युक्रेनको राजधानी किभमा आक्रमण रोक्ने रुसको घोषणा



किभ । रुसले युक्रेनी राजधानी किभ आसपासको क्षेत्रमा आक्रमण उल्लेख्य रुपमा घटाउने घोषणा गरेको छ । टर्कीमा युक्रेनसँगको वार्ता सकारात्मक बनेको सन्देश आएलगत्तै रुसले आपसी विश्वासको वातावरण बनाउन भन्दै राजधानी युक्रेन र उत्तरी शहर चर्नीभमा आक्रमण घटाउने बताएको हो । तर कुन मात्रामा र कसरी आक्रमण घटाउने हो भन्ने चाहीँ अझै अस्पष्ट नै छ ।

युक्रेनी राजधानी घेरा हालेर बसेको रुसी सेनाले पटक पटक युक्रेनी सेनाबाट धक्का पनि खाँदै आएको छ भने रुसी सेनाले किभबाट रुसी सिमा जोडिने दक्षिणी भू–भागमा कब्जा जमाउने उद्देश्य राखेको विश्लेषण गर्ने गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसी भनाइमा विश्वास गरिहाल्ने अवस्था नरहेको बताएका छन् ।

उता, अमेरिकाले पनि रुसको घोषणा अनुसार रुसी सेना तत्काल किभको सिमाबाट हट्ने संकेत नदेखिएको भन्दै थप सतर्क रहन युक्रेनी सेनालाई सल्लाह दिएको छ । यता, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसले फरक रणनीति अपनाउन सक्ने भन्दै आक्रमण रोकिएको यथेष्ट प्रमाण नदेखिएसम्म विश्वास गर्न नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्