उर्जावान सरिता थुलुङलाई पारा स्पोर्टस अनर



काठमाडौं । फुटबल, ह्विलचियर बास्केटबल, पौडी, पावर लिफ्टिङकी खेलाडी सरिता थुलुङ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारा स्पोर्ट्स अनरबाट सम्मानित भएकी छिन् । तीन वर्षको उमेरमा पोलियो भएपछि एउटा खुट्टा गुमाएकी सुनसरीकी सरिताले त्यसका बाबजुद अथक संघर्ष गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेकी छिन् ।

पारा फुटबलबाट खेलकुद करियर सुरू गरेकी सरिताले ह्विलचियर बास्केटबल, पौडी, पावर लिफ्टिङमा पनि आफूलाई प्रमाणित गरिसकेकी छिन् । त्यसैले राष्ट्रिय स्तरमा यी सबै खेलमा सहभागिता जनाएको कुनै पनि प्रतिस्पर्धामा उनी दोस्रो हुनु परेको छैन । लन्डनमा भएको विश्व पारा च्याम्पियसिप र सिंगापुरमा भएको पारा प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरेकी सरिता ‘खेलमा उर्जा छ, जीवन बदल्ने क्षमता छ,’ भन्ने मान्यता राख्छिन् ।

ह्विल चियरमा फनफनी नाचेर उनले कैयन् पारा खेलाडीहरूमा उर्जा भरेकी छिन् । गतवर्ष टोकियो पारा ओलम्पिकमा छानिए पनि पदाधिकारीको गम्भीर त्रुटीका कारण उनी खेल्नबाट वञ्चित भएकी थिइन् । एउटा खेलाडीको लागि यो ठूलो चोट थियो । तर, ३८ वर्षीया यी खेलाडी अझै पनि हरेस नखाएको बताउँछिन् ।

‘दुखी बनेर समय खेर फाल्नै हुन्न । जबसम्म हामीले आफैलाई विश्वास गर्दैनौं, हारको सुरुवात त्यहीँबाटै हुन्छ,’ उनी भन्छिन् । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारा स्पोर्टस अनरको सम्मानसँगै सरिताले नगद ५० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्