चुनावी तालमेल : केन्द्रमा घर्किंदै, गाउँमा भत्किँदै



काठमाडौं । ५ दलीय गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेलको वातावरण बिग्रिँदै गएको छ। देशका ठाउँ ठाउँमा गठबन्धन दलहरूकै स्थानीय समितिहरूले तालमेल अस्वीकार गर्दै आएका छन्। ती ठाउँहरूबाट धमाधम उम्मेदवार सिफारिस पनि भइरहेका छन् ।

निर्वाचनमा तालमेल अस्वीकार अधिकरूपमा नेपाली कांग्रेसको स्थानीय समितिहरूले गरिरहेका छन्। जुन गठबन्धनको नेतृत्वदायी दल पनि हो । यही दलका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा तालमेलविरोधी गतिविधि जारी छ । तालमेल गर्न नहुने भन्दै गाउँगाउँमा पुगेका छन्, नेता कर्ण मल्ल । उनी डडेल्धुराका निवर्तमान पार्टी सभापति हुन् । ‘कांग्रेस बलियो भएका बेला किन तालमेल गर्ने ? गर्न हुँदैन । फेरि, अवैधानिक डडेल्धुरा कांग्रेसको वर्तमान समितिले तालमेल गर्छौं भन्दा हुन्छ ?’, संस्थापनइतर पक्षका नेता मल्लले द नेपालटपसँग भने, ‘म तालमेल स्वीकार्न हुँदैन भनेर गाउँगाउँमा घुम्दै छु। माहोल तालमेल विरोधी बन्दै छ।’ कांग्रेसमा संस्थापनइतर पक्षका नेताहरू निर्वाचनमा गठबन्धनमा रहेका बाँकी ४ दलसँग गठबन्धन चाहँदैनन् ।

यो पक्षको नेता डा. शेखर कोइराला हुन् । उनको गृहजिल्लामा पनि गठबन्धनका दलहरूबीच तालमेलविरोधी गतिविधि तीव्र बनेको छ। गठबन्धनमा रहेको दल नेकपा (माओवादी केन्द्र)का प्रदेश १ का अध्यक्ष हर्क नेम्बाङ मिक्सोले प्रदेशभरका कुनै पनि जिल्लामा तालमेलबारे घनिभूत छलफलसम्म हुन नसकेको बताएका छन् । ‘प्रदेशस्तरदेखि जिल्लास्तरमा तालमेल गर्ने भन्ने सैद्धान्तिक सहमति छ तर एउटा जिल्लामा तालमेल गर्ने गरीको निर्णय भएको छैन । तैपनि हामी प्रयास गरिरहेका छौं’, उनले भने, ‘ मूलतः कांग्रेसको संस्थापनइतर पक्षबाट गठबन्धन गर्न नहुने भनिरहेका छन् जिल्ला जिल्लामा ।’ डा. कोइरालाले मंगलबार नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई गठबन्धन गर्ने अवस्था कसरी आयो ? भन्दै प्रश्न पनि गरेका छन् । उनले कांग्रेस एक्लै निर्वाचनमा लड्नुपर्ने बताए । सुशील कोइराला नेतृत्वमा पनि कांग्रेस एक्लै निर्वाचनमा गएको स्मरण गरे।

पटकपटक खुलमखुला गठबन्धनका विरुद्धमा रहेका डा. कोइरालाले तालमेलको वातावरण बिगार्दै आएका हुन् । गठबन्धनकै अर्को दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा पनि तालमेलविरोधी गतिविधि कोइराला पक्षबाटै हुँदै आएको छ । भरतपुर महानगरपालिकाको केही वडामा त मेयर नपाए गठबन्धन नमान्ने घोषणा २५ वडा सभापतिले गरेका छन् । देउवानिकट रहेका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको गृह जिल्ला पाँचथरमा पनि तालमेल नहुने सम्भावना बढेर गएको छ।

त्यहाँ डा. कोइराला पक्ष बलियो छ । निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ पक्षले एक्लै कांग्रेस निर्वाचनमा जानुपर्ने भन्दै तालमेलविरोधी माहोल बनाउँदै आएको एक नेताले बताए । तर, गठबन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी)का नेता कमल जबेगूले गठबन्धनका दलहरूबीच तालमेलको प्रयास भइरहेको बताएका छन् । ‘तालमेल नगरौँ भन्ने साथीहरू पनि छन् तर केन्द्रमा भएको निर्णयअनुसार तालमेल गर्ने कोसिसमा छौँ हामी । हेरौँ तालमेल होला’, जबेगुले भने । कोइराला पक्ष बलियो रहेको अन्य जिल्लामा पनि समस्या त्यस्तै छ।

मधेस प्रदेशमा त कोइराला पक्षीय नेताहरूको बैठक नै बसेर तालमेल अस्वीकार गर्ने बताइसकेका छन् । सोमबार मात्र गठबन्धन दलका नेताहरूले गठबन्धनले उठाउने साझा उम्मेदवारलाई विजयी बनाउन मत मागेका छन् । जनताको समृद्धिको आकांक्षा पूरा गर्न र देशलाई विकास गर्न गठबन्धनको औचित्य रहेको प्रष्ट पारेका थिए । यद्यपि, तालमेलको ‘मोडालिटी’ पनि तयार छैन । कारण– सबै स्थानीय तहको वस्तुस्थितिसहितको प्रतिवेदन अझै आएको छैन। कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार आगामी ४ वैशाखसम्ममा स्थानीय तहको वस्तुस्थिति पठाउने समय गठबन्धनको बैठकले दिएको छ।

तालमेलविरोधी गतिविधि भइरहेका जिल्ला र त्यहाँका स्थानीय तहहरूबाट वस्तुस्थितिसहितको प्रतिवेदन नआएको हो । १७ चैतमा बसेको गठबन्धनको बैठकले २२ चैतसम्ममा प्रतिवेदन बुझाउन प्रदेश, जिल्ला र स्थानीय तहलाई निर्देशन दिएको थियो । २२ चैतमा गठन भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिले पटकपटक प्रतिवेदन पठाउन निर्देशन दियो तर अझै आइसकेको छैन । समितिमा रहेका एक सदस्यका अनुसार कोइराला पक्षको बलियो स्थिति रहेको अधिकांश जिल्लाबाट प्रतिवेदन नआएको हो ।

प्रतिक्रिया दिनुहोस्