रणनीति सकेर मैदानमा एमाले



काठमाडौं । सत्तारुढ गठबन्धन कमजोर रहेको विश्लेषण गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धनबिना निर्वाचनमा जाने भएको छ।निर्वाचनबाट पहिलो हुन कुनै दलको सहारा आवश्यक नहुने निष्कर्षका आधारमा राष्ट्रिय नीतिको रूपमा तालमेल नहुने एमालेले स्पष्ट पारेको छ। मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीले एमालेसँग तालमेल गर्न चाहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि एमालेसँग तालमेल गर्न चाहन्छ । तर, बुधबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले तालमेलबिना निर्वाचनमा जाने निर्णय गरेको हो । तैपनि स्थानीय अनुकूलतामा तालमेल गर्ने ढोका भने बन्द नगरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। स्थानीय निर्वाचनलाई एमालेले पार्टीको प्रतिष्ठासँग जोडेको छ । जसरी पनि निर्वाचन जित्नेगरीको उम्मेदवार छनोट गर्ने पनि भएको छ।

छनोट गर्न ६ वटा मापदण्ड तोकेको छ। ती हुन्- पार्टी नीति र कार्यक्रप्रतिको प्रतबद्धता, निर्वाचित जनप्रतिनिधिको मूल्याङ्कन, लोकप्रियता र विजयप्रतिको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्य क्षमता विकास र सुशासनप्रतिको दृष्टिकोणसँगै सन्तुलन र समावेशिता । उम्मेदवार सिफारिस गर्ने र निर्णय गर्ने कमिटीले यी ६ वटा मापदण्डलाई अनिवार्य पालना गर्नुपर्नेछ । यी आधारमा उम्मेदवार छनोट गरिँदा निर्वाचन जित्न मुस्किल नपर्ने एमालेको निष्कर्ष छ । उम्मेदवार छनोटको समयसीमा पनि एमालेले तोकेको छ । चैत मसान्त उम्मेदवार छनोटको समयसीमा हो। तर, यसअघि भने अध्यक्ष केपी शर्मा ओलीले देशभरका ७५३ वटा स्थानीय तहको पार्टी कमिटीका प्रतिनिधिहरूलाई सम्बोधन गर्ने भएका छन्।

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले १६ चैतमा एकै पटक सबै स्थानीय तहका पार्टी प्रतिनिधिहरूसँग भर्चुअल सम्वाद गर्ने निर्णय भएको छ’, प्रचार विभाग उपप्रमुख रिजालले भने । एमालेले वडा अध्यक्ष र सदस्यहरूको उम्मेदवार वडा र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले टुंग्याउने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाको प्रमुख/उपप्रमुखको उम्मेदवार पार्टीको सम्बन्धित तहको सिफारिसमा प्रदेश कमिटीबाट निर्णय गर्ने पनि निर्णय गरेको छ। पार्टीका उपमहानगर र महानगरको उम्मेदवारका लागि सम्बन्धित तहको पार्टी, जिल्ला र प्रदेश कमिटीको सिफारिस आवश्यक हुने एमालेले जनाएको छ।

पार्टीको ३ तहबाट आएको सिफारिसको आधारमा मात्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गर्ने भएको छ। उम्मेदवारका लागि १ महिलासहित ३ जनाको नाम पार्टीका कमिटीहरूले सिफारिस गर्नुपर्नेछ । पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीति प्रतिवेदनमार्फत नेता, कार्यकर्तालाई उत्साहित बनाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र स्वतन्त्र मधेसको पक्षमा उभिएका सीके राउतलाई मूलधारको राजनीतिमा ल्याएकोदेखि सामाजिक सुरक्षा कार्यक्रमको दायरालाई बढाएको लगायत १८ वटा आधारमा एमालेले निर्वाचन जित्ने उनको दाबी छ।

ओलीले मधेस प्रदेशमा अप्रत्याशित रूपमा जनलहर सिर्जना भएको पनि बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्। मधेसको जनलहरले अन्ततः राष्ट्रिय शक्ति सन्तुलन बदल्ने पनि उनको विश्वास छ। प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, राजीनामा दिएर मात्र जनप्रतिनिधिले उम्मेदवारी दिनुपर्ने निर्वाचन आचारसंहिता लगायतप्रति पनि ओलीले विरोध गरेका छन् ।
पढाए ओलीले
अध्यक्ष ओलीले बैठकमा नेता, कार्यकर्ताहरूलाई सदाचारका ७ नीति अपनाउन निर्देशन दिएका छन्। ती नीतिलाई अनिवार्य पालना गरेको अवस्थामा सच्चा कम्युनिस्ट पार्टी एमाले हुने बताए। ओलीको पहिलो सदाचारको नीति हो, ‘आसन ग्रहणको लोभ नगरौँ र वक्ता संख्या कार्यक्रममा घटाऔँ ।’

कार्यक्रममा धेरै नेतालाई आसन ग्रहण गरिँदा मञ्च भरिने र कार्यक्रम पनि लामो हुने गरेको बताए, जसले कार्यक्रमलाई भद्धा बनाउने उनको भनाइ छ । यसका अतिरिक्त उनले अपनाउन निर्देशन दिएका अन्य सदाचारका नीतिहरू यस्ता छन् ।
– स्थानीय फूल प्रयोग गरौँ, खादाको तमासा नगरौँ ।
– नेता खोपीको देउता र हाकिम नबनौँ ।
– कुरा नकाटौँ र मित्रता गरौँ ।
– सरल जीवनशैली अपनाऔँ र अध्ययन बढाऔँ ।
– सकारात्मक सोचौँ, मस्तिष्क सफा राखौँ ।
– मान्छेको मन जितौँ, दुःखमा पुगौँ ।

प्रतिक्रिया दिनुहोस्