वामदेव गाैतम जहाँबाट उठे पनि कांग्रेस विजयी हुन्छ : प्रवक्ता शर्मा



बाँके । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले कुनै सिट खाली गराएर नेता बामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएमा वर्तमान सरकारको जनमतको परीक्षण हुने बताएका छन् । 

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले  गौतमका लागि नेकपाले जुन सिट खाली गराए पनि नेपाली कांग्रेस विजयी हुने दावी गरे । 

गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो  निर्वाचन क्षेत्र खाली गराएमा आफूहरुलाई निर्वाचनको तयारी गर्न सहज हुने शर्माले बताए ।

उनले  गठन भएको ६ महिना मात्रै भएकाले वर्तमान सरकारको कामको आलोचना गर्ने समय भइनसकेको बताए ।

प्रवक्ता शर्माले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भए पनि शान्ति सुरक्षाको सन्दर्भमा भने सरकार कमजोर देखिएको टिप्पणी गरे । दुई तिहाईको साथले प्रधानमन्त्री बलियो नहुने भन्दै कार्यक्षमताले मात्रै प्रधानमन्त्रीलाई बलियो बनाउने उनको भनाई छ । 

सरकारले अहिलेसम्मको कामकारबाहीको मुल्यांकन गर्दै सच्चिएर अघि बढ्नु पर्नेमा प्रवक्ता शर्माले जोड दिए । 

संविधान खतरामा नपरोस् भन्दै शर्माले संविधान जारी गर्ने समयका सहयात्री दलबीच सहकार्य आवश्यक भएकोमा जोड दिए । अहिले पनि प्रदेशको नामाकरण नभएको, राजधानीका विषयमा प्रवेश नभएको भन्दै उनले संविधानको कार्यान्वयन र पालनामा सरकार कमजोर देखिएको बताए । 

प्रतिक्रिया दिनुहोस्