रोहितले हानेको छक्काले लाग्यो प्रशंसकलाई चोट, दिए उपहार



काठमाडौं : क्रिकेट विश्वकपमा मंगलवार भारत र बंगलादेशबीच भएको खेलमा भारतीय ब्याट्स्म्यान रोहित शर्माले हानेको छक्काले एक प्रशंसक घाइते भएकी छन् । कुल ९२ बलमा १०४ रन बनाएका रोहितले सात चौका र पाँच छक्का प्रहार गरेका थिए । त्यसमध्ये एक छक्काको क्रममा बल मीना नामक भारतीय टीमकी समर्थकमाथि बज्रियो । 

म्याच सकिएपछि रोहितले यसको जानकारी पाए । अनि उनले मीनाको हालचाल सोधे र आफूले हस्ताक्षर गरेको एउटा टोपी उनलाई दिए । रोहितले अलिकति मस्ती गर्दै मीनालाई क्याच समात्ने सही तरिका पनि सिकाए । राम्ररी क्याच गरे यस्तो दुर्घटनाको शिकार नहुने उनले बताए । मीना निकै खुशी भइन् । 

अहिले रोहित गजबको फर्ममा छन् । विश्वकपमा चार शतक लगाउने पहिलो भारतीय ब्याट्स्म्यान रोहित बनेका छन् । यस विश्वकपमा सबभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा छन् । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्