युक्रेन हमला : यस्तो छ रुसी क्षतिको विवरण



एजेन्सी । युक्रेन हमलामा रुसले १९ हजार ५ सय रुसी सेना गुमाएको युक्रेनले दाबी गरेको छ। २४ फेब्रुवरीदेखि सुरू भएको हमलामा ठूलो संख्यामा रुसी सेना मारिएको युक्रेनको सेनाले दाबी गरेको छ।

रुसले ७२५ ट्यांक, १९२३ बख्तरबन्द, १५४ विमान र १३७ हेलिकप्टरहरू गुमाएको सशस्त्र बलका जनरल स्टाफले फेसबुकमा लेखेका छन्। यसअघि अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोले युक्रेनमा रुसले १५ हजार सैनिक गुमाएको दाबी गरेको थियो।

त्यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा १७९३ सर्वसाधारण मारिएको र २४३९ जना घाइते भएको बताएका छन्।

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले रुसले अर्को आक्रमणका लागि दशौँ हजार सैनिकहरू केन्द्रित गरिरहेको बताएका छन्। रूसले अब युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गरिरहेको सैन्य विश्लेषकहरूको भनाइ छ। रुसले पनि युक्रेनका प्रमुख सहरहरुबाट आफ्ना सेना फिर्ता गरेको छ।

मुख्य सहरबाट सेना फर्किरहेका बेला त्यहाँ ठूलो संख्यामा सर्वसाधारण मारिएका विवरण सार्वजनिक भएका छन्। एक साताअघि बुचा सहरमा पाशविक ढंगले मारिएका सर्वासाधारणहरूको शव सार्वजनिक भएको थियो। तर, ती हत्यामा आफ्नो संलग्नता नरहेको रुसी सेनाले दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्