फर्नान्डोको शतकमा वेस्ट इन्डिजलाई विशाल लक्ष्य



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेस्ट इन्डिजलाई जितका लागि ३ सय ३९ रनको विशाल लक्ष्य दिएको छ। इङ्ल्याण्डको चेस्टरमा टस हारेर ब्याटिङको निम्ता पाएको श्रीलंकाले पूरै ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनायो। जारी विश्वकपमा श्रीलंकाको लागि यो सर्वाधिक योगफल हो।

श्रीलंकाका लागि अभिस्का फर्नान्डोले शतकीय इनिङ खेले। १०३ बलको सामना गरेका फर्नान्डोले ९ चौंका र २ छक्कासहित १०४ रनको योगदान दिए। फर्नान्डोले आफ्नो वान डे करियरको पहिलो शतक पूरा गरे। जारी विश्वकपमा श्रीलंकाबाट शतक प्रहार गर्ने फर्नान्डो पहिलो खेलाडी हुन्। 

ओपनर कुशल परेराले अर्धशतक प्रहार गरे। ५१ बल खेलेका परेराले ८ चौंकासहित ६४ रन बनाए। त्यस्तै लाहिरू थिरिमानेले ३३ बलमा ४ चौंकासहित नटआउट ४५, कुशल मेन्डिसले ४१ बलमा ४ चौंकासहित ३९, अर्का ओपनर दिमुथ करुनारत्नेले ४८ बलमा ४ चौंकासहित ३२ र एन्गेलो म्याथ्युजले २० बलमा २ चौंका र १ छक्कासहित २६ रन बनाए। इसुरु उदना ३ रनमा आउट हुँदा धनन्जय डी सिल्भा ६ रनमा नटआउट रहे।

वेस्ट इन्डिजका लागि जासन होल्डरले २ तथा सेल्डन कोट्रेल, ओसाने थोमस र फाबियन एलेनले समान १–१ विकेट लिए। दुवै टिम सेमिफाइनलबाट बाहिरिसकेका छन्। अंक तालिकामा श्रीलंका सातौं र वेस्ट इन्डिज नवाै‌ स्थानमा छन्। श्रीलंकाले ७ खेलबाट ६ अंक जोडेको छ। यता वेस्ट इन्डिजले ७ खेलबाट ३ अंक जोडेको छ। 

प्रतिक्रिया दिनुहोस्