फाइनल प्रवेशका लागि नेपाल र मलेसिया भिड्ने



काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले आयोजक टोली मलेसियाको सामना गर्ने भएको छ। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ‘बी’ को उपविजेता मलेसियासँग खेल्ने भएको हो।

शनिबार समूह ‘बी’ को अन्तिम खेलमा हङकङले मलेसियालाई ३ रनले पराजित गरेपछि नेपालको भेट मलेसियासँग हुने भएको हो। क्वालालम्पुरस्थित किनरारा ओभलमा हङकङले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ ओभर १ बलमा अलआउट हुँदै १६९ रनमा समेटियो। नेपाल र मलेसियाबीचको खेल सोमबार हुनेछ।

नेपाल शुक्रबार सिंगापुरलाई पराजित गर्दै समूह विजेता बनेको थियो। पहिलो खेलमा नेपालले चीनलाई हराएको थियो। नेपालले २ खेलबाट ४ अंक जोडेको थियो। २ अंक जोडेको सिंगापुर उपविजेता बनेको थियो।

यस समूहबाट हङकङ विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। हङकङले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता सिंगापुरसँग खेल्नेछ। समूह ‘ए’ बाट चीन र समूह ‘बी’ बाट भुटान र थाइल्याण्ड समूह चरणबाट बाहिरिए। 

यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ। यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्