जग्गा अंशवण्डाको विवादलाई लिएर बाबुको हत्या



मोरङ । अंशवण्डाको विवादलाई लिएर छोराले बाबुको हत्यागरेका छन् । मोरङको बेलबारीमा जग्गा अंशवण्डाको विवादलाई लिएर बिहीबार दिउँसो छोराले वृद्ध बाबुको हत्या गरेका हुन् ।

बेलबारी नगरपालिका-७ काफ्ले टोलका ३१ वर्षीय बासुदेव कार्कीले बुवा ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठकाअनुसार अंशको विषयलाई लिएर बासुदेव र उनका भाइ २८ वर्षीय तीर्थराज कार्कीबीच झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दाजु-भाइको झगडा छुट्याउन गएका बेला बासुदेवले बुवा जयबहादुरको हत्या गरेको डीएसपी श्रेष्ठले बताएका छन् । उनकाअनुसार झगडा छुट्याउन खोज्दा बासुदेवले दिउँसो १२:३० बजेतिर बुवालाई कुटपिट गर्नुका साथै ढुंगा बिछ्याएको आँगनमा पछारिदिएका थिए ।

छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका जयबहादुरको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा दिउँसो ३स्३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा गएका तीर्थराज भने केही दिनअघि मात्रै दुबईबाट घर फर्किएका हुन्। बासुदेव भने परिवारबाट अलग भएर डेढ महिनाअघिदेखि सुनसरीको इटहरीमा बस्दै आएको खुलेको छ ।

बासुदेवले आमा ५८ वर्षीया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छोराको कुटपिटबाट उमादेवीको अनुहार र टाउकोमा चोट लागेको छ। कार्की परिवारमा केही समयदेखि जग्गा अंशवण्डासम्बन्धी विवाद रहेको स्थानीयले बताएका छन् । उनीहरुकाअनुसार बुवाले दाजु-भाइलाई जग्गा छुट्याइदिए पनि पास गर्न बाँकी रहेको र त्यही विषयलाई लिएर भएको झगडा हत्यामा परिणत हुन पुगेको हो ।

प्रहरीले बाबुको हत्यामा संलग्न अभियोगमा बासुदेवलाई पक्राउ गरेको छ। उनका भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्