जग हल्लाइएको सत्ता गठबन्धन



काठमाडौं । कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको प्रदेश, जिल्ला र पालिकास्तरीय वस्तुगत तथ्यसहितको स्थानीय तह निर्वाचनसम्बन्धी प्रतिवेदन आगामी मंगलबारसम्म आउने भएको छ । प्रतिवेदनकै आधारमा गठबन्धनबारे ‘थप निर्णय’ हुने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताइसकेका छन्।

कार्कीले थप निर्णय हुने भन्नुको अर्थ निर्वाचनमा गठबन्धनको ‘मोडालिटी’सहित बाँकी निर्वाचनसम्बन्धी कार्यक्रमबारे धारणा बनाएर अघि बढ्ने भन्ने हो । तर, संयन्त्रको प्रतिवेदन आइनपुग्दै गठबन्धनमा खटपटको संकेत देखिएको छ । यसको संकेत गठबन्धनकै एउटा घटक नेकपा (माओवादी केन्द्र)ले दिइसकेको छ। बिहीबार बसेको गठबन्धन दल बैठकमा सहभागी एक नेताका अनुसार माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेसँग तालमेलको ढोका सम्पूर्णरूपले बन्द नगरौँ भनेका थिए।

ती नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दल मिलेर निर्वाचनमा जान प्रस्ताव गरेपछि श्रेष्ठले एमालेसँगको सहकार्यको बाटो बन्द नगर्न प्रस्ताव गरे ।
माओवादीबाट सूत्रधार पुन र शर्मा
माओवादी केन्द्रले गठबन्धनको सहयात्री कांग्रेस भरपर्दो नहुने आन्तरिक निष्कर्षका आधारमा एमालेसँग तालमेलका लागि २ नेतालाई सूत्रधार बनाएको छ । प्रचण्डका विश्वासपात्र भनिएका वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ले सूत्राधारको जिम्मा पाएका छन् । एमालेसँग निर्वाचनमा गठबन्धनको भित्रीरूपमा वातावरण बनाउन यी २ नेता खटिएको स्रोतले जनाएको छ।

उनीहरूले एमालेका दोस्रो तहका नेताहरूसँग सघन छलफल चलाइरहेका छन्। २०७४ सालमा पनि एमालेसँग तालमेलको वातावरण शर्माले नै बनाएका थिए । ६०/४० प्रतिशत सिट लिने गरी सहमति जुटेपछि एमाले–माओवादी केन्द्र सम्मिलित ‘वाम गठबन्धन’ बनेको थियो। त्यसबेला पुन भने कांग्रेससँग निर्वाचनमा तालमेलको वातावरण बनाउन खटिएका थिए । तर, ७०/३० मा तालमेल गरौँ भन्ने अडानबाट कांग्रेस पछि नहट्दा कांग्रेसले भन्दा १० प्रतिशत सिट बढी दिने एमालेसँग गठबन्धन भएको थियो ।
चीन ‘फ्याक्टर’
११ चैतमा नेकपा (माओवादी केन्द्र)का २ नेता वर्षमान पुनसँगै संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ चीन गए । पुन नियमित स्वास्थ्य परीक्षण गराउन र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का उच्चस्तरीय नेतासँग भेटवार्ता गर्न गएका हुन् ।

साथमा गएका नेता गुरुङले पनि पुनसँगै सीसीपीका नेताहरूसँग भेटवार्ता गरे। भेटवार्ताबारे गुरुङले द नेपालटपसँग भनेका छन्, ‘अमेरिकी सरकारको हिन्द–प्रशान्त सुरक्षा रणनीति (आईपीएस)को अंगको रूपमा रहेको एमसीसी पास भएकोबारे चीन सन्तुष्ट देखिएन र नेपालका कम्युनिस्ट पार्टीहरू मिलून् भन्ने चाहना छ।’ चीन नेपालमा कम्युनिस्ट सत्ता चाहन्छ। त्यसका लागि कम्युनिस्ट पार्टीबीच एकता अनिवार्य ठान्छ। नेपालका कम्युनिस्ट पार्टीहरू एक हुँदा खुसी प्रकट गर्छ । विभाजित हुन लाग्दा एकता जीवित राख्न प्रयास गर्छ । विभाजित हुँदा चिन्ता प्रकट गर्छ। र, हाल छिन्नभिन्न अवस्थामा छन्, यहाँका कम्युनिस्ट पार्टीहरू। संसद्कै ठूलो दलसमेत रहेको नेकपा एमालेविरुद्ध माओवादी र एकीकृत समाजवादीलगायत दल कांग्रेससँग मिलेर निर्वाचन गर्न मोर्चा कसेका छन् ।

यहीबेला माओवादीका २ प्रभावशाली नेताहरू पुन र गुरुङको चीन भ्रमण भएको हो। उनीहरू चीन गएको भोलिपल्ट १२ चैतमा एमाले उपमहासचिव विष्णु पौडेल नेतृत्वको एक जम्बो टोली पनि ४ दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्‍यो । पौडेलले पनि सीसीपीका उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेको खबर सार्वजनिक भइसकेको छ। १ दिनको अन्तरमा देशका २ ठूला कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरूको भएको चीन भ्रमण बढी चासोसाथ हेरिएको छ।

उनीहरूको भेट राजनीतिक थियो । अर्कोतिर, १२ चैतमै चिनियाँ विदेशमन्त्री वाङ यी पनि २ दिने नेपाल भ्रमणमा आए । यीसँग एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पनि भेट गरे । हुनत उनको भेट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भयो। भेटघाटका क्रममा यीले ओली र प्रचण्डलाई भने मिलेर जान सुझाएका थिए। ३ दिनपछि १७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ५ दलीय गठबन्धनको बैठक बस्दा श्रेष्ठले एमालेसँग गठबन्धनको ढोका बन्द तत्काल नगरौँ भनेको बैठकमा सहभागी एक नेताले बताए। उनका अनुसार देउवाले सुरुमै भनेका थिए, ‘चुनावमा मिलेर जाऔँ ।’

यही प्रस्तावमा श्रेष्ठले त्यसो भनेका हुन् । यहीबीचमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पनि सक्रियता बढ्दो छ । तत्कालीन नेकपा विभाजनको डिलमा रहँदा उनको सक्रियता अधिक थियो। त्यतिबेला उनको भूमिकालाई लिएर कतिपयले ओली–प्रचण्डलाई भावनात्मक ढंगले एकता प्रक्रियामा जोड्ने ‘सुपर ग्लु’को रूपमा चर्चा गरेका थिए ।
कांग्रेस ‘फ्याक्टर’
वाम राजनीतिक विश्लेषक भीम भुर्तेलले नेपाल र चीनका कम्युनिस्ट नेताहरूको भ्रमण जारी रहेकै बेला १३ चैतमा सामाजिक संजालमा लेखे, ‘शेरबहादुर देउवाले नेपाललाई अर्को युक्रेनको नियततर्फ धकेल्ने एकपछि अर्को प्रयास गरिरहेको जस्तो देखिन्छ ।’ यसको अर्थ देउवाले पश्चिमा शक्ति राष्ट्रसँग हात फैलाए । चीन र ओली–प्रचण्डलाई बिच्काउने गरी देउवा अघि बढे ।

एमाले अध्यक्ष ओलीले घुमाउरो शैलीमा भन्दै आएका छन्, ‘देउवा स्वार्थसहित हात थाप्दै छन्।’ अर्कोतिर, कांग्रेस उपसभापति धनराज गुरुङ प्रचण्डका सर्वाधिक आलोचक नेता देखिएका छन् । यतिसम्म कि गुरुङ कहिले प्रचण्डलाई ‘कचौरा लिएर अस्तित्वको भिख मागिरहेको नेता’ भन्छन्, कहिले प्रचण्ड नेतृत्वको माओवादी र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग गठबन्धन गरे कांग्रेस ‘दुर्गन्धित’ हुन्छ भन्छन् । गुरुङले प्रचण्ड र नेपालको पार्टीलाई ‘चमेरो’सँग तुलना गरेका छन् र भनेका छन्, ‘कांग्रेसरूपी हात्तीको कानमा ओत लाग्न चमेरोहरू आउन चाहे।’ महामन्त्री गगनकुमार थापा पनि कहिलेकाहीँ उपसभापति गुरुङकै शैलीमा अभिव्यक्ति दिन्छन्।

गठबन्धन चाहेअनुसार नभए विद्रोह गर्ने कांग्रेसको लुम्बिनी सभापति अमर पुन र सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले चेतावनी दिँदै आएका छन् । ‘भागबण्डा गर्दा ८ हजार कांग्रेसको मत भएको ठाउँमा १ हजार मत भएको अन्य पार्टीलाई दियो भने विद्रोह हुन्छ । त्यस्तो अवस्थामा गठबन्धनमा मत खस्दैन । मैले नगरे पनि तल्ला तहका नेता कार्यकर्ताले विद्रोह गर्छन् र रोक्न सकिन्छ ?’ सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न गर्दै सभापति पुन भन्छन्। उता, कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले १३ चैतमा केन्द्रीय समिति बैठकमै चितवनमा गठबन्धन अस्वीकार गर्ने चेतावनी दिइसकेका छन् । चितवन कांग्रेसका निवर्तमान सभापति जितनारायण श्रेष्ठ पनि गठबन्धनको विरुद्धमा छन्।
शंका जन्माउने अरुण गाउँपालिका
प्रदेश १ को पहाडी जिल्ला भोजपुरको ९ स्थानीय तहमध्ये एउटा हो, अरुण गाउँपालिका। कांग्रेसको बलियो स्थानीय सरकार रहेको यहाँ एमाले–माओवादीबीच निर्वाचनमा तालमेलको प्रयास भइरहेको छ। अरुण गाउँपालिकाका माओवादी नेताहरू कांग्रेसविरुद्ध निर्वाचन लड्ने पक्षमा छन्। यही गाउँपालिकाबाट ‘एमाले–माओवादी’ले गठबन्धनको सन्देश दिन चाहेको देखिएको छ।

त्यहाँ शनिबारसम्म गठबन्धनको बैठकसम्म बस्न सकेको छैन। यस्तै, केही दिनअघि कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले एक कार्यक्रममा प्रचण्ड र नेपाल कांग्रेसको फेरो समाएर सत्तामा जान खोजेको अभिव्यक्ति दिएका थिए। जवाफमा माओवादी केन्द्र प्रदेश १, संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले हेपेर यस्तै अभिव्यक्ति दिने हो भने पाँचथरमा एमालेका वसन्तकुमार नेम्बाङलाई जिताइदिने चेतावनी दिएका थिए ।
एकता तत्काल सम्भव छैन : अष्टलक्ष्मी शाक्य
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने एमाले–माओवादी र एकीकृत समाजवादीबीच तत्काल चुनावी तालमेल हुन नसक्ने देख्छिन्। तालमेल हुन नसक्नुका पछि उनका २ तर्क छन् । पहिलो, कांग्रेस कम्युनिस्ट पार्टीहरू मिल्न नदिने गरी गठबन्धन बनाउन उद्यत भयो।

दोस्रो, माओवादीसहितका अन्य कम्युनिस्ट पार्टीहरू ‘साइज’मा ल्याउने भन्दै एमाले सिध्याउन लागे। यस्तो अवस्थामा तालमेल असम्भव भएको उनको भनाइ छ । तर, उनका सैद्धान्तिक र वैचारिक मतभेद एकताका लागि बाधक भने नहुने उनको भनाइ छ। ‘मात्र प्रवृत्तिगत मदभेद हो । नेताहरूले विगतका गल्तीलाई आत्मालोचना मात्र गरे एकताको आधार बन्छ’, उनी भनिछन् ।

प्रतिक्रिया दिनुहोस्