मन्त्री कार्की भन्छन् : सातामा दुई दिन बिदाबारे कुनै निर्णय भएको छैन



काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सातामा दुई दिन बिदाबारे कुनै निर्णय नभएको बताएका छन् ।  

सरकारका प्रवक्ता समेत रहेका कार्कीले सातामा दुई दिन बिदा दिनेबारे बहस भइरहे पनि सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका हुन् ।

आज मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै कार्कीले दुई दिन बिदा दिने निर्णय भइनसकेको बताएका हुन् ।

उनले भने ‘सातामा दुई दिन बिदा दिने निर्णय भएको छैन, निर्णय भएको भए सार्वजनिक गरिन्थ्यो,’  ‘सातामा दुई दिन बिदा दिने बहसको विषय छ, निर्णय नै नभएकोले यस विषयमा धेरै कुरा भन्न मिलेन ।’

पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन बिदा दिनुपर्ने बहस भइरहेका बेला कार्कीले उक्त विषयमा प्रष्ट पारेका हुन् ।

सातामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको खपत कम हुने र आयात कम गर्दा विदेशी मुद्राको सञ्चिती बढ्ने अनुमान गरिएको  छ ।

प्रतिक्रिया दिनुहोस्