सिंगापुरमाथि फराकिलो जितसहित नेपाल समूह विजेता



काठमाडौं : नेपाल समूह ‘ए’ को विजेता बन्दै एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरिसकेको थियो। नेपालले अब आगामी सोमबार फाइनल प्रवेशका लागि समूह ‘बी’ को उप विजेतासँग खेल्ने छ। नेपालसँग पराजित सिंगापुर समूह उपविजेता बनेको छ। अब सिंगापुरले फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग खेल्नेछ। 

नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.२ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो। सिंगापुरका लागि हरि कुकरेजाले सर्वाधिक ३० रनको योगदान दिए। यस्तै कन्नुस्वामी सतिशले २४ तथा चन्द्रमाउली श्रीदेबले २३ रन बनाएपनि अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कुशल मल्लले सर्वाधिक ४ विकेट लिए। यस्तै तिलकराज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले १–१ विकेट लिए।  

यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ४ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको थियो। नेपालका लागि ओपनर रित गौतमले शतकीय इनिङ खेले। १३७ बलको सामना गरेका रित १० चौका र १ छक्कासहित १ सय १५ रनमा नटआउट रहे। रितले १३१ बलमा शतक पुरा गरेका थिए।

डेब्यु खेलाडी खडक बोहोराले ९० रनको योगदान दिए। शतक बनाउन मात्र १० रनले चुकेका खडकले ९० बलमा १२ चौका प्रहार गरे। दोस्रो विकेटका लागि खडक र रितले १ सय ३१ रनको साझेदारी गरेपछि नेपाल बलियो योगफलतर्फ लम्किएको थियो।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै २३ बलमा ४ चौका र ५ छक्कासहित ५१ रनमा नटआउट रहेपछि नेपालले विशाल योगफल तयार पारेको हो। कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का सहित २२ रन जोडेका थिए।

त्यस्तै ओपनर पवन सर्राफले ४१ बलमा १० चौकासहित ४५ रनको योगदान दिए। कप्तान रोहितकुमार पौडेल ७ रनमा क्याच आउट हुँदा डेब्यू खेलाडी विशाल बिक्रम केसी भने १ रनमा बोल्ड आउट भए। सिंगापुरका लागि प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान २–२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्