एकताबद्ध भएर चुनावमा जाऔं : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा एकतावद्ध भएर जानुपर्नेमा जोड दिएका छन् । चुनावी तालमेलका विषयमा  बिफ्रिङ गर्दै अध्यक्ष प्रचण्डले माओवादी सबै पाटीसँग एकतावद्ध भएर चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् । 

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकताबद्ध भई परिणाम देखिने गरी चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी पूर्वस्थायी कमिटीको बैठकमा प्रचण्डले सत्ता गठबन्धनका दलहरूबीच तालमेल नभए एमालेसँग तालमेल नगर्ने बरु एक्लै चुनाव लड्नुपर्ने समेत बताएका छन् ।

आगामी स्थानीय तहको निर्वाचनमा तालमेल कसरी अघि बढ्ने भन्ने विषयमा नेताहरूलाई अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेको बैठकमा उपस्थित एक नेताले बताएका छन् । ती नेताका अनुसार तालमेल गरेर जाँदा हुने झमेलालाई तोड्दै निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई जिताउनुपर्ने प्रचण्डको जोड रहेको थियो । 

साथै निर्वाचनका बेला अन्य पार्टीबाट माओवादी केन्द्रमा आएका नेता कार्यकर्ताहरूलाई उचित मूल्यांकनको आधारमा जिम्मेवारी दिने समेत स्पष्ट पारेका छन् । यस्तै माओवादी केन्द्र  स्थानीय तहको चुनावका लागि छिटो उम्मेदवार चयन गर्न केन्द्रित हुने भएको छ । बैठकले उम्मेदवारहरू छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो ।

शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरूका बीचमा छलफल गर्ने र अन्य नेताहरू जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ ।

पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुंगो लगाउने तय भएको छ । तर, कुन–कुन पालिकाको नेतृत्व कुन–कुन पार्टीले लिने भनेर भागबन्डा मिलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्