प्रचण्डलाई बिझाइरहने १४ वर्ष पुरानो त्यो घटना …



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय पार्टी टुक्राटुक्रा हुनुको कारण ‘कटुवाल प्रकरण’ भएको बताउँदै आएका छन् । तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई २० वैशाख २०६६ मा बर्खास्त गरेको घटना ‘कटुवाल प्रकरण’को रूपमा चर्चित छ।

बर्खास्त गर्ने प्रचण्ड नै हुन् । त्यतिबेला उनी प्रधानमन्त्री थिए । नागरिक सरकारको आदेश पालना नगरेको भन्दै कटुवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधानसेनापति नियुक्त गरेका थिए। यही प्रकरणलाई प्रचण्डले पार्टी विभाजनको मुख्य कारण भएको बताउँदै आएका छन् । आइतबार गण्डकी प्रदेशको राजधानी पोखरा पुगेर प्रचण्डले भने, ‘कटुवालकाण्ड हुँदै पार्टी विभाजनको शृंखला भएको थियो। एउटा, २ वटा, ३ वटा कति हो कति ?’ २९ फागुनमा प्रदेश १ मा आयोजित प्रदेशस्तरीय प्रशिक्षणमा पनि प्रचण्डले कटुवाललाई बर्खास्त नगरिएको भए पार्टीको हालत यस्तो नहुने बताएका थिए। उनका अनुसार कटुवाललाई बर्खास्त गर्न दबाब दिने तत्कालीन माओवादी नेताहरू डा. बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ हुन् ।

दुवै जना हाल माओवादीमा छैनन् । प्रचण्डसँग असन्तुष्टि जनाउँदै माओवादीबाट अलग भएका भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष छन् । थापा भने नेकपा एमालेको उपाध्यक्ष छन् । यी २ नेताले दबाब दिँदा ३ महिनापछि सेवा निवृत्त हुने क्रममा रहेका कटुवाललाई क्रान्तिकारी बनेर बर्खास्त गरिएको प्रचण्डले स्वीकार्न थालेका छन्। कटुवाललाई बर्खास्त गरेपछि भने प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो। राजीनामा दिनुपर्ने अवस्था आउनुमा भने राष्ट्रपति डा. रामवरण यादवले कटुवालको पक्षमा उभिनु पनि थियो। यादवले त्यतिबेला कटुवाललाई पत्र लेख्दै पदमा अडिग रहन र प्रधानमन्त्रीको आदेश उल्लङ्घन गर्न भनेका थिए। अर्को, कारण तत्कालीन एमाले नेता झलनाथ खनालले बर्खास्त गर्ने कदममा पहिले साथ दिने भन्नु र पछि विरुद्धमा उभिनु पनि थियो।

बर्खास्तविरोधी माहोल भने भारतले बनाएको माओवादीको विश्लेषण छ। पहिलो गणतान्त्रिक प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड कटुवाललाई आफैँले गरेको कारबाहीप्रति १४ वर्षपछि पश्चताप गर्दै छन् । कारबाही नगरिएको भए माओवादी पार्टी यो हालतमा आइनपुग्ने उनको ठम्याइ छ । हुन पनि तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०६९ सालको असारमा उपाध्यक्ष मोहन वैद्य ‘किरण’ नेतृत्वमा पार्टीको एउटा पंक्ति अलग भयो । यसले २०७० सालको संविधानसभा निर्वाचनमा माओवादीलाई ठूलो क्षति पुग्यो। पहिलो संविधानसभा निर्वाचनमा पहिलो दल बनेको माओवादी तेस्रो दल बन्यो, त्यो पनि दोस्रो पार्टी एमालेसँगको ठूलो मतान्तरले । किरण अलग भएको ३ वर्षपछि ९ असोज २०७२ मा अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई पनि पार्टीबाट अगल भए । भट्टराईका कारण पनि पार्टीलाई क्षति पुग्यो । २०६५ सालयता यी २ नेताभन्दा कम प्रभावशाली धेरै नेता पनि माओवादी पार्टीबाट अलग भए ।

प्राध्यापक कृष्ण पोखरेललाई कटुवाल प्रकरणमा प्रचण्ड उग्र क्रान्तिकारी बनेको लाग्छ। त्यही कारण पार्टीमा टुटफुट निम्तिएको उनको विश्लेषण छ। अर्को कारण भने पार्टीमा सुनिएका असन्तुष्टिलाई सम्बोधन गर्न नसक्नु भएको उनले बताए। तर, युद्धमै रहन चाहने वैद्य, चन्दसहितका नेताहरूलाई भने शान्ति प्रक्रियामा ल्याउन सक्नु प्रचण्डको सफलता भएको बताए। ‘प्रचण्डजी कटुवाल प्रकरणमा अलिक उग्र क्रान्तिकारी बने। अनि, पार्टीका असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्न सकेनन् । टुटफुटको कारण यिनै हुन्’, प्राध्यापक पोखरलले भने, ‘तर, युद्धमै रहन चाहने वैद्य, विप्लवलगायत नेतालाई शान्ति प्रक्रियामा ल्याउन सके । यो उनको सफलता हो ।’ प्रचण्ड नेतृत्वको माओवादी १२ बुँदे विस्तृत शान्ति सम्झौतापछि शान्ति प्रक्रियामा आएको हो ।

शान्ति प्रक्रिया आएलगत्तै २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ठूलो दल बन्यो । तर, माओवादीले बहुमत प्राप्त गरेन । बहुमत प्राप्त नगरेपछि प्रचण्डले तेस्रो दल एमालेसँग गठबन्धन सरकार गठन गरे । गठबन्धन सरकारको प्रधानमन्त्री भएको ६ महिनामै प्रचण्डले प्रधानसेनापति कटुवाललाई बर्खास्त गर्ने कदम चाले । अन्नतः बर्खास्त गर्दा आफू पनि पहिलो गणतान्त्रिक प्रधानमन्त्रीको हैसियतबाट राजीनामा दिँदै अलग हुन बाध्य भए प्रचण्ड । यसैलाई प्रचण्डले माओवादी पार्टी विभाजनको आधार भएको विश्लेषण गर्दै आएका हुन् । र, आजसम्म पनि प्रचण्ड त्यही ‘रुक्माङ्गद प्रकरण’ सम्झिएर बेलाबेला झस्किइरहन्छन् ।

उनी त्यसबेला राष्ट्रपतिको दौडमा थिए । तत्कालीन समयमा ‘भित्ते राष्ट्रपति’को आलोचना खेपेका प्रचण्ड प्रधानमन्त्री त बने तर संसदीय अभ्यासको पर्याप्त ज्ञान नहुनुको दुर्भाग्य, उनी प्रधानसेनापति हटाउनेदेखि पशुपतिका मूल भट्ट हटाउनेसम्मका सामान्य खेलमा लागेर छोटो समयमै प्रधानन्त्रीको कुर्सीबाट बिदा भए ।

प्रतिक्रिया दिनुहोस्