अस्तित्व रक्षाको त्रास, सत्ता स्वार्थको प्रयास



काठमाडौं । कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनलाई स्थानीय निर्वाचनमा चुनौती दिन प्रमुख विपक्षी दल नेकपा एमाले नेतृत्वमा अर्को गठबन्धन बन्ने भएको छ। गठबन्धनमा कुनकुन दल रहन्छन् ? निश्चित भइसकेको छैन । विश्लेषकहरूका अनुसार विकसित राजनीतिक परिस्थितिलाई आधार मान्दा छिट्टै एमाले नेतृत्वमा गठबन्धन बन्ने देखिन्छ।

अध्यक्ष केपी शर्मा ओली भन्न त एमाले एक्लै ५ दलविरुद्ध लड्ने र हराई छाड्ने बताउँछन् । आइतबार पार्टी निकट बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनमा पनि एमाले निर्वाचनमा एक्लै लड्छ भन्दै ओलीले भने, ‘वरिपरि उभिएका ५ दललाई एक फन्का राउन्ड किक हानेर ढालिदिन्छौँ ।’ एमालेका नेता–कार्यकर्तालाई उत्साहित बनाउन ओलीले त्यसो भनेका हुन् । तर, बिहीबार राति भने गठबन्धनको आधार तयार गर्नेबारे उनी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाबीच राणा निवासमा भेटवार्ता भयो। भेटवार्ताको क्रममा ५ दलीय गठबन्धनलाई चुनौती दिन स्थानीयदेखि संघीय तहको निर्वाचनसम्मै गठबन्धन बनाएर जानुपर्नेमा ओलीसँग कुरा भएको डा. राणाले बताए। यसले ओली गठबन्धनको तयारी गरिरहेका छन् भन्ने पुष्टि हुन्छ।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी एमालेले राप्रपा मात्र होइन, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसँग पनि गठबन्धन गर्न सक्ने बताउँछन्। गठबन्धन राजनीतिक शक्ति–सन्तुलनको दृष्टिले पनि अनिवार्य रहेको उनलाई लाग्छ।‘ओली नेतृत्वमा ५ दलीय गठबन्धनलाई प्रतिवाद गर्न अर्को गठबन्धन बन्ने देखिन्छ । यो निश्चित छ र शक्ति–सन्तुलनको दृष्टिले पनि अनिवार्य छ’, केसीले द नेपालटपसँग भने। बिहीबार ५ दलीय गठबन्धनले स्थानीय तहसम्मै निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक निर्णय गरिसकेको छ। गठबन्धनको ‘मोडालिटी’लगायतबारे थप छलफल गर्न सोमबार बैठक बस्दै छ। मंगलबार भने प्रदेश, जिल्ला र पालिकास्तरबाट गठबन्धनमा रहेका दल र प्रतिस्पर्धी एमालेको वस्तुस्थितिसहितको प्रतिवेदन आउनेछ।

२ पटक संसद् विघटन गरेका कारण ‘प्रतिगमनकारी शक्ति’को रूपमा एमालेलाई चित्रण गर्दै ‘साइज’मा ल्याउन ५ दलीय गठबन्धन निर्वाचनमा तालमेल गर्ने निष्कर्षमा पुगेको हो। गठबन्धनमा कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन्। प्रा.डा. केसीले ५ दलबीच मोर्चाबन्दी हुनुको कारक भने ओली नै भएको बताए। उनले भनेका छन्, ‘ओलीले सर्वसत्तावाद जुन किसिमले चलाए, त्यो सर्वसत्तावादसँग लड्न कृत्रिम गठबन्धन बन्यो र ओलीलाई सत्तादेखि ढाले ।’संघीय संसद्मा मात्र होइन, स्थानीय तहमा पनि एमाले पहिलो दल हो। गठबन्धन यस पटक एमालेलाई पहिलो हुनबाट रोक्न चाहन्छ। त्यही भएर एमालेले जितेको स्थानीय तहमा निर्वाचनमा तालमेल गर्ने निर्णयमा गठबन्धन पुगेको हो ।

एमाले कमजोर शक्ति नभएको निष्कर्ष पनि गठबन्धनको छ। र, यसअघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने दलहरू एक्लाएक्लै लडेका थिए । देश संघीय प्रणालीमा गएपछि भएको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा भने गठबन्धन बन्यो । त्यसको ५ वर्षपछि ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि पनि गठबन्धन भएको हो । राजनीतिक विश्लेषक डा. विष्णु दाहाल सैद्धान्तिक र वैचारिक धार नमिलेका शक्तिहरूबीच गठबन्धन हुनुलाई प्राकृतिक ठान्दैनन्। ‘भू–राजनीतिक परिदृश्यलाई विश्लेषण गर्दा कम्युनिस्ट पार्टीहरूबीचको एउटा गठबन्धन र कांग्रेसहितको लोकतान्त्रिक शक्तिहरूको अर्को गठबन्धन होस् भन्ने देखिन्छ। तर, यहाँ त ठीक उल्टा शक्तिहरूबीच भएका छन् । यसलाई प्राकृतिक गठबन्धन मान्न सकिँदैन ।

मात्र सत्ता स्वार्थका लागि हो’, दाहालले भने। कांग्रेस गठबन्धनसहित निर्वाचनमा जान चाहनुको कारण पहिलो दल बन्न भएको तथा एमाले पनि पहिलो दल कायम राख्न गठबन्धन बनाएर निर्वाचनमा जान लागेको र अन्य दललाई भने अस्तित्व जोगाउन गठबन्धन आवश्यक भएको विश्लेषकहरूको मत रहँदै आएको छ। यी २ स्वार्थमा आधारित गठबन्धन शक्तिशाली दलहरूको नेतृत्वमा बन्दा क्षमतावान् र जनताबीच लोकप्रिय छवि बनाएका साना पार्टीका नेताले निर्वाचन जित्न नसक्ने अवस्था हुने विश्लेषकहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्