भाका सार्न छाडेन मेलम्चीले नयाँ भाका : १५ वैशाख



काठमाडौं । यसअघिको काठमाडौंबासीलाई मेलम्चीको पानी चैतभित्र खुवाउने भाका फेरि सरेको छ। मेलम्चीको पानी काठमाडौं उपत्यकामा १५ वैशाखभित्र आउने नयाँ मिति तय भएको छ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले गएको मंगलबार मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गरेका थिए। मेलम्ची खानेपानी आयोजनाका सहप्रवक्ता राजेन्द्रप्रसाद पन्तले १५ वैशाखभित्र पानी काठमाडौं आइपुग्ने बताए। ‘गएको वर्ष पानी पथान्तरण गरिएको १२ दिनमा पानी आइपुगेको थियो । यस वर्ष पनि २ साताको हाराहारीमा आइपुग्ने अनुमान छ’, उनले भने । ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर मात्र पानी सुन्दरीजलमा झारिने उनले बताए। ‘ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर उतैको खोलामा झारिनेछ र सुन्दरीजलमा सफा गरेर पानी बाग्मतीमा झारिनेछ’, उनले भने।

उनका अनुसार गएको वर्ष जस्तै नदीहरूमा पानी झार्दा पानीको वहाव केही बढ्न सक्छ । सुरुङभित्र रहेका विभिन्न अडिटहरूबाट सुरुङको सफाइ बर्सेनि गर्नुपर्ने उनको भनाइ छ। प्रतिसेकेन्ड २६५ लिटर पानी मुख्य सुरुङमा पठाउन लागिएको र त्यसका लागि सुरुङका सबै द्वारहरू बन्द गरिएको उनको भनाइ छ। आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाडौं उपत्यकामा वितरणका लागि २६ किलोमिटरभन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो। गत १ असारको बाढी–पहिरोले क्षतिग्रस्त बनाएपछि पानी ल्याउने कार्य स्थगित भएको थियो। बाढीले गर्दा मेलम्चीको मुहान क्षेत्र हेडवक्र्समा गेग्रान थुप्रिनुका साथै टनेल गेटमा समेत क्षति पुगेको थियो ।

मुहानस्थल अम्बाथान मुख्य बाँधस्थलमा बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य संरचना १० मिटरसम्म पुरिएको थियो । उनका अनुसार बाढीले गेट, हाइड्रोलिक सिस्टम, विद्युत् प्रणाली ध्वस्त बनाएको थियो । त्यस्तै, मुहान क्षेत्रसम्म पुग्न अझै पनि पक्की सडक बनाउन सकिरहेको छैन । अस्थायी सडककै भरमा मेलम्ची आयोजनाले व्यवस्था गरी आयोजनाको कार्यलाई अगाडि बढाइरहेको उनको भनाइ छ । मुहानमा ठूलो ढुंगा बगाएर आएको थियो । त्यो ढुंगा फुटाउन सेनाको सहयोग लिएको थियो । सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुंगा हटाउनुपरेको थियो।जनवरी महिनादेखि सुरु भएको उक्त कार्य ६० दिनभित्र सम्पन्न गर्ने कार्ययोजना बनेको थियो।

मेलम्चीको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोले नै उक्त गेग्रान हटाउने कार्य गरेको थियो । मेलम्ची सुरुङका गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम सम्पन्न गरेको छ। बाढीका कारण गेट नम्बर ३८ मा हाइड्रोलिक सिस्टम बिग्रिएको थियो । अहिले मेलम्चीको पानी अस्थायी माध्यमबाट पानी पथान्तरण गरिएको छ। यसअघि पनि हेडवक्र्स निर्माण सम्पन्न नभएपछि अस्थायी माध्यमबाट पानी पथान्तरण गरी काठमाडौंबासीलाई मेलम्ची खोलाको पानी खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्