प्रदूषण : समस्या र चुनौतीहरू



डा. केदार कार्की । संयुक्त राष्ट्रसंघका अनुसार १० मध्ये ९ जनाले प्रदूषित हावामा स्वास फेर्ने भएकाले मृत्युको एक मुख्य कारण पनि वायु प्रदूषण बनेको छ । प्रदूषणले ग्रस्त वायुमा देख्न नसकिने ससाना कणहरू स्वास फेर्दा सिधै फोक्सोमा पुग्छन् । यसले क्यान्सर, निमोनिया, मुटुरोग साथै प्राणघातक रोग निम्त्याउने गर्छ । विश्व स्वास्थ्य सङ्गठनले गरेको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिहरूको मृत्यु हुने गर्छ ।

वायु प्रदूषण हुने विभिन्न कारणहरू छन्, जसमा घरायसी काम, कृषिजन्य पदार्थ, कल कारखाना तथा सवारी-साधनबाट निस्कने धुवाँ-धुलो र अन्य फोहोरहरू पर्छन् । खासगरी शरद ऋतुसँगै बाली भित्र्याउने याम पनि सुरु हुन्छ । खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्नका लागि उनीहरूले त्यसमा आगो लगाउँछन्, जसबाट निकै विषालु धुवाँ वायुमण्डलमा बाक्लिन्छ । यसरी निस्कने धुलो-धुवाँ वायुमण्डलमा मिसिन्छ र ओजोन तहलाई पातलो बनाउँछ ।

ओजोन तह पातलिएपछि सूर्यका विकिरण सोझै पृथ्वीमा पर्ने भएकाले सम्पूर्ण प्राणी र प्रकृतिलाई नै यसले असर गर्छ । प्रदूषणलाई रोक्न नसके पनि यसलाई न्यूनीकरण गर्न विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसंघ मिलेर काम गरिरहेका छन् । यी २ संघ मिलेर मुख्य गरी जल र वायु प्रदूषणमा केन्द्रित रहेर काम गरिरहेका छन् । पछिल्लो समय वातावरणमा नकारात्मक परिवर्तन देखिँदै आएको छ ।

अध्ययनका अनुसार अस्पतालमा आउने बिरामीहरू वातावरण प्रदूषणको कारणले बढ्दै गइरहेकोे देखिन्छ । वायु प्रदूषणको प्रकोप ठूलाभन्दा पनि साना बालबालिका र बूढापाकामा बढी परेको देखिन्छ । स्कुल जाने बालबालिकाले मास्कको प्रयोग गरे पनि प्रदूषित हावापानीले उनीहरू शारीरिक तथा मानसिक रूपले कमजोर हुँदै गएका छन् । बढ्दै गएको वातावरणीय समस्याले चाँडै नै प्राकृतिक सम्पदाहरू नष्ट हुने वातावरणविज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यसरी बढ्दै गइरहेको प्राकृतिक सम्पदाहरूकोे विनाशलाई कम गर्नका लागि वातावरणीय क्षेत्रमा काम गर्ने संघसंस्था र विज्ञहरू लागिपरेका छन् ।

बढ्दो वातावरण हाम्रो वातावरणमा भएका सम्पूर्ण तŒवहरूको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदूषण हो । वातावरणीय प्रदूषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुहरूका अनावश्यक परिवर्तनलाई बुझिन्छ । वातावरणीय प्रदूषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ । प्राचीन विश्वमा वातावरण मात्र प्राकृतिक परिवर्तनहरूका कारण परिवर्तित हुन्थ्यो अनि वातावरणमा हुने प्रदूषण पनि प्राकृतिक प्रदूषण हुने गथ्र्यो ।

तर, आज पृथ्वीमा भइरहेको जनसंख्या बृद्धि प्रदूषणको मुख्य कारक बनिरहेको छ । जनसंख्याको बढ्दो चाप सँगसँगै प्रदूषणका समस्याहरू पनि बढ्दा देखिन्छन् । प्रदूषण आफैँमा एउटा समस्या हो भने प्रदूषणका कारण उत्पन्न हुने अन्य वातावरणीय समस्याहरू पनि छन् । वातावरणीय प्रदूषणकै कारण पृथ्वीको तापक्रममा वृद्धि भइरहेको, अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टि जस्ता विकराल समस्याहरू देखापरिरहेको कुरा वातावरणीय अनुसन्धानले पुष्टि गरेको छ । जस्ता अन्य ठूला समस्याहरू पनि अप्रत्यक्ष रूपमा प्रदूषणकै कारण भएका हुन् । प्रदूषणका कारण देखिने यस्ता समस्याहरूले वातावरणलाई थप प्रदूषित गरिरहेका हुन्छन् ।

प्रदूषणको प्रकृतिअनुसार प्रदूषणलाई प्राकृतिक कारणले हुने प्रदूषण जस्तै ज्वालामुखीबाट निस्कने धुँवा, धुलोले गर्ने प्रदूषण र मानवद्वारा हुने प्रदूषण (जस्तैः फोहोर मैला, आवाजहरू)मा छुट्याइन्छ । कुरा जे भए पनि प्राकृतिक प्रदूषणका अप्रत्यक्ष कारक पनि मानव नै हुन् । प्रदूषण हाम्रो वातावरणका हावा, पानी र जमिन सबैमा हुन सक्छ । यी सबै क्षेत्रका प्रदूषण प्रत्यक्ष वा अप्रत्यक्ष अन्तरसम्बन्धित रहन्छन् । त्यसैले यीमध्ये कुनै एउटा क्षेत्रमा हुने प्रदूषणको प्रत्यक्ष असर त त्यहाँ रहेका प्राणीलाई हुन्छ नै, अप्रत्यक्ष असर अन्य क्षेत्रका प्राणीलाई पनि हुन सक्छ । जस्तो : जमिनमा हुने प्रदूषणले जल प्रदूषणमा पनि भूमिका राख्छ अनि अप्रत्यक्ष असर जलचरलाई गर्छ ।

आजको विश्व निरन्तर विकासतर्फ उन्मुख छ । औद्योगिकीकरण, शहरीकरण, उन्नतिका सूचक मानिन्छन् । तर, तीब्र गतिमा भइरहेको यो विकास प्रक्रियाले बढाइरहेको प्रदूषण विकासभित्र विनास निम्त्याइरहेका छन् । आधुनिकीकरणसँगै फैलिरहेका उद्योग, कलकारखाना एकातर्फ विकासोन्मुखताका लागि आवश्यक रहे पनि अर्काेतर्फ त्यसबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापनका अभावमा देखिएका समस्या प्रदूषणका प्रमुख कारक बन्दै छन् ।

आज बढिरहेको प्रदूषणका नकारात्मक असरहरू अहिलेभन्दा पनि कालान्तरमा अझ बढ्न सक्ने देखिन्छ । यसकारण पनि वातावरणीय प्रदूषणलाई आमचासोको विषय बनाउनुपर्ने कुराले महत्व पाएको हो । अहिले विश्वको जनसंख्याको चाप निकै तीब्र छ । करिब १० हजार वर्षअघि पृथ्वीमा संख्या करिब ५० लाख भएकामा हाल यो संख्या ६ दशमलब ६ अर्ब पुगेको एक तथ्याङ्कले देखाउँछ । जनसंख्याको आँकडाअनुसार पृथ्वीमा प्रत्येक घन्टामा ९ हजार जना थपिन्छन् । अर्थात् १५० जना प्रतिमिनेटका दरले जनसंख्या वृद्धि भइरहेको छ ।

जनसंख्या वृद्धिसँगै मानिसका आधारभूत आवश्यकतामा पनि वृद्धि हुन्छन् । गास, बास, कपास जस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि पनि प्राकृतिक स्रोतहरूमाथिको परनिर्भरता बढ्ने कुरा सापेक्षित हुन्छ । वन–जंगल, वन्यजन्तु, खनिज आदि जस्ता प्राकृतिक स्रोतहरूमाथिको हस्तक्षेपमा पनि वृद्धि हुन्छ । फलतः वातावरणमा त्यसले झनै नकारात्मक असर पु¥याइरहेको हुन्छ ।

वन फडानी जनसंख्या वृद्धिको कारण विश्वमा उत्पन्न वातावरणीय समस्याको एउटा ज्वलन्त उदाहरण हो । मानिस आफू बाँच्नका लागि मात्र नभई पृथ्वीमै आधिपत्य जमाउन चाहन्छ । यसै सन्दर्भमा मानवले अन्य प्राकृतिक स्रोत सँगसँगै वन-जंगल, वन्यजन्तु जस्ता जीवित प्राणीका प्रजातिहरूसँग कुनै किसिमको प्रतिस्पर्धा गरिरहेको हुन्छ । यही क्रममा दिनानुदिन वन क्षेत्रमाथि हस्तक्षेप बढाएर त्यसलाई बासस्थान (आवास क्षेत्र) तथा कृषिका लागि प्रयोग गर्ने क्रम विकसित देशहरूमा मात्र होइन, विकसित देशहरूमा पनि बढ्दो छ ।

एकातर्फ वन क्षेत्र घटाएर त्यसलाई आवास क्षेत्र तथा कृषिभूमिका रूपमा परिणत गरिँदै छ भने अर्काेतर्फ शहरीकरणले धेरै खेतीयोग्य उर्वर भूमिहरू पनि आवासीय क्षेत्रमा बदलिँदै छन् । यसैले शहरीकरणका कारण पनि खेती उत्पादनको मात्रामा ह्रास आएको कुरालाई नकार्न सकिँदैन । खाद्यान्न समस्या पनि अर्को आर्थिक-वातावरणीय समस्या हो । शहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछन् भन्दा अत्युक्ति नहोला, यद्यपि, आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन् । आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका कामहरू निकै चुनौतीपूर्ण हुन्छन् ।

पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिहरूले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन् । त्यसकारण दिगो विकासका निम्ति वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता हो । आर्थिक विकास सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नु आमचुनौतीको विषय हो । यो चुनौती आज विकसित देशका लागि मात्र नभएर विकासोन्मुख राष्ट्रहरूका निम्ति पनि झनै टड्कारो रूपमा देखिन्छ । हाम्रो देश जस्तो अविकसित देशका लागि पनि वातावरणीय सन्तुलन कायम गर्नु एउटा चुनौतीपूर्ण कुरा हो ।

वातारणलाई सन्तुलन राख्नका निम्ति वातावरणीय प्रदूषण न्यूनीकरणका साथै विकासका पूर्वाधारहरूको उचित व्यवस्था विकासोन्मुख राष्ट्रहरूका लागि आर्थिक दृष्टिकोणले पनि चुनौतीपूर्ण छ । यद्यपि, प्रदूषणको विश्वव्यापी समस्या न्यूनीकरणका लागि यो एउटा सानो प्रयासले ठूलो भूमिका खेल्न सक्छ । आज विकसित राष्ट्रहरूमा फस्टाइरहेका उद्योग, कारखानाले गर्ने प्रदूषणको सिकार अविकसित देशहरू पनि भइरहेको कुरा यथार्थपरक छ । हामी आफैँले गरेको प्रदूषणको असर मात्र नभई अरूले गर्ने प्रदूषणको असर पनि खेप्नुपरिरहेको कुरा स्पष्ट छ ।

यसकारण वातावरणीय प्रदूषणको असर प्रदूषण गर्नेलाई मात्र होइन, नगर्नेहरूलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ । अन्ततः वातावरणीय प्रदूषणका कारण हुन सक्ने सम्पूर्ण खतराहरूप्रति सचेत हुनुपर्ने स्थिति वर्तमान विश्वभरि नै छ । हामी अविकसित देशका नागरिकहरूमा पनि यो चेतना हुनु जरुरी छ । प्रदूषण न्यूनीकरण गर्ने कुरामा आफू पनि चासो राखौँ र जनचेतना अभिवृद्धिका निम्ति पनि केही योगदान गरौँ ।

वातावरण जोगाउनका लागि यसलाई हानि पु¥याउने कार्यहरूलाई यसो गर्न सकिन्छ, जस्तैः बाटोमा फोहोर नजलाउने, घरायसी फोहोर जथाभावी नफाल्ने, प्लास्टिकको प्रयोग नगर्ने, वन–जंगल फडानी कम गर्ने आदि ।

प्रतिक्रिया दिनुहोस्