प्रधानमन्त्रीको भारत भ्रमण : निकटता देखाउन ‘उत्ताउलो’ कूटनीति



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कूटनीतिक सीमा नाघेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दिल्ली पुगेका देउवा भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुगेर राजनीतिक भेटवार्ता गरेका छन्। दिल्ली पुगेकै दिन शुक्रबार अपराह्न देउवा भारतीय सत्तारूढ दल भाजपा कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्रीका रूपमा भएको यो भ्रमण राजनीतिक दलका नेताको झैं भएको र कूटनीतिक मर्यादा विपरीत भएको विज्ञहरूको ठहर छ। प्रधानमन्त्रीको यो शैलीले कूटनीतिक सीमा नाघेको एक पूर्वराजदूतले बताए । ‘अहिले कांग्रेस सभापतिको भारत भ्रमण होइन, प्रधानमन्त्रीको हो, त्यसैले राजनीतिक पार्टीका कार्यालय पुगेर भेटवार्ता गर्नु सरासर कूटनीतिक अभ्यास विपरित हो’, उनले द नेपालटपसँग भने। भारतको राजकीय भ्रमणमा गएका कुनै पनि प्रधानमन्त्रीले यसअघि दलको कार्यालय पुगेर भारतीय नेतासँग भेटवार्ता गरेका थिएनन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालमा आएर कुनै पनि दलको कार्यालयमा पुगेर नेताहरूसँग भेटघाट गरेका छैनन् । भाजपा अध्यक्ष जेपी नड्डाले देउवालाई पार्टी कार्यालयमा स्वागत गरेका थिए । देउवाले पार्टी कार्यालमा भाजपा पदाधिकारीसँग भेटवार्ता गरेका छन्। तर, कूटनीतिक मामिलाका जानकार एवं डेनमार्कका लागि पूर्वराजदूत प्राडा विजयकान्त लाल कर्ण भने यसलाई नौलो मान्न नहुने बताउँछन्। नेपालका प्रधानमन्त्री र उच्च अधिकारीहरू चीन भ्रमणमा जाँदा चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीहरूसँग भेट्ने गरेको प्रसंगलाई पनि स्मरण गर्नु जरुरी भएको उनले बताए।

‘अहिले हाम्रा प्रधानमन्त्री बीजेपी कार्यालय पुग्दा नौलो झैं लाग्यो, तर चलनमा नभएको भने होइन। बीपी कोइराला प्रधानमन्त्री भएका बेला उहाँका भारतीय मित्र तथा समाजवादी नेता राममनोहर लोहियालाई भेट्न लोहिया निवासमै पुग्नु भएको थियो’, कर्णले भने । विगतमा कंग्रेस आईको राजनीतिक प्रभाव रहेका बेला नेपालका प्रधानमन्त्री, मन्त्रीहरू कंग्रेसका नेतासँग नियमित भेटवार्तामा रहने गरेका र अहिले बीजेपी भारतको बलियो राजनीतिक दल रहेकाले अहिले देउवाले पार्टी कार्यालयमा भेटवार्ता गरेका हुन सक्ने उनको ठहर छ।

भारतसँगको सम्बन्ध सुधार्न भाजपा कार्यालय पुगेका देउवाले राजनीतिक फाइदाका लागि कूटनीतिक सीमा तोड्न नमिल्ने, देशको हितमा भ्रमण केन्द्रित हुनुपर्ने र यो शैलीलाई सामान्यरूपमा लिन नहुने विज्ञहरूको सुझाव छ। चिनियाँ कम्युनिस्ट पार्टी र सो पार्टीका नेताहरूसँग नेपाली कांग्रेस नेताहरूको निकट सम्बन्ध ‘खासै नजिक’ नभए पनि नेपालका कम्युनिस्ट पार्टीहरूको सम्बन्ध निकट रहेको कर्ण बताउँछन् ।
विदेशमन्त्रीसँग वार्ता
भारत भ्रमणमा रहेका देउवाले शुक्रबार भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन् । जयशंकर र डोभालले दिल्लीस्थित होटल मौर्यमा देउवासँग भेटवार्ता गरेका नेपाली दूतावासले जनाएको छ। दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्री देउवा नेतृत्वको टोलीको सम्मानमा शुक्रबार रात्री भोजको आयोजना गरेको छ।
आज द्विपक्षीय वार्ता
देउवाले शनिबार भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्नेछन् । यसक्रममा द्विपक्षीय सहयोगका विभिन्न विषयमा सहमति/सम्झौता हुनेछ। दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट जनकपुर–जयनगर रेल सेवा, सोलु करिडोर विद्युत् प्रशारणलाइन उद्घाटन हुँदै छ।

त्यसअघि दुवै प्रधानमन्त्रीहरू बीच शनिबार बिहान एक्ला एक्लै र प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता र द्विपक्षीय सहयोग आदान–प्रदान सम्झौताका लागि परराष्ट्र, ऊर्जा, स्वास्थ्य र सिँचाइमन्त्रीहरू देउवासँगै दिल्ली पुगेका छन्। भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी भवनको पनि उद्घाटन गर्ने कार्यतालिका तय गरिएको छ। प्रतिनिधिमण्डल स्तरको भेटवार्तापश्चात् देउवा–मोदीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री देउवाले शनिबार अपराह्न भारतीय उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेटवार्ता गर्दै छन् ।

आज शनिबार बिहान भारतीय सेनाबाट गार्ड अफ अर्नर लिएपछि देउवा महात्मा गान्धीको समाधिस्थल पुग्नेछन् । आइतबार बिहान बनारस पुग्ने देउवा धार्मिक कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका तय गरिएको छ। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथले सम्मानमा दिवा भोजको आयोजना गरेका छन्। आइतबार अपराह्न बनारसबाटै देउवा स्वदेश फर्किनेछन् ।

राज्यमन्त्रीले गरे स्वागत
दिल्ली पुगेका देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरे। यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै विमानस्थल पुगेर स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्