किन उत्साहित छन् ओली ?



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्थानीय निर्वाचनमा एमालेलाई कडा टक्कर दिने दल नभएको बताउँदै आएका छन् । उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमता शून्य’ पनि भनेका छन् ।

शनिबार त उनले निर्वाचन आयोगमा दर्ता भएका सबै दल एक ठाउँमा उभिए पनि एमालेलाई निर्वाचन जित्न चुनौती नहुने दाबीसमेत गर्न भ्याए। उनको उक्त अभिव्यक्ति त्यसबेला आएको छ, जतिबेला कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको निरन्तरता स्थानीय निर्वाचनमा हुने बहस चलिरहेको छ। र, गठबन्धनका नेताहरूले ओलीलाई प्रतिगमनकारीको रूपमा चित्रित गर्दै उनी र उनको पार्टी एमालेलाई निर्वाचनमा पराजित गर्नु अनिवार्य ठानेका छन् । गठबन्धनको औचित्य नै एमालेलाई हराउन रहेको भनिँदै आएको छ। तर, ओली स्थानीय तहमा पहिलेभन्दा बढी ठाउँमा एमालेले निर्वाचन जित्ने ठोकुवा गर्छन् ।

बुधबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले निर्वाचन जित्ने १८ वटा आधार प्रस्तुत गरे। फेरि, ओली ती नेता हुन्, जसले दुई तिहाइ नजिक बहुमत भएको शक्तिशाली पार्टी नेकपाको तर्फबाट प्रधानमन्त्री हुँदा २ पटक संसद् विघटन गरे। सोही कारण ओली सत्ताबाट बाहिरिए। अर्कोतिर उनको पार्टी एमाले यस पटक सग्लो छैन। विभाजित छ। वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमालेका सांसद र नेता, कार्यकर्ता ओलीले गरेको संसद् विघटनलाई प्रतिगमन भन्दै अलग भए र नेकपा (एकीकृत समाजवादी) बनेको छ। यस्तो अवस्थामा पनि ओलीले ‘एमाले पहिलो दल हुन्छ’ भनिरहनुको अर्थ के हो ? के स्थिति ओलीले भनेजस्तै छ ? यी २ प्रश्नको जबाफ दिँदै बाम राजनीतिक विश्लेषक भीम भुर्तेल भन्छन्, ‘ओलीले जनमत बनाउन त्यसो भनेका हुन् ।

उनले ओलीले भनेजति जित्न सक्ने स्थिति छैन।’ उनका अनुसार निर्वाचनमा पार्टी पंक्तिलाई उत्साहित बनाउन नेताले त्यसो भन्नुपर्छ । ओलीले सोहीअनुसार भनेको उनको भनाइ छ। ‘दाबी गरेजति जित्न त सक्ने देख्दिनँ । बढाइचढाइ गरेर भनेका हुन् तर उनले भनेको ७० प्रतिशतमा ४० प्रतिशत बढी ठाउँचाहिँ जित्न सक्छ एमालेले। त्यति जित्न सक्ने पार्टीले ७० प्रतिशत जित्छु भन्नु अपराध होइन । नेताले कार्यकर्तालाई उत्साहित गर्न पनि यसो भन्नुपर्छ’, भुर्तेलले भने। अघिल्लो पटक एमालेले ७५३ मध्ये २९३ वटा स्थानीय तह जितेको थियो । पछि माओवादीबाट ३ स्थानीय तहका प्रमुख एमालेमा गएपछि भने २९६ पुगेको छ। आगामी ३० वैशाखमा हुने निर्वाचनमा भने अझ बढी स्थानीय तहमा निर्वाचत जित्ने ओलीको ठोकुवा छ। ओलीले यसरी एक्लै निर्वाचनमा जाँदा पनि एमालेले जित्ने दाबी गरिरहँदा सत्तारुढ गठबन्धनका नेताहरू भने गठबन्धनबिना जित्न नसकिने बताइरहेका छन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारणसभामा गठबन्धन अनिवार्य रहेको बताए । गठबन्धन निर्वाचन जित्न र कांग्रेस पहिलो दल बन्न आवश्यक हुने उनको तर्क छ । सोही पार्टीका नेता डा. शेखर कोइराला भने कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । शेखर विपक्षमा रहँदा देउवाले गठबन्धनको औचित्य प्रष्ट्याउँदै भने, ‘शेखरजी स्वयं हार्नुभा’ हो । जित्नका लागि गठबन्धन हुनुपर्छ ।’

जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पनि गठबन्धन आवश्यक हुने बताएका छन् । सत्ता नेतृत्व दल भए पनि देउवालाई एमाले–माओवादी मिल्न सक्ने डर छ । २०७४ सालमा यी २ दल मिल्दा कांग्रेस दोस्रो दलमा सीमित भयो । यस आधारमा गठबन्धनलाई देउवाले अनिवार्य ठानेका छन् । सत्ता गठबन्धनकै अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एक्लै निर्वाचनमा जान चाहेका छैनन् । एक्लै जाँदा निर्वाचन हार्ने डर उनलाई छ। किनभने एमाले जस्तै माओवादी पनि पटकपटक विभाजित बन्दै आएको छ भने माओवादीकै कतिपय प्रभावशाली नेता नेकपालाई सर्वोच्च अदालतले छिन्नभिन्न पारिदिएपछि एमालेतिर बसेका छन्।

शनिबार गोरखाको बारपाक सुलिकोट गाउँपालिका पुगेर उनले गठबन्धन गरेर भए पनि निर्वाचन जित्नुपर्ने बताए । निर्वाचन हारे राजनीतिक उपलब्धिहरू गुम्ने उनको तर्क छ। ‘अरूलाई जित्दा वा हार्दा फरक पर्दैन। हाम्रालागि आउँदै गरेको चुनाव लडाइँ हो, हामीले हार्दा गणतन्त्र हार्छ । समावेशी समानुपातिक, सयौँ वर्षदेखिको अत्याचारमा राखिएको वर्ग, समुदायको हक, अधिकार खोसिन्छ र हामीले जित्दा त्यो बच्नेछ’, प्रचण्डले भने। नेकपा एस त गठबन्धनमा अधिक जोड दिने पार्टी हो। एक्लाएक्लै निर्वाचनमा गए पार्टीलाई निर्वाचन जित्न मुस्किल पर्ने उक्त पार्टीको आँकलन छ । सोही कारण प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा गठबन्धन गर्नेबारे दलहरूबीच सम्वाद गर्न समिति गठन गर्न लागिएको बताएका छन् ।

जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि गठबन्धनको पक्षमा छन् । मधेसकेन्द्रित दलहरू पनि मधेसमा एमालेको पक्षमा जनलहर बढिरहेको बताउँदै एमालेलाई तालमेलका लागि फकाइरहेका छन् । यी सबै दृश्य र अवस्थालाई देखिरहँदा पनि एमाले अध्यक्ष ओलीमा देखिएको ‘उत्साह’ अनौठो र अपत्यारिलो लाग्ने गरेको केही राजनीतिक विश्लेषकहरू बताइरहेका छन् । तर, ओलीमा भने उत्साह झनै बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्