निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने राजनीतिक दलहरुको प्रतिवद्धता



काठमाडौं ।   आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिवद्धता व्यक्त गरेका छन् । 

२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउनका लागि छलफल गरेको थियो ।

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । सो आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको उनले जानकारी दिएका छन् ।

बैठकको प्रारम्भमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरूले छलफल बिनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरू असन्तुष्टिकै बिच हस्ताक्षर गर्न तयार भएका थिए ।

छलफल पछि सञ्चारकर्मीलाई संक्षिप्‍त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्ण रुपमा प्रतिवद्ध रहेको बताए । आचारसंहिता अक्षरंश पालना गरिने उनले बताएका छन् ।

यस्तै नेकपा९एकीकृत समाजवादी०का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न तयार रहेको बताए । पूर्ण रुपमा आचारसंहिता पालना गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गरिएको उनले बताएका छन् ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरूले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरूले गुनासो राखेको बताएका छन् । निर्वाचनको समयमा गाडी, मोटरसाइकल ¥याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचार प्रसार गर्न आचारसंहिताले नदिने भएपनि आचारसंहिता विपरित दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उनले बताए । उनले दलहरूका बिचमा चुनावी गठबन्धन हुनु सिद्धान्त विपरित र मतदाताको खरिद विक्री जस्तो भएको टिप्पणी पनि गरेका छन् ।

साथै नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरूलाई हेपाहा प्रवृत्ति देखाएको बताएका छन् । आयोगले गर्ने छलफलहरूमा साना दलहरूलाई सहभागि नगराउने गरेको उनले बताए । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरूले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्