निर्वाचनमा भाग लिँदै विप्लव



काठमाडौं । लामो समयसम्म भूमिगत रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिलो पटक निर्वाचन प्रक्रियामा भाग लिने भएको छ। खुला राजनीतिमा आएपछि निर्वाचन प्रक्रियामा सहभागी हुने/नहुने तीब्र अन्तरद्वन्द्वका बीच अन्ततः नेकपा स्थानीय तहको निर्वाचन प्रक्रियामा सहभागी हुने भएको हो।

निर्वाचन आयोगमा दल दर्ता नभएकाले स्वतन्त्र उम्मेदवारी दिएर विप्लव समूह निर्वाचनमा जोडिँदै छ। आफू कमजोर भएका स्थानीय तहमा राष्ट्रवादी र अमेरिकी सहायता सम्झौता (एमसीसी)विरोधी समूह र पार्टीलाई समर्थन गर्ने नीति लिएर नेकपाले प्रचारप्रसार सुरु गरेको छ। ‘पार्टीले लिएको कार्यनीतिअनुसार हामी निर्वाचनमा जाँदै छौँ’, नेकपाका केन्द्रीय सदस्य चूडामणि वली ‘आदर्श’ले द नेपालटपसँग भने, ‘पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिनेलाई पार्टीको अनुशासनको दायरामा नल्याउने, स्वच्छ छवि भएका उम्मेदवारलाई समर्थन गर्ने हाम्रो नीति छ।’

निर्वाचन लक्षित रणनीति तय गर्न यसअघि गत चैत पहिलो साता कपिलवस्तुको शिवगढीमा नेकपाको केन्द्रीय समिति बैठक बसेको थियो। सो बैठकमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायतका नेता निर्वाचनको पक्षमा खुलेका थिए। धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश वली ‘सुदर्शन’लगायतका नेताले निर्वाचनमा भाग लिन नहुने अडान लिँदा सचिवालय सदस्य सन्तोष बुढा मगर तटस्थ रहेका थिए । विप्लवले निर्वाचनलाई पार्टीको हितमा उपयोग गर्ने गरी दस्तावेज प्रस्तुत गरेपछि बैठकमा ठूलै चर्काचर्की भएको थियो । निर्वाचन उपयोगको विषयलाई लिएर पार्टी विघटनको अवस्थामा नपुर्‍याउन नेकपाले ‘स्वतन्त्र उम्मेदवारी’को विकल्प अघि सारेको हो। उम्मेदवार मनोनयन हुने दिन (११–१२ वैशाख)सम्म तालमेलको मोडालिटी टुंगो लाग्ने नेता वलीले बताए।

पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले स्वतन्त्र उम्मेदवारको पक्षमा माहोल बनाउन उम्मेदवारी दर्ता गर्ने बेलासम्ममा छुट्टै मोर्चासमेत गठन हुन सक्ने उनले सङ्केत गरे। रोल्पाको गंगादेव गाउँपालिका जिनावाङका स्थानीय वलीको अगुवाइमा गंगादेवसहित अन्य पालिकामा नेकपाले निर्वाचनको प्रचार सुरु गरिसकेको छ । रोल्पाका १० स्थानीय तहमध्ये थवाङ गाउँपालिका विगतदेखि नै नेकपाको बलियो क्षेत्र मानिन्छ। रोल्पाकै सुनछहरी र अन्य पालिकामा तालमेल गर्दा केही वडामा आफ्ना प्रतिनिधि चयन हुने नेकपाको विश्लेषण छ।

कालीकोट, विप्लवको गृहनगर कपिलवस्तुको तत्कालीन शिवगढी गाविस र आसपासका केही पालिकामा अन्य दलसँग सहकार्य गर्ने सहकार्य गर्ने नेकपाको तयारी छ । यस पटकको निर्वाचनमा आफ्नो पार्टीका स्वतन्त्र उम्मेदवारका पक्षमा जनमत प्राप्त हुने नेकपाका अर्का एक नेताले बताए । उनले दाबी गर्दै भने, ‘हामी ढिलै गरी निर्वाचनमा जाँदै छौँ । तर, मतपरिणाम र नतिजा राष्ट्रवादी शक्तिका पक्षमा हुनेछ ।’ आफ्नो पक्षमा निर्वाचनको माहोल बनाउन र पूर्ववर्ती सरकारसँग भएको सहमतिअनुसार थुनामा रहेका नेता, कार्यकर्ताको रिहाइको माग गर्दै विप्लवसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता गठबन्धन दलका नेतासँग भेटवार्ता गरिरहेका छन् ।

२ वर्षअघि (२० फागुन २०७७ मा) तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच ३ बुँदे सहमति भएको थियो । सोही समयपछि सशस्त्र आन्दोलनमा होमिएको विप्लव समूह खुला राजनीतिमा सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्