बेयरस्टोको शतकमा न्युजिल्याण्डलाई फराकिलो लक्ष्य



काठमाडौं : १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली इङ्ल्याण्डले न्युजिल्याण्डसामु जितका लागि ३ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ। म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएपछि न्युजिल्याण्डले जितका लागि ३०६ रनको लक्ष्य पाएको हो।

इङ्ल्याण्डका लागि ओपनर जोनी बेयरस्टोले शतकीय योगदान दिए। ९९ बल खेलेका बेयरस्टोले १५ चौंका र १ छक्कासहित १०४ रन बनाए। योसँगै बेयरस्टोले आफ्नो वान डे करिअरको नवौं तथा जारी विश्वकपमा दोस्रो शतक पुरा गरे। बेयरस्टोले यसअघि भारतसँगको खेलमा पनि शतक प्रहार गरेका थिए। विश्वकपका लगातार खेलमा शतक प्रहार गर्ने उनी इङ्ल्याण्डका पहिलो खेलाडी समेत बनेका छन्।

अर्का ओपनर जेसन रोयले अर्धशतक प्रहार गरे। १९.४ ओभरमा क्याच आउट हुनुअघि रोयले ६१ बलमा ८ चौकासहित ६० रनको योगदान दिए। त्यस्तै कप्तान इयोन मोर्गनले ४० बलमा ५ चौंकासहित ४२, जोइ रुटले २५ बलमा १ चौंकासहित २४, आदिल रसिदले १२ बलमा १ चौंकासहित १६, लाइम प्लुन्केटले १२ बलमा १ चौंकासहित १५ तथा बेन स्टोक्स र जस बट्लरले समान ११–११ रनको योगदान गरे। क्रिस वक्स ४ रनमा आउट हुँदा जोफ्रा आर्चर १ रनमा नटआउट रहे।

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स निशमले समान २–२ विकेट हात पारे। त्यस्तै मिचेल स्यान्टनर, टिम साउथीले समान १–१ विकेट लिए। 

आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन्। सेमिफाइनल यात्राका लागि दुवै टोलीलाई आजको खेलमा जित्नै पर्ने दबाब छ। किनकी दुवै टोलीको यो अन्तिम खेल हो। यस खेलमा पराजित हुने टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बन्नेछ।

लिगको ८ खेलमा ५ जित र २ हार व्यहोरेको न्युजिल्याण्ड ११ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। समान खेलबाट ५ जित तथा ३ हार व्यहोरेको इङ्ल्याण्ड ११ अंकसहित चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्