एमाले रणनीति : दाहिने हातमा सदस्यता, देब्रेमा टिकट



काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै प्रमुख राजनीतिक दलहरू स्थानीय तहका जनप्रतिनिधलिाई आफ्नो दलमा तान्ने होडबाजीमा छन् । पछिल्ला दिन यस होडमा सबैभन्दा अघि प्रमुख प्रतिपक्षी नेकपा एमाले छ । एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा जिल्ला–जिल्लामा पार्टी प्रवेश कार्यक्रम चहिरहेको छ । यसका पछि भने एमालेको ‘अफर’ले काम गरेको छ ।

एमालेले अर्को पार्टीबाट आउने जनप्रतिनिधिलाई एउटा हातमा सदस्यता र अर्को हातमा स्थानीय तह निर्वाचनको टिकट दिने रणनीति बनाएको छ। एमाले नेता भीम रावल अध्यक्षको दौडधुपमै भइरहेको पार्टी प्रवेश कार्यक्रमसँगै जनप्रतिनिधिलाई अब हुने चुनावमा टिकटको समेत ग्यारेन्टी गरिएको बताउँछन्। उनको भनाइलाई पुष्टि गर्दै एमालेले अर्को पार्टीबाट प्रवेश गरेका वीरगंज महानगरपालिका र नेपालगंज उपमहानगरपालिकाका प्रमुखलाई एमालेका तर्फबाट ३० वैशाखमा हुने निर्वाचनमा प्रमुखको टिकट पक्का गरिसकेको छ । २८ फागुनमा जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई एमालेको स्थानीय कमिटीले सर्वसम्मत रूपमा प्रमुखमा सिफारिस गरिसकेको छ।

त्यस्तै, ४ महिनाअघि एमालेमा प्रवेश गरेका पशुपतिदयाल मिश्र नेपालगंज उपमहानगरपालिकाका प्रमुखमा स्थानीय कमिटीबाट सर्वसम्मत सिफारिस भइसकेका छन् । महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुकलाई पनि स्थानीय कमिटीले अध्यक्षमा सिफारिस गरेको छ। उनी नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेका थिए । मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप अग्रवाल पनि माओवादी केन्द्र छाडेर एमालेमा आए ।

उनलाई पनि एमालेले सोही नगरमा प्रमुखका प्रत्यासीका रूपमा अघि सारेको छ । एमाले नेताहरूका अनुसार अध्यक्ष केपी ओलीले माला लगाएर एमाले प्रवेश गराएका अधिकांश जनप्रतिनिधि यस पटक सोही पदमा एमालेका तर्फबाट उम्मेदवार बन्दै छन् । नयाँ शक्ति पार्टीको राजनीतिमा लागेकी अभिनेत्री करिष्मा मानन्धरलाई समेत ललितपुरको गोदावरी नगरपालिकामा टिकट दिने सहमति थियो । तर, स्थानीय पार्टी कमिटीले प्रदेश या संघीय निर्वाचनमा समानुपातिक सदस्यमा लैजान उपयुक्त हुने सुझाव दिएपछि भने एमाले प्रवेश गरेकी मानन्धरलाई टिकट दिने कदमबाट एमाले पछि हटेको छ।

यद्यपि, अझै उनले टिकट पाउने सम्भावना नटरेको एमालेका नेताहरू बताउँछन् । माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’सहितको टिमसँगै एमाले प्रवेश गरेका जनप्रतिनिधिले समेत यस पटक एमालेबाट स्थानीय तहमा टिकट पाउने एमालेका नेताहरू बताउँछन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल भने पार्टीले बनाएको मापदण्डअनुसार नै स्थानीय तहमा उम्मेदवारलाई टिकट दिइने बताउँछन् । एमाले स्थायी कमिटीको गत १० चैतमा बसेको बैठकले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । उक्त मापदण्डको एउटा बुँदामा ‘लोकप्रियलाई प्राथमिकता दिने’ भनिएको छ। एमाले अध्यक्ष ओली भने आफैँले जिल्लामा पुगेर पार्टी प्रवेश गराएका जनप्रतिनिधिलाई लोकप्रिय भन्दै पुनः दाहो¥याउने पक्षमा छन् ।

एमालेका एक नेताका अनुसार ओलीले यो चाहना व्यक्त गरिसकेकाले ३० वैशाखको निर्वाचनमा दायाँ हातमा पार्टी सदस्यता लिएकाले बायाँ हातमा जनप्रतिनिधिको टिकट पाउँदै छन् । एमाले प्रचार विभाग उपप्रमुख रिजाल भने पार्टीले उम्मेदवार चयनको मापदण्ड बनाएको र त्यही मापदण्डका आधारमा टिकटबारे निर्णय हुने बताउँछन् । स्थायी कमिटी बैठकले उम्मेदवार चयन र सिफारिसबारे गरेको निर्णयअनुसार वडा अध्यक्ष र वडा सदस्यको टिकट पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले टुंग्याउनेछ । नगर र गाउँपालिकाका पदाधिकारीको उम्मेदवारी जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीबाट तथा महानगर र उपमहनगरपालिकाका पदाधिकारीको निर्णय केन्द्रीय कमिटीबाट टुंग्याइने मापदण्ड छ ।

प्रतिक्रिया दिनुहोस्