स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइन : नेता महर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनलाई सफलता दिलाउन स्थानीयस्तरको आवश्यकता, गठबन्धनको औचित्य र स्थानीय नेताको कार्यकर्ताको परामर्शका आधारमा तय हुनुपर्ने बताएका छन् ।

बुढानीलकण्ठ नगरपालिका-१० मा शुक्रबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले स्थानीय नेता कार्यकर्ताको भावनाअनुरुप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताएका हुन् ।

‘गठबन्धन गर्दा स्थानीय नेता, कार्यकर्ताको मन मिल्न आवश्यक छ । मन बन्धन भएन भने गठबन्धनको औचित्य हुँदैन । मनै नमिलेर गठबन्धन गर्दा सहजै जित पनि हासिल गर्न सकिँदैन। त्यसैले सबै दलका शीर्ष नेताहरूले यसतर्फ पनि ध्यान दिनुपर्छ,’ महरले भने । उनले स्थानीय स्तरका नेताकार्यकर्ताहरूलाई त्यहाँको वास्तविक वस्तुस्थिति थाहा हुने भएकाले उनीहरूका कुरा सुन्नुपर्ने बताएका छन् ।

‘प्रत्येक पार्टीको अस्थित्व, स्वाभिमान र शक्तिका आधारमा मात्र गठबन्धन गरिनुपर्छ । हामी भावनामा बग्नु हुँदैन । बैचारिक समीक्षा गर्नुपर्छ,’ महरले भने । गाउँगाउँ जाऔं, कांग्रेस जिताऔं अभियानका क्रममा जनता एमालेप्रति आजित भएको पाएको उनले बताएका छन् । कम्युनिस्ट सरकारले जनतालाई प्रताडिन तुल्याएको कुरा जनताले भुल्न नसकेको उनले बताए ।

‘अभियानका क्रममा एक लाख ६३ हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हामीले कतै हल्ला गरेनौं । ओलीले जस्तो एकजना पार्टी प्रवेश गर्दा हामी हल्ला गर्दैनौं। काम गर्नेहरू बोल्दैनन् । काम गरेर जनताको मन जित्न चाहन्छन् । काम नगर्नेहरू भ्रमको खेती गर्न चाहन्छौं । ओलीको भ्रमको खेती अहिले उदाङ्‍गो भइसक्यो,’ महरले भने ।

कांग्रेसले आफ्नै सामर्थ्यमा जनताको ठूलो विश्वास जितेको भए पनि देशको हितका लागि गठबन्धन गरेको उनले बताए । देशमा राजनीतिक अस्थिरता नहोस भनेर आफूहरू गठबन्धन गरेर घाटै बेहोरेर भए पनि चुनावमा जान तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्