मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलमा आर्मी र सुदूरपश्चिमको विजयी सुरुवात



धनगढी । मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत उदघाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएको हो ।
पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो। आर्मीले कर्णालीलाई २५–१८,२५–१० र २५–१६ को सेटमा हराएको हो । यस्तै सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गरेका थिए । आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ ।
उनका अनुसार प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्