जहाँ मानव अंगको अचार बनाएर बेचिन्छ



काठमाडौं : अहिलेसम्म तपाईंले कुन-कुन चिजको अचार चाख्नुभएको छ ? के तपाईंले मानिसको अङ्गबाट बनाइएका अचार बेचेकाे सुन्नुभएकाे छ ?

बेलायतको लण्डनस्थित एसेक्समा एउटा यस्तो पसल छ, जहाँ मानव अङ्गको अचार बेचिन्छ। सुन्दा याे कुरा पत्याउन मुस्किल पर्छ। तर याे साँचाे हाे। 

उक्त पसलभित्र यस्ता विभिन्न खाले खतरनाक चिजहरु राखिएको हुन्छ, कि कोही पनि मानिस त्यसभित्र छिर्न १० पटकसम्म सोच्न बाध्य हुन्छ।

उक्त पसलमा छिर्नेबित्तिकै तपाईंले मानिसका हात खुट्टा, खप्पर, कपाल, नङका साथै जनावरको खप्पर तथा अवशेषलगायत विभिन्न डरलाग्दा तथा अनौठा चिज बट्टाहरुमा राखेको देख्न पाइन्छ। दृश्य कुनै फिल्मको जस्तै लाग्दछ। उक्त पसलको नाम क्युरोसिटिज फ्रम द फिफ्थ कर्नर रहेको छ। उक्त पसलका सञ्चालकको नाम हेनरी स्क्रेग हो।

उनले आफ्नो पसलमा मानिसहरु डराउने खालका सयौं चिजहरु राखेका छन्। त्यसमध्ये एउटा मानिसको काटिएको हात छ। महिलाको गर्भको भ्रुणका साथै अण्डाशय मात्र होइन, नवजात शिशुको शव पनि रहेको छ त्यहाँ। अचार राख्ने सिसाको जारमा त्यसलाई बन्द गरिएको छ।

उनी भन्छन्, ‘मलाई थाहा छ कि केही मानिस यस्ता चिज किन्न मन पराउँदैनन्। अनि यस्ता चिज बेच्ने मलाई पनि खराब मान्छे भनी ठान्छन्। किनकि समाजको रुपमा हामी आम रुपमा अन्य संस्कृति तथा पराम्पराको बारेमा जानेका हुँदैनौँ।

तर मलाई लाग्छ कि अधिकांश मानिसहरुले जीवनमा धेरै कुराहरु देखेकै हुँदैनन्। त्यस्ता मानिसहरु मेरो पसलमा आएर मानिसको शरीरसँग सम्बन्धित विभिन्न चिजहरु देख्न पाउँदछन्। त्यस्तै मन परेको खण्डमा त्यसलाई किन्न पनि सक्दछन्।’

हेनरीले यो पसल सञ्चालनका लागि मेडिकल बोर्डबाट अनुमति पनि लिएका छन्। पसलमा रहेका मानव तथा जनावरका अंगलगायत चिजहरुको मूल्य १० युरोदेखि लिएर २६५० युरो सम्म रहेको छ। आखिर उनको पसलमा यस्ता चिजहरु कहाँबाट आउँछन् ? वास्तवमा पहिचान नभएका शवका साथै दान गरिएका शवहरु उनले आफ्नो पसलमा राख्दछन्।

सुरुमा उनले शव तथा अंगहरुलाई फर्मल्डिहाइडमा डुबाउँछन्। यसो गरेपछि शव कुहिँदैन। त्यसपछि उनले ती चिजलाई अल्कोहलमा डुबाउँदछन्। त्यसपछि उनले ती चिजहरु पसलमा साेकेसमा राख्दछन् बिक्री र प्रदर्शनीका लागि।

प्रतिक्रिया दिनुहोस्