अमिताभ बुद्ध उतार्दै युवा



काठमाडौं । पञ्च बुद्धमा पर्छ-अमिताभ बुद्ध । बौद्ध धर्मअनुसार यसलाई ‘होपाम्हे’ भनिन्छ । जसलाई मानव स्वरूपमा नजन्मिएको बुद्धका रूपमा चिनिन्छ । यसको वर्ण रातो हुन्छ, जुन स्वयम्भूमा त्यही वर्णमा देखिएन। सर्लाहीका तेर्साङ लामा त्यही रातो वर्णको अमिताभ बुद्ध बनाउन दिनरात मिहिनेत गरिरहेका छन् ।

‘अहिले अमिताभ बुद्ध बनाइरहेको छु। बुद्ध बनाउने काम सकिएपछि त्यसमा रातो रङले छुट्टै पहिचान दिन्छ’, लामाले भने । अमिताभको वर्णमा भएको रातोलाई ‘प्रेम र दयालुपन’को प्रतीक मानिन्छ। त्यही प्रतीकलाई मूर्तिमा उतार्न पाउँदा तेर्साङ दंग छन्। अमिताभलाई बौद्ध धर्मको बज्रयान र महायान सम्प्रदायअन्तर्गत पृथ्वी लोकको पश्चिम दिशाको स्वामीको रूपमा लिइन्छ । त्यही मान्यताका आधारमा स्तुपाहरूमा पश्चिमतर्फ विराजमान गराइन्छ । र, बौद्ध ‘इमेजोग्राफी’मा करुणादायी र ध्यानमग्न स्वरूपमा पनि देखाइन्छ । तेर्साङ एक उदाहरण मात्र हुन् । बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्बा विकास समितिले बुद्धकालीन मूर्तिहरू बनाउन सक्ने सीप विकासका लागि तालिम दिइरहँदा तेर्साङ जस्तै अन्य युवा पनि बुद्ध मूर्ति बनाउन व्यस्त छन् ।

भोजपुर षडानन्द गाउँपालिका सुरज तामाङ ध्यानमग्न भएको भाव मूर्तिमा झल्काउन निकै मुस्किल परेको बताउँछन् । जति मुस्किल भए पनि उनले यो भावको मूर्ति बनाई छाडे । सुरजको बुझाइमा ध्यानमग्न भएको बनाउन आँखामा बढी मिहिनेत परेको छ । सुरज मूर्ति बनाउने दक्षता बनाएपछि भोजपुर फर्किएर बुद्धका अन्य स्वरूपको मूर्ति पनि बनाउने योजनामा छन् । ‘पढेलेखेकाले अक्षरमार्फत बुद्धबारे बुझ्छन् तर नपढेकाले मूर्तिबाटै हो’, उनले भने, ‘त्यही भएर अब तालिम सकेपछि घर गएर अमिताभ बुद्ध मात्र होइन, अन्य बुद्धको पनि मूर्ति बनाउँछु ।’ आफ्नै काकाले मूर्ति बनाएको उनलाई थाहा छ । तर, काका केही वर्षअघि दिवङ्गत भइसके । त्यसपछि मूर्तिकलाको बिँडो थाम्ने जिम्मा आफूमा आएको उनी बताउँछन् । मूर्तिकलाबाट आयआर्जन गर्न सकिने विश्वास सुरजको छ । रहर भएकै कारण मूर्ति बनाउन सिक्ने तेर्साङ र सुरज मात्र होइन, दलबहादुर (डीबी) राई पनि छन् ।

सङ्खुवासभाका उनको मूर्ति बनाउने रहर सानैदेखिको हो । चित्रकलामा त दशक पहिलेदेखि आबद्ध छन् उनी। अमिताभ बुद्धको हात बनाउँदै गरेका उनले भने, ‘मैले मूर्ति यसअघि बनाएको थिइनँ, राम्रै हुँदै छ । मूर्ति बनाउँदै गर्दा मनमा भगवान् बुद्धले दिनुभएका उपदेशहरू आइरन्छन् ।’ राईकै छेउमा ठीक अगाडि अमिताभकै मूर्ति राखेर ठ्याक्कै उतार्दै थिए, विशाल स्याङ्तान । उनले मूर्तिकला पेसालाई आगामी दिनमा अँगाल्ने सोच रहेको बताए । नजिकै रहेका सङ्खुवासभाका ज्ञानबहादुर तामाङ भने मूर्तिको ‘फिनिसिङ’ निकाल्दै थिए । गाउँघरमा मूर्ति बनाउने कोही नभएपछि सुनसरीको इटहरी र धरान आएर लैजानुपर्ने बाध्यता टुंग्याउन तालिममा आएको बताए । मूर्ति बनाउन सिक्नेहरू १५ जना छन् । देशका विभिन्न जिल्लाबाट आएका उनीहरूलाई मूर्ति बनाउन सिकाउने काम मूर्तिकार भीम श्रेष्ठले गरिरहेका छन् । सिक्न आएकाहरूले हेर्दै मूर्ति धमाधम ठड्याएपछि उनी खुसी छन् । ‘मूर्तिबारे पहिले प्राविधिक पक्ष सिकाएँ अनि बनाउन सिकाएँ।

उहाँहरूको कामबाट म प्रभावित छु । अझ राम्रो गर्न थप मिहिनेत चाहिन्छ’, श्रेष्ठले भने । मूर्तिले मूर्त अनुभूति दिने हो र सर्वाधिक मूर्ति भगवान्कै बनाइने गरिन्छ । गुम्बा, मठमन्दिरलगायत धार्मिक संस्थामा प्राचीनकालदेखि मूर्ति राख्ने चलन छ । तालिम संयोजक लक्ष्मी रुम्बाले युवाहरूमा बुद्ध मूर्ति बनाउन निकै रुचि रहेकाले आफूहरूले तालिमको संयोजन गरेको बताइन्। समितिका कार्यकारी निर्देशक होम दोङले आगामी आर्थिक वर्षमा पनि मूर्तिकलासम्बन्धी सीप विकास गराउन तालिम आयोजना गर्दै जाने बताए। उनका अनुसार तालिममा सहभागीहरूको मूर्तिकलालाई निरन्तरता दिँदा उनीहरूको जीविकोपार्जनमा टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्