उम्मेदवार छान्ने दलका रणनीति : १ पद ३ नाम, चैतभित्र तमाम



काठमाडौं । राजनीतिक दलहरूले स्थानीय तहको विभिन्न पदका सम्भावित उम्मेदवारहरूको नामावली सिफारिस गर्न चैत मसान्तसम्म समय दिएका छन्। १ पदमा ३ जनाको नाम पठाउन दलहरूले पार्टीको मातहत समितिलाई निर्देशन दिइसकेका छन् । सिफारिस गर्दा १ जना महिला अनिवार्य हुनुपर्ने भनिएको छ। समावेशी सिद्धान्तअनुसार दलहरूले सम्भावित उम्मेदवारको नाम सिफारिस गर्दा महिलालाई अनिवार्य समेट्न निर्देशन दिएका हुन्।

सत्ता नेतृत्व दल नेपाली कांग्रेसले जिल्ला समितिमार्फत वडा सदस्य, वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख पदका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको हो । ‘स्थानीय तहको पार्टी समितिले ढिलोमा मंगलबारसम्म उम्मेदवारहरूको नाम सिफारिस गर्ने गरी निर्देशन दिएका छौँ’, प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘वडा सदस्यदेखि प्रमुख/उपप्रमुखसम्मको पदमा उम्मेदवारको नाम सिफारिस गर्नू भनेका हौँ ।’ निर्देशनअनुसार वडा समितिले सदस्य र वडा अध्यक्ष पदका उम्मेदवारको नाम २१ गते पार्टीको गाउँ/नगर समितिमा सिफारिस गर्नुपर्नेछ।

गाउँ/नगरपालिका समितिले भने २३ गते प्रदेशसभा क्षेत्रीय समितिमा र उक्त समितिले २५ चैतसम्म उम्मेदवार सिफारिस गर्नुपर्ने भएको छ। पार्टीको प्रतिनिधि सभा समितिले २९ चैत र सोही दिन जिल्ला समितिले उम्मेवदारको नाम सिफारिस गर्नुपर्ने भनिएको छ । कुनै पदमा धेरै जनाको नाम आएको अवस्थामा जिल्ला हुँदै पार्टीको प्रदेश समितिमा विवादित नाम सिफारिस गर्नुपर्नेछ। प्रमुख विपक्षी दल नेकपा एमालेले पनि वडा सदस्यदेखि प्रमुख/उपप्रमुखसम्मका सम्भावित उम्मेदवारहरूको नामावली पठाउने परिपत्र गरिसकेको छ। एमालेले पनि १ महिलासहित ३ जनाको नाम पठाउन निर्देशन दिएको हो । ३ मध्येबाट अन्ततः १ जनालाई उम्मेदवार बनाउनेछ ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चैत मसान्तलाई नामावली सिफारिस गर्न दिएको समयसीमा तोकिएको बताइन्। ‘हामीले मिति तोकेर यति/यति गते पार्टीको वडा, गाउँ/नगर र प्रदेश कमिटी हुँदै जिल्ला कमिटीले नामावली सिफारिस गरेर भनेका छैनौँ तर पनि चैत मसान्तसम्ममा नामावली पठाइदिनू भनेर जिल्ला कमिटीहरूलाई भनेका छौँ’, शाक्यले द नेपालटपसँग भनिन् ।

उनले वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेदवारको टुंगो जिल्ला कमिटीले र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुखको उम्मेदवार प्रदेश कमिटीले टुंगो लगाउने जानकारी दिइन् । एमाले निर्वाचन प्रतिबद्धता तयार गर्न शुक्रबार सुझावसमेत मागेको छ। मापदण्ड त यसअघि नै बनाएको छ। एमाले र कांग्रेसले जस्तै जनता समाजवादी पार्टी (जसपा)ले पनि सम्भावित उम्मेदवारको नामावली सिफारिस गर्न यसअघि नै निर्देशन दिएको छ। २० चैतलाई जसपाले नामावली पठाउन दिएको समयसीमा हो । उपाध्यक्ष रकम चेम्जोङले गठबन्धन नभए एक्लै निर्वाचन लड्ने गरी तयारी आवश्यक हुने भएकोले पार्टीले सम्भावित उम्मेदवारहरूको नामावली मागेको बताए । आएका नाममध्येबाट निर्वाचन जित्न सक्नेलाई उम्मेदवार बनाइने उनको भनाइ छ।

‘निर्वाचनमा त पहिलो लक्ष्य जितको हो। त्यही भएर जित्न सक्ने को हो ? सिफारिस भएर आएका नामहरूको मूल्याङ्कन गरेर टुंगो लगाउने काम हुन्छ’, उपाध्यक्ष चेम्जोङले बताए । कांग्रेस नेतृत्वको गठबन्धनमा जसपासहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा छन्। गठबन्धनको बिहीबार बसेको बैठकले निर्वाचनमा तालमेल गठबन्धनका दलहरूबीच मात्र गर्ने निर्णय गरेको छ। ‘वाम–लोकतान्त्रिक’ यो गठबन्धन एमालेविरुद्ध बनेको हो। यस्तै, गठबन्धनबाहिरको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि सम्भावित उम्मेदवारहरूको नामावली सिफारिस गर्न निर्देशन दिइसकेको छ। पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले संविधानले सुनिश्चित गरेभन्दा बढी ५१ प्रतिशत महिलाको नामावली सिफारिस गर्न भनिएको बताए।

उनले भनेका छन्, ‘मिति तोक्नेभन्दा पनि छिट्टै नामावली पठाउनू भनेका छौँ अब नामावली छिट्टै आउँछ । नामावली पठाउँदा ५१ प्रतिशत महिला हुनेगरी पठाउनू भनेका हौँ। गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चाले पनि चैत मसान्तलाई नामावली सिफारिस गर्ने समयसीमा तोकेको छ। ‘पहिले हामीले १५ चैतसम्ममा नामावली सिफारिस गर्न भनेका थियौँ तर कतिपय जिल्लाले यो समयमा सकिँदैन भनेपछि चैत मसान्तसम्मलाई समय सारेका छौँ’, नेता मनोज भट्टले भने, ‘अब चैत मसान्तसम्ममा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुखको नामावली आइसक्नुपर्छ भनेका छौँ ।’

उनले गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुखको टुंगो पार्टी केन्द्रीय कमिटीले टुंगो लगाउने बताए। उनका अनुसार वडा सदस्य र अध्यक्षको पदको टुंगो जिल्ला कमिटीले टुंगो लगाउनेछ ।संसद्मा रहेका दलहरू नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलगायत दलले पनि सम्भावित उम्मेदवारको नामावली सिफारिस गराउनदेखि निर्वाचन केन्द्रित कार्यक्रम गर्न पार्टीको मातहत समितिहरूलाई निर्देशन दिइसकेका छन् ।
माओवादी चुपचाप
गठबन्धनको एउटा घटक माओवादी केन्द्रले भने सम्भावित उम्मेदवारको नामावली पठाउन भनेको छैन । नेता देवप्रसाद गुरुङले केही दिनमा नामावली पठाउन सर्कुलर हुने बताए ।

‘पार्टीको तल्ला कमिटीहरूले नामावली सिफारिस गर्नु त पर्छ र सिफारिस गर्न छिट्टै सर्कुलर गर्ने कुरा भएको छ’, गुरुङ बताउँछन् । गठबन्धन र अन्य दलहरूले भने चैत मसान्तसम्मको समयसीमा तोकिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्