बिहेमा रमाइलोका लागि गोली चलाउँदा बेहुलाको मृत्यु



काठमाडौं : भारतको पटनामा विवाहमा उत्सवका रूपमा गोली चलाइँदा दुलाहाको मृत्यु भएको छ भने उनका भाइ अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेका छन्। दुलाहाका साथीले तीन गोली हान्दा गलत निशाना लागेको थियो। 

दुलाहा सत्येन्द्र कुमारले दुलही भुलेतान राईसँग माला साटासाट गरेको केही मिनेटपछि गोलीकाण्ड भएको थियो। विवाहको रमाइलो क्षण अचानक शोकमा परिणत हुन पुगेको थियो। दुलाहालाई तत्कालै अस्पताल लगिएको भए पनि उनको भोलिपल्ट बिहान मृत्यु भयो। 

गोली हान्ने व्यक्तिको पहिचान खुलाइएको छैन। उनले राति ११ बजेतिर हावामा गोली हानेका थिए। तर उनले ब्यारलमा अड्किएको गोली सफा पार्न खोज्दा गलत निशानामा गोली परेको थियो। एउटा गोली दुलाहालाई लाग्यो भने अर्कोले उनका भाइ गुड्डु कुमारलाई गम्भीर घाइते बनायो। 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। बिहार प्रहरीले हालै उत्सव मनाउँदा बन्दूक पड्काउन प्रतिबन्ध लगाएको छ किनकि हावामा गोली हान्दा पनि मानिसहरू मर्ने वा घाइते हुने धेरै घटना भएका थिए। प्रतिष्ठा, पैसा र बाहुबल देखाउनका लागि बिहे जस्ता समारोहमा बन्दूक पड्काइने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्