कांग्रेसले दियो तालमेलको जिम्मा स्थानीयलाई



काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने-नगर्ने लामो बहसपश्चात नेपाली कांग्रेसले गठबन्धनका लागि मार्ग प्रशस्त गरेको छ ।
गठबन्धनको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेसँगै तालमेलको पक्ष र विपक्षमा रहेका दुवै समूहको भावना समेटिएको हो । निर्वाचनको तालमेलको निर्णय केन्द्रबाट गर्दा स्थानीय तहमा नकारात्मक सन्देश प्रवाह भएर पार्टी संरचनालाई नै असर गर्ने भए पछि पार्टी केन्द्रीय समितिले बैठकले मध्यमार्गी निकास खोजेको हो ।
कांग्रेसको यस्तो निर्णयले सत्ता साझेदार दलहरूलाई लोभ्याएको मात्र छैन, आफ्ना उम्मेदवार जिताउनका निम्ति सत्ताबाहिरका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि तालमेल गर्न सकिने विकल्प पनि खुला छाडेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जाने सर्वसम्मत निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर केन्द्रीय सदस्यहरू निर्वाचनमा तालमेलको पक्षमा थिए । संस्थापनइतर खेमाका डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायत भने गठबन्धनको विपक्षमा रहँदै आएका थिए । पक्ष र विपक्षको यस्तै अडानका कारण चुनावी रणनीति तय गर्न गत शुक्रबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक लम्बिएको थियो ।

‘बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने नीतिगत निर्णय गर्छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनमा मुख्य प्रतिस्पर्धा एमालेसँग हुने बताएका सभापति देउवा, वरिष्ठ नेता पौडेललगायतले एमालेलाई पराजित गर्न अन्य दलसँग तालमेल गर्नुपर्नेमा जोड दिएका थिए ।
कांग्रेसको औपचारिक निर्णय कुरेर बसेका सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यसअघि नै चुनावी तालमेलको पक्षमा खुलिसकेका छन् ।
कांग्रेसले औपचारिक निर्णय गर्नु अगावै गठबन्धन दलका कैलाली, अर्घाखाँची, कास्की, धनकुटा, तेह्रथुमलगायत १० भन्दा बढी जिल्ला स्थानीय तहमा तालमेल गर्ने निर्णय गरिसकेका छन् । अघिल्लो निर्वाचनमा माओवादीलाई सघाएको कांग्रेसले यस पटक चितवनमा आफू पन्छिन नहुने सो क्षेत्रका केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय तहबाट आएको सुझाव र गठबन्धनमा रहेका अन्य दलहरूसँग सल्लाह गरेर पार्टीले तालमेलको अन्तिम निर्णय गर्ने प्रवक्ता महतले बताए । निर्वाचनका लागि कांग्रेसले उपाध्यक्ष पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन केन्द्रीय परिचालन समिति र प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ ।
खड्का र महत सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् । यसअघि महामन्त्री गगन थापा स्थानीय तह निर्वाचन घोषणापत्र तयारीका लागि संयोजक तोकिएका छन् ।
गत ३ फागुनमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्दै सभापति देउवाले खड्का र महतलाई यस्तो जिम्मेवारी तोकेका कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको बैठकले देशव्यापी रुपमा पार्टी सदस्यता र क्रियाशील सदस्यतासमेत वितरण गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्