गठबन्धनको चुनाव चिह्न कति ?



काठमाडौं । निर्वाचनमा जाँदा ५ दलीय गठबन्धनको उम्मेदवारले प्रयोग गर्ने चुनाव चिह्न एउटै हुनुपर्ने बहस सुरु भएको छ । मतदातालाई मतदान गर्न सहज हुने तर्कका आधारमा एउटै चुनाव चिह्न हुनुपर्ने बहस सुरु भएको हो । गठबन्धमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् ।

यी सबै दलको चुनाव चिह्न प्रयोग गर्दा मतदाता झुक्किन सक्ने र बदर हुने सम्भावना हुने भनिएको छ। प्रदेश १ को धरान उपमहानगरपालिकामा गठबन्धनका दलहरूले बिहीबार एउटै चुनाव चिह्न हुनेगरी समझदारी गरेका छन्। तर, कुन पार्टीको चुनाव चिह्न प्रयोग गर्ने भन्ने टुंगोमा दलहरू पुग्न बाँकी छ । गठबन्धनमा रहेका दल माओवादीका नेता हरिबोल गजुरेलले पनि मतदातालाई एउटै चुनाव चिह्नमा मतदान गर्न सहज हुने बताए । व्यावहारिकता मिलाउन एउटै चुनाव चिह्न हुन सक्ने पनि उनको भनाइ छ । तर, पछि समस्या भने आउन सक्ने उनले औँल्याए ।

‘जुन चुनाव चिह्नबाट जनप्रतिनिधि निर्वाचित भएका छन्, भोलि अनुशासनको प्रश्न उठ्न सक्छ । त्यस्तो अवस्थामा नियन्त्रण गर्ने अवस्था आउँछ र नियन्त्रण गर्न समस्या आउँन सक्छ। एउटै हुँदा त राम्रो हो’, नेता गजुरेलले द नेपालटपसँग भने । गठबन्धनको नेतृत्वदायी दल कांग्रेसको रूख, माओवादीको गोलाकारभित्रको हँसिया र हथौडा, एकीकृत समाजवादीको कलम, जनता समाजवादी पार्टीको छाता र राष्ट्रिय जनमोर्चाको गिलास चुनाव चिह्न छन् । एउटै चुनाव चिह्न भए मतदातालाई सहज हुने विषयले रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा प्रवेश पाएको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट समिति सदस्य रहेका हिमलाल पुरीले ५÷५ वटा चुनाव चिह्न हुँदा मतदातालाई चिह्न खोज्दा समय र झन्झट लाग्न सक्ने विषयमा कुरा उठान भएको बताए। ‘थप छलफलचाहिँ भएन तर हाम्रो समितिको बैठकमा चुनाव चिह्न एउटा हुँदा राम्रो हुने कुरा उठान भएको छ’, जनमोर्चाको सचिवसमेत रहेका पुरीले भने, ‘२७ गते बस्ने बैठकमा छलफल हुन सक्छ ।’ माओवादी नेता गजुरेललाई जसरी सचिव गिरीलाई पनि एउटै चुनाव चिह्न प्रयोग गरिँदा मतदातालाई सहज हुने भए पनि दलहरूलाई भने पछि समस्या आउन सक्ने लागेको छ ।

त्यो समस्या भनेको दलीय नियन्त्रण हो । २०७६ सालमा उपनिर्वाचन हुँदा लुम्बिनी प्रदेशमा विमला ओली सूर्य चिह्नबाट निर्वाचित भएकी थिइन्। त्यसबेला नेकपा अस्तित्वमा थियो । सोही दलबाट निर्वाचित भए पनि खत्री माओवादीमा छन् । खत्री एमालेमा रहनुपर्ने तर्क गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले भनेका थिए, ‘संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरूलाई अर्को दल परिवर्तको अधिकार दिएको छैन ।’ तत्कालीन नेकपामै नभए पनि संघीय सांसद हृदयश त्रिपाठीसँगै अन्य केही प्रदेश सांसद सूर्य चिह्नबाट निर्वाचन लडेका थिए । उनीहरूको विषयमा पनि प्रश्न उठेको थियो ।

२३ फागुन २०७७ मा सर्वोच्च अदालतबाट नेकपा नामलाई लिएर उत्पन्न विवादसम्बन्धी प्रश्नको न्यायिक निरूपण हुँदा अर्कै दलको चुनाव चिह्नबाट निर्वाचन जित्नेहरूको अवस्था के हुने ? यो प्रश्न प्रह्न नउठेको होइन । तर, प्रष्ट रूपमा त्यसबारे व्याख्या छैन । यस्तो अवस्थाबीच निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याललाई सोधियो–गठबन्धनले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भन्यो भने कानुनी जटिलता हुन्छ ? जबाफमा उनले कानुनी जटिलता निम्तिन सक्ने बताए । दलीय व्यवस्थामा एउटै दलको चुनाव चिह्नबाट चुनाव लड्नुलाई उनी व्यावहारिक पनि ठान्दैनन् । ‘रूख चिह्नबाट उठे भने चिह्न त गठबन्धनको भन्ने भएन, कांग्रेसको हो। कांग्रेसको नीतिविपरीत गएको भनेर कारबाही गर्‍यो भने के गर्ने ? ती जटिलताहरू आउन सक्छन्’, सहायक प्रवक्ता अर्यालले भने, ‘चुनाव चिह्न दलको सम्पत्ति हो।

उम्मेदवार दलका आत्मा हुन्। त्यसो भएपछि अनुशासनको दायरामा त ल्याउन सक्छ । त्यही भएर व्याहारिक हुँदैन ।’ स्थानीय तह निर्वाचन ३० वैशाखमा हुने भएको छ । निर्वाचनको समय नजिकिँदै गर्दा गठबन्धनका दलहरूले धमाधम देशका विभिन्न जिल्लामा तालमेल गर्ने समझदारी गरेका छन् । केही जिल्लामा भने अझै बाँकी छ । तालमेलको समझदारी गर्ने र गठबन्धनमा भएका दलहरूको स्थितिबारेको प्रतिवेदन शनिबारसम्म बुझाउन निर्वाचन तयारी तथा अनुगमन समितिले निर्देशन दिइसकेको छ । समितिले निर्वाचनमा मोडालिटीसँगै चुनाव चिह्नबारे पनि निर्णय लिने छ । तर, समितिले आवश्यकताको आधारमा मात्र निर्वाचन चिह्न प्रयोग गर्ने समितिकै अर्का एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्