सूर्यमा हाँपझाँप



काठमाडौं । ३० वैशाखमा हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले ‘सूर्य’ निर्वाचन चिह्न प्रयोग गर्ने तयारी गरेको छ। पार्टी अध्यक्ष कमल थापाले निर्वाचन चिह्नको रूपमा सूर्य प्रयोग गर्ने पार्टीको आधिकारिक धारणा रहेको बताए।

थापा नेतृत्वको दल राप्रपा नेपालको निर्वाचन चिह्न भने तीर हो । तर, नेकपा एमालेको निर्वाचन चिह्न सूर्य लिएर निर्वाचनमा जाने चाहना थापाले व्यक्त गरे। ‘सम्भव भए आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेकै चुनाव चिह्न सूर्य लिएर उठ्न सक्ने सम्भावनाका बारेमा समेत आज म पत्रकार साथीहरूलाई जानकारी गराउन चाहन्छु–यो निर्णय होइन, पार्टीको धारणा हो’, शुक्रबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै थापाले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहका कारण पराजय भएको भन्दै अलग हुँदा उनले पार्टी राप्रपा नेपाल पुनर्स्थापना गरेका थिए । त्यसबेला उनले पार्टीको निर्वाचन चिह्न तीर राखेका थिए। थापाले तीरलाई हिन्दु धर्मसँग जोडेर ब्याख्या गरेका थिए। तर, शुक्रबार उनले सूर्य चिह्न लिएर निर्वाचनमा जाने आकाङ्क्षा व्यक्त गरेका हुन्। थापा मात्र होइन, शुक्रबार नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सूर्य निर्वाचन चिह्नको प्रसङ्ग कोट्याए।

गृहजिल्ला चितवन पुगेर भने, ‘यदि अदालत प्रयोग गरेर पार्टीलाई दुइटा नबनाएको भए आज नेकपा पनि हाम्रो हुन्थ्यो, सूर्य चिह्न पनि हाम्रो हुन्थ्यो। केपी ओली गुट पार्टीविहीन भएर सडकमा पुग्ने थियो। तर, निर्वाचन आयोगले पनि समयमा निर्णय नदिँदा यो हालत भयो।’ प्रचण्ड तत्कालीन नेकपाका एक अध्यक्ष छँदा वरिष्ठ नेता माधवकुमार नेपालसँग ८ पुस २०७७ मा निर्वाचन आयोगमा निर्वाचन चिह्न सूर्यमाथि दाबी प्रस्तुत गरेका थिए। त्यसको ३ दिनअघि मात्र नेकपाका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए। कारण–नेकपाभित्रको कचिङ्गल थियो। यसपछि ओली–प्रचण्ड सम्बन्ध तिक्ततापूर्ण भएको थियो।

पार्टीको बहुमत सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा प्रचण्ड र नेपाल पुगेका थिए। त्यसबेला उनीहरूले नेकपाको आधिकारिकता दाबी पनि गरेका थिए। २ नेताले २८७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको नेकपा केन्द्रीय कमिटी बैठकको निर्णय आयोगमा दर्ता गराएका थिए । त्यहाँ अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गरिएको, नयाँ अध्यक्षमा माधवकुमार नेपालाई नियुक्त गरिएको र पार्टी कमिटीको दुई तिहाइ बहुमतले गरेको निर्णयसहित सूर्य चिह्नमा आफूहरूको हक लाग्ने भन्दै कागजात पेस गरेका हुन्।

ओलीले पनि पार्टी र सूर्य चिह्न आफूहरूको दाबी गर्दै ७ पुस २०७८ मा आयोगमै कागजात बुझाएको थिए। नेता नेपालले सूर्य चिह्न आफूले एमालेमा ल्याएको दाबी गरेका थिए । उनको तर्क थियो, ‘२०४८ सालमा पार्टीले आफूलाई जिम्मेवारी दिएपछि निर्वाचन आयोगमा चुनाव चिह्न रोज्न जाँदा सूर्य चिह्न मैले रोजेको हुँ।’ २ पक्षले पार्टी नाम र निर्वाचन चिह्न सूर्यलाई लिएर दाबी गरे पनि आयोगले त्यसबेला आधिकारिकतासम्बन्धी निर्णय दिन ढिलाइ गरेको थियो । र, डेढ महिनापछि २३ फागुनमा त्यसबेला विचाराधीन नेकपाको नामसम्बन्धी विवाद सर्वोच्च अदालतले टुंग्याउँदै ओली–प्रचण्डले नेतृत्व गरेको नेकपा खारेज गरिदियो । आधिकारिकता भने ऋषिराम कट्टेललाई दियो ।

सर्वोच्चले नामसम्बन्धी विवाद टुंग्याएसँगै नेकपा एकीकरणपूर्वका दलहरू नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका थिए। त्यसपछि स्वाभाविक रूपमा सूर्य चिह्न एमालेको भएको हो। २०७४ सालको संघीय निर्वाचनमा हृदयश त्रिपाठी, बृजेशकुमार गुप्तालगायत सूर्य निर्वाचन चिह्नबाट निर्वाचित भएका थिए। लुम्बिनी प्रदेशकी माओवादी सांसद् विमला वली पनि सूर्य चिह्नबाटै निर्वाचित भएकी हुन् । उनी माओवादीमा गएपछि एमाले महासचिव शंकर पोखरेलले एउटा निर्वाचन चिह्नबाट निर्वाचित सांसद अर्को दलको हुन नसक्ने तर्क गरेका थिए।

सूर्य चिह्न प्रयोगकर्ता पद्मरत्न तुलाधर 
जनपक्षीय उम्मेदवार बन्दा पद्मरत्न तुलाधरले २०४३ सालमा सूर्य चिह्न पाएका थिए। नेकपा मालेमा आबद्ध उनी पार्टीले निर्वाचनलाई उपयोग गर्नुपर्ने नीति लिएपछि त्यसबेला निर्वाचन लडेका थिए । त्यही चिह्नबाट निर्वाचन लडेका उनी ८२ हजार मत प्राप्त गरेर विजयी बने। पहिलो पटक सूर्य चिह्नको प्रयोगकर्ता उनै तुलाधर हुन्। यसपछि भने सूर्य चिह्न लोकप्रिय भयो।

सोही कारण २०४७ सालमा तत्कालीन नेकपा मार्क्सवादी र माले मिलेर नेकपा एमाले बनेपछि एमालेले सूर्य चिह्न नै रोज्यो। एमालेको चिह्नको रूपमा सूर्य रोज्ने नेता भने माधवकुमार नेपाल हुन् । र, तुलाधरले त्यही चिह्नबाट २०४८ र २०५१ सालमा पनि निर्वाचन जितेका थिए। आज त्यही निर्वाचन चिह्न सूर्यमा नेकपा अगाडि रहेका केही दलहरू हाँपझाँप गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्