आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी



काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुने बताएको छ । आयोगले आचारसंहिता उल्लंघनका घटनालाई नोटिसमा राखेको भन्दै आचारसंहिता उल्लंघन भए कारवाही गरिने प्रस्ट पारेको हो । 

बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको जानकारी दिएका हुन् ।

‘तिनलाई आयोगले नोटिस गरिरहेको छ । जसमध्ये कतिपयलाई आयोगले पत्राचार गरिसकेको छ भने कतिपयको अध्ययन भइरहेको छ’, पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने,‘ त्यसका आधारमा उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारवाही आयोगले गर्छ ।’ 

साथै निर्वाचन आयोगले आयोगमा दर्ता भएका दल मात्रै चिन्ने भन्दै सोही दलका उम्मेदवार रेकर्डमा रहने प्रवक्ता पौडेलले बताएका छन् । 

यस्तै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सर्ने अभिव्यक्ति नदिन समेत सरोकारवालाहरुलाई आग्रह गरेको छ । आयोगले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको बताएको छ ।

स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्न अभिव्यक्तिहरु राजनीतिक दलका इमानदार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानाकर्षण भएको छ बिहीबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्