चिनियाँलाई निःशुल्क, नेपालीलाई चर्को शुल्क



काठमाडौं । नेपालले चिनियाँ नागरिकलाई भिसा प्रक्रिया सरल गरिरहँदा चीनले भने नेपालीलाई चर्को शुल्क लिने गरेको छ। अढाइ वर्षको अवधिमा नेपालीले चीनलाई तिर्ने भिसा शुल्क ३ गुणा बढेको छ।

अढाइ वर्षअघिसम्म २ हजार १५० रुपैयाँ तोकिएको भिसा शुल्क अहिले बढेर ७ हजार रुपैयाँ हाराहारी पुगेको छ। विगतमा भिसा लागेपछि मात्र शुल्क बुझाउने सेवाग्राहीले अहिले भिसाका लागि आवेदन दिएकै बेला शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ। ‘पहिला भिसा लागेपछि मात्र शुल्क बुझाउनुपथ्र्यो, अहिले भिसा लागोस् कि नलागोस्, सुरुमै पैसा बुझाउनुपर्छ । शुल्क पनि दोब्बरभन्दा बढी बढाइएको छ’, एक सेवाग्राहीले द नेपालटपसँग गुनासो पोखे ।

नेपालले २०७२ सालको भूकम्पपछि पर्यटन क्षेत्रलाई लयमा फर्काउन नेपाल आउने चिनियाँ नागरिकलाई भिसा शुल्क मिनाह गरेको छ । सन् २०१६ जनवरीपछि नेपाल आउने चिनियाँलाई भिसा शुल्क लाग्दैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चिनियाँ पर्यटकलाई भिसा शुल्क मिनाह गरिएको थियो। २ वर्षअघिदेखि चीनले भिसा प्रक्रियाको जिम्मा एक निजी कम्पनीलाई दिएको छ। काठमाडौंको कमलादीमा अवस्थित सो कम्पनीले एक प्रति फोटोकपीको ४० रुपैयाँ र एक पेज प्रिन्टको शुल्क १२० रुपैयाँ लिने गरेको सेवाग्राही बताउँछन्। यति चर्को शुल्क चीनका ठूला शहरमा पनि नभएको बताउँदै अर्का एक सेवाग्राहीले भने, ‘चीनले नेपाललाई असल छिमेकी र असल साझेदार भन्दै आएको छ, भिसामा अन्य देशलाईझैँ व्यवहार गरेपछि यो शैली त सोझै भ्रातृत्वविपरीत भएको छ।’

अढाइ वर्षअघि काठमाडौंको हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर शाखाले भिसा प्रक्रिया हेर्ने गथ्र्यो । अहिले रातो र नीलो (सरकारी अधिकारीले प्रयोग गर्ने) पासपोर्टको प्रक्रिया मात्र हात्तीसारबाट हुने गर्छ । रातो र नीलो पासपोर्ट प्रयोगकर्तालाई मात्र दुवै देशले भिसा शुल्क मिनाह गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको नेपाल भ्रमणका क्रममा यस विषयबारे चर्चा नचलेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयको चीन महाशाखा प्रमुख लोकबहादुर थापाले भने, ‘यो विषय चर्चामा आएन, छलफलको एजेन्डा थिएन । हाम्रो र चीनको भिसा शुल्क र भिसा नीतिमा तारतम्य छैन र हुबहु हुनुपर्छ भन्ने छैन ।’

नेपालले भिसा शुल्क मिनाह गरेपछि नेपालीहरूले पनि सरल र सहज शुल्कको अपेक्षा गर्नु स्वाभाविक भएको उनको भनाइ छ । चीनतर्फको भिसा शुल्क बढेको बारे आफूलाई जानकारी नभएको थापाले बताए । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ समकक्षीसँग विदेशमन्त्री वाङसँगको औपचारिक वार्तामा यो सन्दर्भ नजोडेका मन्त्रालयका अन्य अधिकारी बताउँछन् । चिनियाँ विदेशमन्त्री वाङले पूर्वप्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका बेला भने यस विषयबारे चर्चा भएको बताइएको छ । ‘वाङसँगको भेटमा हाम्रा अध्यक्षज्यूको दोस्रो मुख्य एजेन्डा नै यही थियो।

असल मित्र र असल छिमेकलाई गर्ने व्यवहार फरक हुनुपर्छ, भिसा शुल्क सरल बनाउनुपर्छ भनेर अध्यक्षले प्रष्ट भन्नुभएको छ’, एमालेका एक नेताले भने । चीनले अमेरिकी, युरोपेली देश र नेपाललाई लिइने शुल्क फरक हुनुपर्ने ओलीको भनाइ थियो । आफ्नो अघिल्लो कार्यकालमा चिनियाँलाई भिसा शुल्क मिनाह गरेको प्रसङ्ग ओलीले मन्त्री वाङलाई स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्