अफगानिस्तान विश्वकपबाट जितबिहिन बाहिरियो



अफगानिस्तान आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा जित बिहिन बनेको छ । यसअघि नै बाहिरिएको अफगानिस्तान बिहिबार राति भएको अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भयो । वेस्ट इन्डिजको भने यो दोस्रो जित हो । वेस्ट इन्डिजपनि यसअघिनै विश्वकपबाट बाहिरि सकेको छ ।

वेस्ट इन्डिजले दिएको तीन सय १२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै दुई सय ८८ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इक्रम अली खिल र रमात साहले अर्धशतकीय रन बनाए । खिलले आक्रामक ब्याटिङ गर्दै ८६ रन बनाए ।

रमातले ६२ रन बनाए । अस्घर अफघानले ४०, नाजिबुल्लाह जाडरनले ३१ र सैयद सिर्जादले २५ रन बनाए । वेस्ट इन्डिजका कार्लोस बेथवेटले चार विकेट लिए । केमार रोचले तीन तथा क्रिस गेल र ओसाने थोमसले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ११ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि इभिन लेविस, साई होप र निकोलस पुरनले अर्धशतकीय रन बनाएका थिए । साई होपले ७७ रन बनाए । लेविस र पुरनले समान ५८ रन बनाए । कप्तान जासन होल्डरले ४५, सिमरन हेटमायरले ३९, कार्लोस बेथवेटले १४ रन बनाएका थिए ।  प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले सात रन बनाएका थिए । अफगानिस्तानका दौलत जाडरनले दुई विकेट लिए । सैयद सिर्जाद, मोहम्मद नाबी र रासिद खानले एकएक विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्