देखिएको छ। साउनदेखि असोजसम्म सामान्य रूपमा निक्षेप बढेकोमा कात्तिकदेखि मंसिरसम्म खासै निक्षेपमा प्रगति हुन सकेको थिएन। पुसमा ह्वात्तै निक्षेप बढेकोमा माघ फेरि ह्वात्तै घटेको थियो । फागुनमा आएर २२ अर्ब निक्षेप बढेको थियो । कर्जा भने प्रत्येक महिनाजसो बढ्ने क्रममा नै रहेको छ। फागुन महिनाभरिमा २२ अर्ब निक्षेप संकलन हुँदा १७ अर्ब कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुनभन्दाका अघिल्ला महिनामा यति अंकमा निक्षेप संकलन बढेको थिएन ।

माघ मसान्तसम्म कूल ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा फागुन मसान्तसम्म आइपुग्दा ४३ खर्ब ३३ अर्ब पुगेको छ । सो महिनामा नेपाली मुद्रामा कुल १९ अर्ब संकलन भएको थियो भने विदेशी मुद्रामा २ अर्ब थपेको थियो । माघ मसान्तसम्म ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन मसान्तसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । फागुनमा नेपाली मुद्रामा ४७ अर्ब कर्जा विस्तार भएको तथ्यांक नेपाल बैंकर्स एसोसिएसनको रहेको छ । विदेशी मुद्रामा कर्जा भने फागुनमा ३० अर्बले घटेको छ । माघ मसान्तसम्म ८२ अर्ब विदेशी मुद्रामा कर्जा रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा ५२ अर्बमा सीमित भएको छ ।

फागुनमा अन्तिम सातामा मात्र ७ अर्ब निक्षेप संकलन भएको र ३ अर्ब कर्जा विस्तार भएको नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएको थियो भने ३७ खर्ब २१ अर्ब कर्जा विस्तार भएको थियो ।

फागुन मसान्तसम्म निक्षेप ४३ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा ४१ खर्ब ७२ अर्ब पुगेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार फागुन महिनामा १० वटा बैंकको निक्षेप रकममा कमी आएको छ भने अन्य १७ वटा बैंकको निक्षेप वृद्धि भएको छ । याे समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्