गभर्नर निलम्बनले उब्जाएको आंशका, ‘बाघ कराउनु बाख्रा हराउनु’



काठमाडौं ।  सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि आर्थिक क्षेत्रमा अन्योलता बढाएको छ। देशको अर्थतन्त्र संकटतर्फ धकेलिँदै गएको बेला एक्कासी गभर्नर निलम्बन हुँदा अब के हुन्छ भनेर अन्योलता बढाएको हो।

सरकारको आर्थिक सल्लाहकार तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका गभर्नर नेतृत्वविहीन हुँदा संकटपूर्ण अवस्थामा देशको अर्थतन्त्र कसरी अगाडि बढ्छ ? भन्ने प्रश्न उब्जिएको छ। गभर्नर अधिकारीले गरेका गल्तीबारे छानबिन समितिले सत्य तथ्य बाहिर ल्याउँला नै तर सरकारले जुन समयमा गभर्नर निलम्बन गर्‍यो त्यो उपयुक्त समय भने पक्कै होइन । निर्वाचनको सम्मुख सरकारको यो कदम विपक्षी दललाई भने गतिलो चुनावी नारा भएको छ ।

अर्कोतर्फ विदेशबाट भित्रिएको शंकास्पद रकममा अर्थमन्त्री जनार्दन शर्मा जोडिनु र लगत्तै गभर्नर अधिकारी निलम्बन पर्नुले ‘बाघ कराउनु बाख्रा हराउनु’ भन्ने उखानसँग मेल खाएको छ। सरकार विशेषगरी अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीचको मतभिन्नता र अर्थमन्त्रीले गभर्नर अधिकारीमाथि लगाएका संगीन आरोप आगामी दिनमा के कसरी पुष्टि हुन्छ ? त्यो भविष्यमा नै स्पष्ट होला । तर, यतिबेला गभर्नर अधिकारीको गल्तीभन्दा पनि अर्थमन्त्री शर्माको शंकास्पद व्यवहार सतहमा देखिएको छ।शंकास्पद रकममा अर्थमन्त्री शर्माको नाम जोडिएकै दिन गभर्नर अधिकारी निलम्बनमा परेका छन् । त्यस्तै अघिल्लो दिन आफ्नै प्रस्तावमा निलम्बन भएका गभर्नरसँग अर्को दिन एउटै मञ्चमा पुग्ने, सार्वजनिक मञ्चबाटै आक्रोश पोख्ने र लगत्तै निलम्बनको खबर सार्वजनिक हुनुले अर्थमन्त्री शर्मा आफैं पनि शुद्ध छैनन् भन्ने संकेत गरेको छ।

अघिल्लो सरकारका अर्थमन्त्री र गभर्नरबीचको मतभिन्नता पनि सतहमा आएको थियो । अर्थमन्त्रीले धेरै ठाउँमा धेरैपटक गभर्नरलाई होच्याउने तथा असहयोग गर्ने गरेकै थिए। यद्यपि, दुईतिहाई बहुमतको सरकारले गभर्नरलाई हटाउने हिम्मत भने गरेको थिएन । तर, यसपटकको गठबन्धन सरकारले त्यो दुस्साहस गरेको छ। यसले सरकारलाई राजनीतिक रूपमा नाफा घाटा के हुन्छ ? चुनावपछि देखिएला। तर, सरकारको बेमौसमी खेतीको असर अर्थतन्त्रमा नकारात्मक पर्ने सम्भावना बढी छ। गभर्नर अधिकारीबिना नेपालको वित्तीय प्रणाली अगाडि बढ्दैन । उनी यस क्षेत्रका अपरिहार्य व्यक्ति भएका कारण देशको अर्थतन्त्रमा असर पर्र्ने होइन । उनका पनि कयौं कमजोरी छन् । देशको वित्तीय प्रणालीलाई अनौपचारिक शैलीमा अगाडि बढाउन खोज्ने एकांकी प्रवृत्तिका व्यक्तिका देखा परेको थियो।

देशको आर्थिक अवस्था अहिलेको अवस्थासम्म आइपुग्न उनको पनि मुख्य भूमिका छ। तर, अहिलेको अवस्थामा एकले अर्कोलाई दोष थोपारेर आफू चोखिने भन्दा पनि संकटका बेला सहकार्य गरेर समन्वय गर्नु बढी बुद्धिमानी हो। अर्थमन्त्री शर्माको यस कदमले गभर्नर अधिकारीका विगतका गल्तीलाई ढाक्ने काम गरेको छ। भोलिका दिन अधिकारीले कानुनी उपचार खोज्दा परिणाम जे आउला अहिले चाहिँ उनी चोखिएका छन्। सरकारको विनासकाले विपरित कदमका कारण ‘ब्याक फायर’ हुने भने निश्चित छ।बास्तवमा देशको अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने प्रमुख अङ्ग अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकको नेतृत्व आलोकाँचो छ।

३ निकाय ३ तिर फर्किदा देशको आर्थिक क्षेत्रमा अन्योलतामात्रै होइन अराजकदता पनि देखा परेको छ। लहडका भर निर्णय गर्ने आफ्नो जिम्मेवारी, दायित्वभन्दा पनि ‘मिडिया स्टन्ड’ गर्ने प्रवृत्ति हुँदा समस्या समाधानभन्दा पनि समस्या झन् बल्झाउने कार्य भएको छ । यस विषयमा सरकार प्रमुख र गठबन्धन दलले विचार गर्नैपर्छ।

प्रतिक्रिया दिनुहोस्